दलितका लागि छुट्टै घाट
जनकपुरधाम/ वीरगन्ज : चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ। दोस्रो दिन खरना दिन हो। दिनभरि व्रत बसेर बेलुका गुद, घिउ र दुधमा थोरै चामल हालेर पकाएको खानेकुरा खाइन्छ। तेस्रो दिन दिनभरि व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। चौथो दिनमा बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गरेपछि छठ सम्पन्न हुन्छ। यसपटक शनिबार साँझ अस्ताउँदो सूर्य र आइतबार बिहाउन उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।
छठ समावेशी पर्व हो। छठमा डोम जातिले बनाउने सुपलीदेखि किसानको सुथनीसमेत छठ पर्वका लागि प्रयोगमा ल्याइन्छ। तर जलाशयमा दलित समुदायका लागि छुट्टै घाट निर्धारण गरिएको हुन्छ। दलितले एउटा कुनामा ठाउँ पाउँछन्। एकै ठाउँमा बसेर छठ मनाउने छुट नरहेको डोम समुदायका दिनेश मलिक बताउँछन्।
‘बाजेको पालादेखि हामीलाई पोखरीको एक कुनामा छठ मनाउन ठाउँ दिइँदै आएको छ,’ मलिकले भने, ‘हाम्रो घाटमा अन्य जातिका मानिस आउँदैनन्।’ दिनेश र उनको समुदायका करिब ३० जनाले महराज सागरमा छठ पर्व मनाउँदै आएका छन्। ‘हाम्रो हातबाटै बनेको डाला, चगेरा, सुपलीमा सबै जातकाले छठको सामग्री सजाउँछन्,’ किरण मलिकले भनिन्, ‘हाम्रो शरीरमा के लागेको छ र यत्तिको भेदभाव गरिन्छ ? ’
सबै ब्रतालुले जलाशयमै उभिएर सूर्यलाई अर्घ दिन्छन्। पानी नछोए पनि घाटमा भने दलितसँग छुवाछुत गर्ने गरिएको रामप्रीत मलिक बताउँछन्। ‘भगवान्ले सबैलाई एकनास मानेको छ,’ उनी भन्छन्, ‘तर, मानिसले भेदभाव गरेका छन्। भाषणमा समान व्यवहारको कुरा गरे पनि प्रवृत्ति पुरानै छ।’
गत वर्षसम्म डोम समुदायका लागि छुट्याइएको घाटमा सरसफाइ र सजावट पनि सोही समुदायका व्यक्तिले गर्थे। तर, यस वर्ष सबैले सरसफाइ गरेको फेकन मलिकले बताए।
भड्किलो बन्दै छठ
तराई मधेसमा श्रद्धापूर्वक मनाइने छठ केही वर्षदेखि खर्चिलो बन्दै गएको छ। छठघाट सरसफाइ, सजावट र शृंगारका नाममा लाखौं रुपैयाँ खर्च हुने गरेको छ।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीका अनुसार महानगरमा यसपालि ९० भन्दा बढी स्थानमा छठघाट बनाइएको छ। महानगरमा ३२ वडा छन्। ‘गत वर्ष ६० को हाराहारीमा छठघाट बनाइएको थियो’, शुक्रबार घडीअर्वा छठघाटमा भेटिएका सरावगीले भने, ‘यसपालि ९० भन्दा बढी बनाइएका छन्।’ ती सबै छठघाटको सरसफाइ र व्यवस्थापनका लागि महानगरपालिकाले २० देखि २२ लाख रुपैयाँ खर्च गरेको उनले बताए।
त्यसमा अपुग खर्च स्थानीय छठपूजा व्यवस्थापन समिति र क्लबहरूले चन्दा संकलन गरेर जुटाएका छन्। वीरगन्जमा एउटा छठघाटको सरसफाइ, सजावट र शृंगारमा चारदेखि १२ लाखसम्म खर्च गरिएको छ।
औसतमा एउटा छठ घाटको सजावट खर्च ६ लाख रुपैयाँ मान्ने हो भने वीरगन्जमा यसपालिको छठघाट सजावटमा पाँच करोडभन्दा बढी रकम खर्च गरिएको छ। एक दशकअघिसम्म घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा पोखरी, मुर्ली पोखरी, छपकैया पोखरी, इनर्वा पोखरी, लक्ष्मणवाको पोखरी, जिल्ला प्रहरी कार्यालय छेउको पोखरी, बहुअरी गरी एक दर्जन जलाशयमा मात्र छठघाट बनाइन्थ्यो।
महानगरको एउटै वडामा नौ स्थानमा छठघाट नगर प्रमुख सरावगीले बताए। उनका अनुसार केही वडामा दलितका लागि छट्टै छठघाट बनाइएको छ।
एउटै टोलमा पनि छुट्टाछुट्टै छठघाट बनाएर छठपूजा मनाउने होडबाजी चलेका कारण पनि खर्चिलो बन्दै गएको हो। छठघाटमा पण्डाल हाल्ने, झिलिमिली बत्ती बाल्ने, विभिन्न प्रकारका फूलले सजाउने र साउन्ड सिस्टम जडान गर्ने प्रतिस्पर्धा बढ्दै गएको छ।
ओझेलमा मौलिकता
छठलाई पर्वभन्दा उत्सव र मेलाका रुपमा मनाउने प्रवृत्ति बढेको भोजपुरी भाषा र संस्कृतिविद् उमाशंकर द्विवेदी बताउँछन्।
‘छठी माताका लागि गरिब–धनी सबै समान हुन्छन्। तर, पछिल्लो समय छठघाट सजाउने नाममा होडबाजी गरेर लाखौं खर्च गर्न थालिएको छ। यो विकृति हो’, उनी भन्छन्, ‘छठलाई मेलाका रूपमा मनाउन थालिएको छ। यसरी छठको मौलिकता ओझेलमा पर्दै गएको छ।’
भोजपुरी भाषामा विद्यावारिधि गरेका विश्वम्भर शर्मा पनि छठ पूजा भड्किलो र खर्चिलो बन्दै गएको बताउँछन्। ‘छठपूजा कुनै उत्सव होइन यो विशुद्ध प्रकृतिको पूजा गर्ने पर्व हो’, शर्माले भने। देखावटी सजावट गरेर मौलिकता जोगाउन नसकिने उनको भनाइ छ।