बालकथा : बुद्धको न्याय

बालकथा : बुद्धको न्याय

श्रावस्ती नगरको छिमेकी गाउँमा दिनदिनै केटाकेटीहरू हराउन थाले। गाउँमा त्रास फैलियो। नजिकैको जंगलबाट एउटी दुष्ट राक्षस्नी आएर गाउँका बच्चा लैजाने गरेको गाउँलेले थाहा पाए। राक्षस्नीबाट मुक्ति पाउन गाउँले बुद्धको शरणमा गए।

त्यतिबेला गौतम बुद्ध वर्षाकालीन आवासका लागि श्रावस्ती नगरको जितवन महाविहारमा बसेका थिए। गाउँले विहारमा पुग्दा बुद्ध ध्यानमा मग्न थिए। आँखा खोल्दा उनले आफ्ना अगाडि मानिसको निरास भीड देखे। उनलाई अचम्म लाग्यो। उनले गाउँलेसँग सोधे, ‘के भयो तपाईंहरूलाई ? किन म कहाँ आउनुभएको ? ’

गाउँलेमध्ये एक जनाले दुःखी स्वरमा आफ्ना समस्या सुनाउँदै भन्यो, ‘राक्षस्नीले हाम्रा बच्चा अपहरण गरी खाइदिएर हैरान पारी। त्यसलाई ठेगान लगाइदिनु पर्‍यो।’

गाउँलेको समस्या र पीडा बुझेर बुद्ध सोचमग्न भए। धेरै बेर सोचे अनि लामो सास फेर्दै उनले सोधे, ‘त्यो राक्षस्नीका बालबच्चा छन् कि छैनन् ? ’ ‘त्यसका त धेरै केटाकेटी छन्। सय जनाभन्दा धेरै होलान्’, एक जना गाउँलेले भन्यो।

‘त्यसो हो भने उसको सबैभन्दा कान्छो सन्तानलाई कुनै उपाय लगाएर म कहाँ ल्याउन सक्नुहुन्छ ? ’, बुद्धले सोधे।

बुद्धको प्रश्न सुनेर एक छिन गाउँले अलमल्ल परे। आपसमा एक अर्कालाई हेरे। अनि एक जना तन्नेरी गाउँलेले भन्यो, ‘हामी कोसिस गर्छौँं।’

‘हुन्छ। त्यसको सन्तानलाई कत्ति पनि हानि नपुर्‍याइकन म कहाँ ल्याउनु होला’, बुद्धले भने।

धेरै प्रयास र मेहनत पछि गाउँलेले राक्षस्नीको कान्छी छोरीलाई अपहरण गरेर बुद्धकहाँ लगे। बुद्धले ती बालिकालाई विहारमा राम्रोसँग स्याहारसुसार गरेर राख्ने व्यवस्था गरे।

राक्षस्नी आफ्नो कान्छी छोरी हराएपछि पागलजस्तै भई। ऊ छोरीलाई खोज्दै गाउँ र बस्तीका गल्लीगल्लीमा भौंतारिन थाली। जति खोज्दा पनि नभेट्टाएपछि ऊ चिन्तै चिन्ताले बिरामी परी। ‘यसरी चिन्तामा डुब्नुभन्दा जाऊ गएर बुद्धलाई बच्चा हराएको कुरा भन। कुनै उपाय निकालिदिनु हुन्छ कि ? ’, राक्षस्नीलाई उसको आफन्तले सुझाव दियो।

ऊसँग अरू उपाय बाँकी थिएन। यसैले ऊ श्रावस्ती नगरमा गई। बुद्धलाई खोज्दै ऊ जितवन विहारमा पुगी र बुद्धको अगाडि आलाप विलाप गर्न थाली।

‘के भयो तिमीलाई ? किन यसरी शोक मनाएको ? ’, बुद्धले सोधे।

‘मेरो प्राणभन्दा प्यारी छोरी हरायो’, उसले भक्कानिँदै भनी।

‘कति छन् तिम्रा बालबच्चा ? ’, बुद्धले फेरि सोधे।

‘सय जना छन् हजुर’, उसले हात जोड्दै भनी।

‘सय जनामा एकजना हराउँदा के भयो त ? ’, बुद्धले भने।

‘त्यो मेरी कान्छी छोरी हो। मलाई उसको जति कसैको माया लाग्दैन। ऊ भएन भने त म तड्पिएरै मर्छु’, उसले फेरि अलापविलाप गर्न थाली।

‘तिमीले सयमा एउटा बच्चा हराउँदा तड्पेर मर्छु भन्यौ। तर जसका एक दुई बच्चा छन्। तिनका बच्चा हराउँदा तिनको मन कस्तो भयो होला सोचेकी छौ ? ’, बुद्धले अलि रुखो स्वरमा भने।

बुद्धको कुरा सुनेर राक्षस्नी स्तब्ध भई। ऊ एक छिन बोल्न सकिन। उसका आँखाबाट आँसु बगे। केही बेरपछि उसले आँसु पुछ्दै भनी, ‘भन्ते, हजुरको कुरा मैले बुझेँ। अब म यस्तो अपराधको काम गर्दिनँ। मलाई क्षमा गर्नुहोस्।’

बुद्धले मन्द मुस्कुराउँदै भने, ‘तिम्री प्यारी छोरी विहारमा सुरक्षित छ। ऊ साथीहरूसँग खेलिहेकी छ।’

आफ्नो प्यारी छोरी सुरक्षित भएर खेलिरहेको सुन्दा राक्षस्नी खुसी भएर बच्चालाई भेट्न छटपटाइन्।

बुद्धले भने, ‘हतार नगर। अबदेखि अरूका बच्चालाई पनि आफ्नै बच्चालाई जस्तो माया गर।’

अनि राक्षस्नी अलि गम्भीर भई। उसले हात जोडेर बुद्धलाई ढोग्दै भनी, ‘हजुरको आज्ञा हुन्छ भने अबदेखि म बच्चाको संरक्षक बन्छु।’बुद्धले उसको कुरा स्वीकारे। तर पूरै विश्वास गर्न भने सकेनन्। बुद्धले विहारको अगाडि राक्षस्नीका लागि बस्ने व्यवस्था मिलाइदिए। ऊ त्यहीँ बसेर गाउँ र बस्तीका केटाकेटीको रेखदेख र सुरक्षा गर्न थाली।

कालान्तरमा उसलाई मानिसले बालबालिकाकी संरक्षिका हारती माता भनेर बोलाउन थाले। त्यस बेलादेखि नै विहार र चैत्यको अगाडि हारती माताको मन्दिर बनाउने चलन चल्यो। काठमाडौं स्वयम्भुमा हारती माताको प्रसिद्ध मन्दिर छ। उपत्यकामा हारती मातालाई हारती माजु, अजिमा द्यः, मयजुदेव, हारती वज्रयोगिनी, शीतला माजु, स्वयम्भू संरक्षिका, धर्मपाली, धाक्वसिक्व मचाप्यास आदि नामले चिनिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.