सलाम ‘मदाम’ सादाको ओगाता !

सलाम ‘मदाम’ सादाको ओगाता !

भुटानी राजदरबारको स्वागतमा रहँदा पनि त्यहाँको सरकारलाई नेपालबाट इज्जतसाथ आफ्ना नागरिकलाई स्वदेश आगमन गर्ने अधिकार स्विकार्न कडा शब्दमा अनुरोध गर्ने ओगाता नै थिइन्


झण्डै एक दशकअघि झमक्क साँझ पर्न लागेकाले अफिस (शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको केन्द्रीय कार्यालय, जेनेभा) बाट घर (डेरा) तर्फ लाग्दै थिएँ। विपरीत दिशाबाट होचो कदकी महिला हतारहतार गर्दै कार्यालयतर्फ आउँदै थिइन्। समीपमा आएपछि थाहा पाएँ, उनी पूर्व उच्चायुक्त (हाइकमिस्नर) मदाम सादाको ओगाता रहिछन्। टाउको निहुर्‍याएर तिनलाई आदरका साथ नमस्कार गरें। टक्क रोकिएर तिनले ‘मिस्टर सिजापती तपाईंको स्वास्थ्य कस्तो छ ? ’ भनेर प्रश्न गरिन्। उस्तै छ अब त ४ र ५ वर्षमा रिटायर्ड पनि हुन्छु भन्ने मेरो रेडिमेड उत्तर। स्वास्थ्यका कारणले गर्दा तपाईं रिटायर्ड भएपछि यहीं बस्नु उचित हुन्छ होला भनिन् तिनले। म त घरै जाने हो मदाम भनें मैले। नमस्कार गरेर बिदा हुँदा तिनले ‘तपाईंको स्वास्थ्य राम्रो होस्’ भन्दै अघि बढिन्। हाम्रो अन्तिम संवाद।

त्यसबखत तिनी शरणार्थी आयोग छाडेर नोबल प्राइज विजेता अर्मातो सेनसँगै संयुक्त राष्ट्रसंघले निर्माण गरेको यूएन मानव सुरक्षा संस्थाको सहअध्यक्ष थिइन्। यही कात्तिक ५ का दिन ९२ वर्षको उमेरमा मदाम ओगाताको देहावसानको समाचार सुनेर मर्माहत छु।

मदाम ओगाताले सञ्चालन गरेको थाइल्यान्ड कम्बोडिया सीमाको सहर अरान्य पटेत (१९९२) को बैठकमा सहभागी हुने अवसर पाएको थिएँ। थाइल्यान्डमा १५ वर्षदेखि शरणार्थी शिविरहरूबाट चार लाख कम्बोडियन शरणार्थी स्वेच्छाले आफ्नो जन्मभूमि फर्काउन लाग्दा प्रदान गर्ने सहयोग आयोजना कार्यान्वयनको पूर्वसन्ध्यामा उक्त बैठक हुँदै थियो। बैठकको अन्त्य हुन लागेको समयमा मदाम हाई कमिस्नरले शरणार्थीले आफ्नो कुकुरलाई कसरी लैजान्छन् ? भन्ने प्रश्न गरिन्। उक्त प्रश्न सुन्दा साथै अरान्य पटेत कार्यालय प्रमुख जहान सहा असादीले ठट्यौली शैलीमा ‘मदाम कम्बोडियनहरूले कुकुर खान्छन्। प्रस्थानपूर्व यहाँ कुकुरहरू बाँकी रहँदैनन्, त्यसकारण त्यस विषयमा चिन्ता गर्नु पर्दैन’ भनिदिए। त्यो सुनेर अलि उत्तेजित हुँदै ओगाताले यो रिप्याट्रेसन प्लान तर्जुमा गर्ने व्यक्ति को हो भनेर प्रश्न गरिन्।

कम्बोडियाका निमित्त हाइकमिस्नरको ‘स्पेसल इन्भोय’ सरजु डिभेरा डिमेलोले मलाई औंलाउँदै ‘दोषी विनोद हो’ भनिदिए। अनि मदाम ओगाताले सरजुतर्फ ढल्केर सुस्तरी कुरा गरिन्। त्यसपछि मतर्फ फर्कंदै ‘मिस्टर सिजापती तपाईंले कुकुरलाई साथै लैजाने कार्यक्रम आफ्नो ‘रिपाट्रेसन’ आयोजनामा समावेश गर्नू’ भनेर अह्राइन्। कुकुर लैजानका निमित्त खोर, आहारा तथा यातायात सबै खर्च जोड्दा झन्डै दुई लाख डलरभन्दा बढी रकम आवश्यक पर्ने भयो। हामीसँग थप बजेट थिएन। त्यस्तो अवस्थामा धेरै माथापच्चीस गरेपछि मैले सरजु तथा जहाना सहालाई एउटा जुक्ति सुझाएँ, ‘घर फर्किंदै गरेका सबै कम्बोडियन शरणार्थीले आफूले पालेको कुकुर साथै लैजानका निमित्त यूएन एचसीआरले सहयोग गर्ने’ उल्लेख गर्ने हाम्रो आयोजनामा।

कम्बोडियाका शरणार्थी फिर्ता जाने क्रमले गति लिन थालेपछि मलाई अर्मेनियामा आपत्कालीन सहयोग कार्यक्रम निर्माण तथा कार्यान्वयनको सुरुआत गर्ने जिम्मा सुम्पेर बैंककबाट तीन महिनाका लागि राजधानी एराभान खटाइयो। त्यहाँ कार्यरत हुँदा एपेन्डिसाइटिस भयो। लोडसेडिङको चपेटामा परेको पूर्वसोभियत युनियनको गणराज्य अर्मेनियाको राजधानीस्थित अस्पतालमा जेनेटर जुटाउँदा–जुटाउँदै मेरो एपेन्डिसाइटिस फुटिसकेछ। शल्यक्रिया सकिएको भोलिपल्टदेखि मेरो जीउसुहाउँदो औषधि उपलब्ध हुन सकेन। १५ दिनसम्म विनाऔषधि बाँचेपछि मलाई बेलायतको रुवायल मजदान अस्पताल पठाइयो। सिकिस्त अवस्थामा लन्डनतर्फ लाग्दा मुख्य कार्यालयले मैले केन्या र सोमालियामा विशेष कार्यक्रम गरेको खबर दियो।

एक दिन बैंककमा रहेकी मेरी श्रीमतीलाई उनै मदाम ओगाताले मेरो साथमा राख्नका लागि लन्डन तुरुन्तै पठाउने प्रबन्ध गर्न थाइल्यान्डको आफ्नो प्रतिनिधि ड्यान कन्बेलाई अराएकी रहिछन्। सोही दिन ड्यानले मलाई लन्डनमा फोन गरेर आफूले पहिल्यै सो कार्य गर्नुपर्ने भन्दै क्षमा मागे। हाई कमिस्नरले मप्रति देखाएको सद्भावबाट अत्यन्त विभोर हँुदै मैले भनें, ‘आफ्नो अवस्था ठीक भइसकेकाले अर्मेनिया दुई हप्ताका निमित्त फर्केर सुरु गरेको काम फत्ते गरेर बैंकक फर्कने निर्णय लिएको छु।’ त्यसबखत उपचार गर्ने रोयाल मजदान अस्पतालका सर्जन जेर्मी थोम्सनले मलाई अर्मेनिया हुँदैन भन्दा पनि नमानेर म अर्मेनिया हानिएँ।

मदाम सादाको ओगाता ५ का दिन ९२ वर्षको उमेरमा अलबिदा भइन्। यूएनएचसीआरको संगठनात्मक सुधारका निमित्त उनले थुप्रै कार्य त गरिन् नै, कार्यालय छाड्ने बेलामा उनले उपहारस्वरूप जापानी चेरी बोल्समको वृक्ष प्रदान गरेकी थिइन्, जुन कार्यालयको प्रवेश द्वारसामुन्ने अझै छ। यसले मदामको सदा स्मरण गराइरहनेछ।

जेनेभामा कार्यरत हुँदा एक दिन एसिया ब्युरोले आयोजना गरेको एउटा बैठकमा मलाई बोलाइयो। त्यस बैठकमा हाइ कमिस्नर ओगाताले दक्षिण एसियामा शरणार्थीलाई शरण दिने लामो इतिहास भएकाले दक्षिण एसियाको प्रबुद्ध व्यक्तिहरूको एउटा समूह गठन गरेर उनीहरूलाई भविष्यमा संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले केकस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा सल्लाह माग्ने प्रस्ताव गरिन्। यस कार्यका निमित्त एउटा कार्यदल निर्माण गरियो। नेपाली कर्मचारी भएको नाताले उक्त कार्यदलको सदस्यमा म मनोनीत भएँ। ऋषिकेश शाह तथा दमननाथ ढुंगानालाई उक्त प्रबुद्ध व्यक्ति समूहमा नेपाली प्रतिनिधि चयन गरियोस् भन्ने मेरो कारणसहितको प्रस्ताव स्वीकृत गरियो।

अर्मेनियाको शल्यक्रियापछि मलाई असाध्य पेट दुख्ने गथ्र्यो। सुरुदेखि नै स्विस डाक्टरहरूले शल्यक्रिया गर्नुपर्छ भन्न थालेका थिए। कामको चाप अत्यधिक भएकाले दुई वर्ष आलटाल गरेर बिताइदिएँ शल्यक्रिया पन्छाएर। शल्यक्रिया गरेपछि समस्या झन् चर्कियो। तीन महिना नपुग्दै दोस्रोपटक आपत्कालीन शल्यक्रिया गर्नुपर्‍यो। अस्पतालमा भेट गर्न आउने साथीहरूले मेरो शारीरिक अवस्था बिग्रिनुमा कार्यालय पूरै जिम्मेवार भएकाले हाई कमिस्नरलाई सहयोगका निमित्त पत्राचार गर्न सुझाए। सहयोगको याचना गर्नुको साटो मैले स्टाफ काउन्सिलको अखबार डाइलगमा आफू अर्मेनियामा बिरामी हुँदाको अवस्था विवरण ‘शरणार्थी कार्यकर्ताको जीवनको १५ दिन’ लेख छाप्न दिए। उक्त लेखले तरंग निम्त्यायो। अस्पतालमा डिपुटी हाई कमिस्नर जेराल वाल्जर भेट गर्न आए। तिनले मदाम हाई कमिस्नरको सन्देश दिँदै ‘सिजापतीलाई हामीले खटाएको ठाउँमा अत्यावश्यक औषधि उपचार उपलब्ध नहुँदानहँुदै किन १५ दिनसम्म अलपत्र रहनुपर्‍यो ? तथा तिनलाई केकस्तो सहयोग तथा प्रोत्साहनको आवश्यकता छ विस्तृत अध्ययन गर्न एउटा समिति गठन गरेर मेरो अफिसमा बुझाउन लगाउनु होस्’ भन्ने आदेश आफूले पाएको बताए। वाल्जरले भने, ‘विनोद, तिम्रो लेख पढेपछि उहाँका आँखा रसाए।’

संयुक्त राष्ट्रसंघको महासचिव हाभियर पेरेज डि कोहेरले प्राध्यापक सादाको ओगातालाई यूएनएचसीआरको हाई कमिस्नर पदमा नियुक्त गर्न महासभालाई सिफारिस गर्दा यूएनएचसीआर आफैं विनाप्रमुख निरीह अवस्थामा थियो। हाई कमिस्नर ज पियार होके (१९८६–१९८९) चारित्रिक आचरणका कारणले राजीनामा गर्न बाध्य भए। त्यसपश्चात् नर्वेका कूटनीतिज्ञ थोंलाड स्तोल्बर्ग (१९९०–१९९०) एक वर्ष पनि उक्त पदमा नरही राजीनामा दिएर नर्वेको परराष्ट्रमन्त्री पद सम्हाल्न फर्किएका थिए। टोकियोस्थित सोफिया विश्वविद्यालयको राजनीतिशास्त्रको प्राध्यापक ओगाता कूटनीतिक परिवारमा हुर्केकी तथा अमेरिकाको जर्ज टाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक तथा क्यालिफोर्निया विश्वविद्यालयको बर्कलेबाट राजनीतिशास्त्रमा पीएचडी गरेकी हुन्। ओगाता सन् १९६८ देखि नै यूएनमा जापान सरकारको प्रतिनिधिमण्डल सदस्य भएर सहभागी हँुदै आएकी थिइन्। ७० को दशकदेखि यूएनका विभिन्न संस्था जस्तै ः युनिसेफको कार्यकारिणी परिषद्, मानव अधिकार कमिसन आदिमा तिनको पूर्वसंलग्नता थियो। सन् १९७९ मा तिनी थाई कम्बोडियन सीमामा विस्थापित कम्बोडियनहरूको सहयोगका निमित्त जापान सरकारद्वारा सञ्चालित उद्धार कार्यक्रम प्रमुख पनि भएकी थिइन्।

यूएनएचसीआरको नेतृत्वमा नियुक्त हुँदा मदाम ओगाताले चार अपवादका भारी बोकेर प्रवेश गरेकी थिइन्— गैरयुरोपेली, एसियाली, महिला तथा प्राज्ञिक। त्यसो त लामो अवधि हाई कमिस्नर भएका सत्रुदिन आगा खान इरानी मूलका भए पनि तिनको वासस्थान स्विजरल्यान्ड थियो। शीतयुद्धको सामापन कालखण्डमा यूएनएचसीआर प्रवेश गरेकी सानो कदको मदाम ओगाताका निमित्त एकपछि अर्को गर्दै ठूला शरणार्थी समस्या सामना गर्नुपर्‍यो। जस्तै– इराकी कुर्द, इथियोपिया, सोमालियन, सुडानी, कंगोली, रुवान्डियन, बुरुन्डियन, बोस्नियन, कोसोभो, सलाभ, अर्मेनियन, अजरबैजानी, अफ्काजियन, चेचिन्यन आदि–आदि। आफ्नो कार्यमा विचलित नभई तिनले सबै शरणार्थी अवस्थाको स्थलगत अध्ययन गर्न पुगिन्। यसै सन्दर्भमा तिनी नेपाल तथा भुटान पनि पुगिन्। भुटानी राजदरबारको स्वागतमा रहँदा पनि तिनले भुटान सरकारलाई नेपालबाट इज्जत साथ आफ्ना नागरिकको स्वदेश आगमन गर्ने अधिकार स्विकार्न कडा शब्दमा अनुरोध गरेकी थिइन्।

ओगाताले यूएनएचसीआरको संगठनात्मक सुधारका निमित्त थुप्रै कार्य गरेकी थिइन्। तीमध्ये महिला कर्मचारीको संख्या वृद्धि, महिलालाई छिटो प्रमोसन गर्ने पद्धति तथा महिलालाई नेतृत्वदायी भूमिकाको जिम्मेवारी सुम्पनेलगायत संस्थाको पुनर्संरचनाका निमित्त ‘डेल्फी’ कार्यक्रमलाई लिन सकिन्छ। आन्तरिक व्यवस्थापनको जिम्मेवारी तिनले चार दशक काम गरेका आफ्ना डिपुटी हाइ कमिस्नर वाल्जरलाई सुम्पेकी थिइन् भने कूटनीतिक कार्यको जिम्मेवारी सरजु डी भेरालाई।

धेरै अन्तर्राष्ट्रिय मान, पदवी र अलंकारबाट विभूषित मदाम ओगाता यूएनएचसीआरको हाई कमिस्नर हुँदा नोबेल शान्ति पुरस्कार तिनलाई नै मिल्छ भन्ने विश्वास धेरैको थियो। त्यसो त तिनी बान की मुनअघि महासचिवको उमेदवारका रूपमा पनि चर्चित भएकी थिइन्। बयान्नब्बे वर्षको उमेरमा २२ अक्टोबरका दिन देहावसान भएकी मदाम ओगाताले धेरै पुस्तक तथा लेख लेखेकी छन्। यूएनएनएचसीआर प्रमुख कार्यालय प्रवेशद्वार सामुन्ने तिनले उक्त संस्था छोड्नुअघि उपहारस्वरूप प्रदान गरेको जापानी चेरी बोल्समको वृक्षले मदामको सदा स्मरण गराइरहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.