कहिल्यै केटाहरूसँग डराइनँ

कहिल्यै केटाहरूसँग डराइनँ

मैदानमा खेल्ने म एक्ली केटी भए पनि म कहिल्यै केटाहरूसँग डराइनँ। नडराई खेल्ने हुनाले म सधैं जित्थेँ। ती केटा साथी पनि मेरो जितमा खुसी हुन्थे। त्यसैले सबै पुरुष गलत हुँदैनन् भन्ने छाप मलाई परेको छ।


भाइबहिनीहरू, मेरो नाम कमला भासिन हो। म सामाजिक अभियन्ता, कवि र लेखक हुँ। तिमीहरूले जातिवाद, शोषण र विभेद देखेका, सुनेका र कतिपयले भोगेका पनि हौला। म ती विभेदविरुद्ध लड्दै आएको छु।

मेरो जन्म सन् १९४६ अप्रिल २४ मा हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लाको सहिदावाली गाउँमा भएको हो। सहिदावाली गाउँको नाम मलाई सानैबाट धेरै मन पथ्र्याे। म जन्मिँदा भारत र पाकिस्तानको लडाइँ चरम बिन्दुमा थियो। त्यसैले म आफूलाई मध्यरातको बच्चा भन्न मन पराउँछु। किनकि त्यतिबेला जन्मिने पुस्ताका मानिसलाई मध्यरातको बच्चा भनिन्थ्यो। पछि भारत र पाकिस्तानको विभाजनपछि म जन्मेको गाउँ सहिदावाली पाकिस्तानमा प¥यो। विभाजन अगाडि भारत, पाकिस्तान र बंगलादेश एउटै देश थियो। तर पछि गएर मेरो कर्मभूमि भारत अर्थात् हिन्दुस्तान भयो।

६ जना दाजुबहिनीमध्ये म चौथो छोरी थिएँ। मेरो बाबु राजस्थानको डाक्टर हुनुहुन्थ्यो। आमाले भने पढ्नुभएकै थिएन। बाबु डाक्टर भएकाले समयसमयमा नयाँ ठाउँमा ट्रान्सफर हुनुहुन्थ्यो। त्यसैले हामी पनि बाबुसँगै जान्थ्यौं। बाबुको प्राय: गाउँमा पोस्टिङ हुन्थ्यो।

म सानैदेखि स्वतन्त्रता चाहने व्यक्ति थिएँ। मैले गाउँको सरकारी स्कुलमा पढेकी हुँ। त्यो सरकारी स्कुल आजको सरकारी स्कुल जस्तो थिएन। स्कुलको भवन थिएन। शिक्षकले तलब पाउँदैनथे। त्यसैले पढाउन पनि आउँदैनथे। गाउँमा बत्ती थिएन। त्यो स्कुलमा मैले कक्षा १० सम्म पढेँ। त्यहाँ पढ्न आउने धेरै केटाहरू थिए। केटीहरू एकदुई जना मात्र थिए। त्यतिबेला छोरीलाई पढाउन हुँदैन भन्ने सबैको दिमागमा थियो। त्यहाँ पढ्ने विद्यार्थीमध्ये पढ्नमा सबैभन्दा राम्रो म थिएँ। किनकि अरूलाई पढ्न केही आउँदैनथ्यो।

म प्रतिभावान् भएकाले पढाइमा सबैभन्दा राम्रो भएको होइन। अरू पढ्न जान्दैनथे त्यसैले म राम्रोमा गनिएकी थिएँ। म डाक्टरकी छोरी भएकाले पनि होला सायद। मैले कक्षा १० मा ५८ प्रतिशत नम्बर ल्याएर पास गरेको थिएँ। स्नातक पनि त्यत्तिनै अंक ल्याएर उत्तीर्ण गरेँ। मैले पढेको स्कुल कलेजमा छात्रालाई पढ्नको लागि प्रोत्साहन गर्न केटाहरूसँग लिने फिको आधा फि मात्र उनीहरूसँग लिने गरिन्थ्यो।

म हुर्र्केको गाउँमा छोरीहरू घर बाहिर खेल्न आउँदैनथे। मलाई बाहिर खेल्न एकदम मन पथ्र्यो। त्यसैले मेरा साथीहरू सबै केटाहरू थिए। केटाहरूले साइकल चलाउँथे। रूख चढ्थे। चंगा उडाउँथे। गोजी भएको लुगा लगाउँथे। म उनीहरूसँगै चंगा उडाउने, साइकल चलाउने, रूख चढ्ने र गोजी भएको लुगा लगाउँने गर्थें। तर, मेरी दिदीलाई भने त्यो मन पर्दैनथ्यो। उनलाई बाहिर खेल्न मैले जबर्जस्ती पनि गर्दिनथेँ। म स्वतन्त्रतासँगै हुर्किएँ। मेरा बाबुआमाले दिएको स्वतन्त्रताको कारण मेरो शिक्षामा पनि कुनै असर परेन। आफूमा आत्मसम्मान र आत्मविश्वास थियो। त्योसँगै म अगाडि बढेँ।

मसँग खेल्न आउने केटा साथीहरूका दिदीबहिनी भने घरमा भाँडा माझिरहेका हुन्थे। कुचो लगाइरहेका हुन्थे। गाउँका छोरीहरूलाई साइकल चलाउने, रूख चढ्ने कुरा त परै जाओस् बाहिर खेल्न जान पनि प्रतिबन्ध थियो। उनीहरूलाई गोजी भएको लुगा लगाउन पनि बन्देज थियो। गोजी त पैसा वा खाली हात राख्नको लागि बनाइने कुरा हो।

त्यहाँका केटीहरूसँग न पैसा हुन्थ्यो न हात नै कहिल्यै खाली हुन्थ्यो। उनीहरूलाई हरेक समय काम गर्नुपथ्र्याे। उनीहरू काममा बाँधिएका थिए। स्वतन्त्रता उनीहरूको अधिकार हो भन्ने थाहा थिएन। मैले सधंै उनीहरूले काम गरेको देख्थेँ। अहिले बुझ्दा त्यो पनि एक प्रकारको हिंसा नै थियो जस्तो लाग्छ। त्यो हिंसा मैले बच्चैदेखि देखेँ। त्यो हिंसा शारीरिक नभई मानसिक र भावनात्मक थियो। मलाई सानैदेखि उनीहरूले पनि बाहिर खेल्न पाउनुपर्छ भन्ने लाग्थ्यो। मेरो परिवारमा म मेरो दाजुभाइ सरह समान रूपमा हुर्किएँ। त्यसैले पनि मलाई महिलाको कुरा माथि उठाउनुपर्छ भन्ने लाग्थ्यो।

मेरो आमाबाबुले मलाई र मेरो खेलप्रतिको मोहलाई बुझ्नु भएको थियो। मलाई खेल्न कहिल्यै रोक्नु भएन। मैदानमा खेल्ने म एक्ली केटी भए पनि म कहिल्यै केटाहरूसँग डराइनँ। नडराई खेल्ने हुनाले म सधंै जित्थेँ। ती केटा साथी पनि मेरो जितमा खुसी हुन्थे। त्यसैले सबै पुरुष गलत हुँदैनन् भन्ने छाप मलाई परेको छ। म उनीहरूसँग डराएको भए हार्थें होला। पछि झगडा गर्थें होला। उनीहरू मेरा साथीहरू नभई दुश्मन हुन्थे होलान्। उनीहरूलाई मैले कहिल्यै दुश्मन मानिनँ। त्यसैले आज पनि मेरो लडाइँ पुरुषस्ाँग नभई पितृसत्तासँग हो। त्यसैले भाइबहिनीहरू कसैसँग डराउनु हुँदैन। निडर भएर हरेक काममा लाग्नुपर्छ।

मेरी आमा कहिल्यै स्कुल जानु भएन। तर मलाई स्कुल पठाउन भने हरसमय लागिरहनुभयो। मैले समानता सिकेको पनि उहाँबाटै हो। मैले पढेँ। शिक्षा मूल्य, विवेक र नैतिकता हो भन्ने पनि आमाबाटै सिके। त्यसैले भाइबहिनी तिमीहरू पनि राम्ररी पढ्नुपर्छ है !

स्नातकोत्तर पनि मैले सरकारी विश्वविद्यालयबाटैै गरेँ। त्यसपछि मलाई जर्मनी जाने अवसर जुट्यो। त्यहाँ दुई वर्ष पढेँ। त्यहाँ पढाइपछि मैले राम्रो पैसा कमाउने काम गर्न सक्थेँ। तर, हाम्रो देश भारत भर्खरै स्वतन्त्र भएको थियो।

देशका लागि केही गर्ने इच्छा मनमा थियो। त्यसैले भारत फर्किएँ। सन् १९७० देखि सामाजिक अभियन्ताको रूपमा काम गर्न सुरु गरेँ। यो काम म साढे दुई सयमा गर्थें। त्यसपछि संयुक्त राष्ट्रसंघले मलाई काम गर्न बोलायो। मैले त्यहाँ काम गर्न निवेदन पनि दिएकी थिइनँ। पहिले ढाई सय पाउँथे भने संयुक्त राष्ट्र संघमा गएर ढाइ लाख कमाउन थालँे। तर, काम भने एउटै थियो अधिकारकर्मीको। यही जागिरका कारण मैले धेरै देशमा घुम्ने मौका पाएँ। त्यहाँका महिलाको जीवनस्तर बुझ्न पाएँ। महिलाको पक्षमा काम गर्न पाएँ।

सानोमा मैले गरिबको लागि काम गर्छु भन्ने सोचेकी थिएँ। तर, पछि विकाससम्बन्धी एउटा प्रोजेक्टमा काम गर्न थालेँ। त्यहाँ दलित, आदिवासीको लागि काम गर्नुपथ्र्याे। जब काम गर्न सुरु गरेँ, धेरै महिला गरिब छन् भन्ने पनि बुझेँ। दलित महिला अझ गरिब छन्। आदिवासी महिला अझ पिछडिएका छन्। पहिले म विकासकर्मी बने त्यसपछि नारीवादी बनेँ। भाइबहिनीहरू तिमीहरूका लागि पनि धेरै किताब लेखेकी छु। ती किताबमार्फत छोराछोरी समान भएको कुरा बुझाउन खोजेकी छु। मेरो ‘धम्मक धम’ किताब नेपालीमा पनि छापिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.