कुहिरो भित्र स्कुल छ
काठमाडौं : डोल्पोबुद्ध गाउँपालिकास्थित कलाङ प्राथमिक विद्यालयकी छात्रा टाँसी भोटेको परिवारको सदस्यले राम्रोसँग नेपाली बोल्न जान्दैनन्। लेख्न सक्नु त कल्पना बाहिरको कुरा। टाँसीको परिवार मात्रै होइन, यस क्षेत्रका अधिकांश परिवारका ज्येष्ठ सदस्यहरूलाई नेपाली बोेल्न र लेख्न कठिन हुन्छ।
पढ्ने स्कुल नहुँदा उनीहरूले पढ्न पाएनन्, जसको असर बोलचाल र लेखाइमा प¥यो। जेनतेन भोटे भाषामा बोलचाल हुने गरे पनि नेपालीमा भने उनीहरूलाई निकै समस्या पर्छ। तर टाँसी भने पढाइमा निकै अब्बल छिन्। इमानदार र मेहनती पनि। पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उनी उत्तिकै सक्रिय छिन्। पढाइसँगै नृत्य र गायनमा उनको रुचि छ।
सोही स्कुलमा अध्ययनरत अर्की छात्रा आङमुको प्रतिभा पनि कुनै शिक्षित परिवारमा जन्मे हुर्केका बालबालिकाको भन्दा कम छैन। उनी अध्ययनका साथै गायन, नृत्य र अन्य क्रियाकलापमा पनि खारिएकी छन्।
यो भेगमा पुग्न सदरमुकाम दुनैबाट तीन दिन पैदल हिँड्नुपर्छ। सडक सुविधा छैन। बिजुली छैन। टेलिफोनको नेटवर्क पनि कहिलेकाहीँ मात्र आउँछ। यो ठाउँको अवस्था हेर्दा ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ’ बोलको गीत वास्तवमै यही भेगका बालबालिकाका लागि लेखिएको हो कि भन्ने महसुस हुन्छ।
यो गाउँमा स्कुल खुलेको दुई दशक मात्र पूरा भएको छ। डोल्पोबुद्धकै धोस्थित क्रिस्टल माउन्टेन स्कुलमा कक्षा ५ मा पढ्ने मिङमारको समस्या पनि उस्तै छ। कलाङका विद्यार्थीको भन्दा कम पीडा छैन यो स्कुलका विद्यार्थीको पनि। हरेक वर्ष हिउँद लाग्नेबित्तिकै स्कुललाई हिउँले ढाक्छ। स्कुलदेखि घरसम्म आवात्जावात गर्नसमेत कठिन हुन्छ। जसका कारण पढाइ पूर्ण बन्द हुन्छ। स्कुलका प्रधानाध्यापक धनबहादुर विकका अनुसार वर्षमा मुस्किलले सात महिना मात्र पढाइ हुन्छ यहाँ। हिउँ पर्ने समयमा पढाइ अवरुद्ध हुने भएकाले यहाँका शिक्षकले दसैं, तिहारलगायतका पर्वमा पनि बिदा पाउँदैनन्।
‘यहाँको पढाइमा कति समस्या छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा छ। हिउँदको समयमा पाँच ६ फिटसम्म हिउँ जम्छ’, क्रिस्टल माउन्टेनकै पूर्वविद्यार्थी तथा डोल्पोबुद्ध गाउँपालिका वडा नं २ का अध्यक्ष ग्याल्पो थापा (भोटे) भन्छन्, ‘यस्तो ठाउँको पठनपाठनका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने हो। तर यो विकट ठाउँका जनताको कुरा सरकारसम्म पु¥याउन पनि सकिँदैन।’
भौगोलिक विकटताको बाबजुद पनि यो क्षेत्रका बालबालिकाले पढाइमा देखाएको रुचि र उनीहरूको उपलब्धि प्रशंसायोग्य भएको कलाङ स्कुलकी शिक्षक अनिमा पौडेल बताउँछिन्। भन्छिन्, ‘पढाइका हिसाबले यो क्षेत्र पिछडिएको भए पनि यहाँको संस्कार, बालबालिकाको इमानदारिता र लगनशीलता सुगम क्षेत्रका बालबालिकाको लागिसमेत उदाहरणीय छ।’
तर पर्याप्त खेलकुद मैदान, पुस्तकालय, प्रयोगशालालगायत पढाइको साथमा अतिरिक्त क्रियाकलापका लागि आवश्यक पर्ने सुविधा अभावमा बालबालिका भित्र भएको प्रतिभालाई प्रष्फुटन गर्न कठिन भएको शिक्षकहरूको गुनासो छ। कतिसम्म भने डोल्पोबुद्ध मात्र नभएर उपल्लो डोल्पाको अधिकांश विद्यालय विदेशी दाताको सहयोगमा सञ्चालित छन्। यिनै दाताहरूले विद्यार्थीलाई पोसाकदेखि बिरामी हुँदा खानुपर्ने सिटामोलसम्म नि:शुल्क वितरण गरिरहेका छन्।
वडा नं २ का अध्यक्ष थापा भन्छन्, ‘हामीलाई त यहाँ सरकारको उपस्थिति छ कि छैन भन्ने छुट्ट्याउनै कठिन छ। यस्तो अवस्थामा पढेका विद्यार्थीले कसरी काठमाडौंका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन् ? ’ माथिल्लो डोल्पामा तीन वटा गाउँपालिका छ। तर तीनवटै गाउँपालिकाका अधिकांश विद्यालयमा विदेशीको सहयोग छ।
धोस्थित क्रिस्टल माउन्टेन, शे फोक्सुन्डाको तापरिचा, माथिल्लो डोल्पाकै भिजेरास्थित मुकपोराङ विद्यालय, तिन्जेको कुला माउन्टेन स्कुलमा पनि स्विस र जर्मनीको सहयोग छ। साल्दाङको सेलरी डुक्ट्रा, छार्काको छार्का भोट प्रावि, सिमेनको सिमेन प्रावि, कोमास प्राविमा पनि विदेशी सहयोग छ। यी विद्यालयमा वार्षिक दुई लाखदेखि झन्डै एक करोड रुपैयाँसम्म विदेशीले लगानी गर्ने गरेको क्रिस्टल माउन्टेनका पूर्वप्रधानाध्यापक केदार विनोद पाण्डेको भनाइ छ।
‘यदि यहाँ विदेशीले सहयोग रोकिदिने हो भने अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुग्छन्। राज्यले शिक्षक मात्र पठाउँछ। उनीहरू पनि नियमित आउँदैनन्। तर विदेशीले दिएको अनुदानमा भर्ना भएका शिक्षक निकै लगनशील भएर पढाउँछन्’ पाण्डे भन्छन्, ‘वास्तवमा यो भेगका बालबालिकाको पढाइ निकै दयनीय छ।’