सुरुङमा थुनिएका कामदारको उद्धारमा सेनाको हेलिकोप्टर
बझाङ : बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरमा काम गर्ने चारजना कामदार सुरुङभित्र फसेका छन्।आइतबार दिउँसो सुरुङभित्र फसेका कामदारको अवस्था जोखिम रहेको प्रहरीले जनाएको छ ।
काम गर्न सुरुङभित्र जाँदा अक्सिजनको अभाव भएपछि उनीहरु बेहोस भएको डीएसपी गणेशबहादुर बलमे जानकारी दिए। उनीहरुसँगै गएका दुईजना कामदार भने फर्कन सफल भएको उनले बताए।चारजनाको अवस्था भने अज्ञात रहेको डीएसपी बमले बताए।
दैलेख जिल्ला गुराँस गाउँपालिका ३ घर भएका ३२ वर्षीय महेन्द्र शाही, सो गाउँका कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउँद र बझाङको बुंगल नगरपालिका १ का ३५ वर्षीय शेरसिंह धामी रहेको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिए।
घटना भएको जानकारी पाएपछि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली घटनास्थलतर्फ गएको छ ।आठ सय मिटर लम्बाई सुरुङ भएकाले त्यहाँभित्र अक्सिजनको पनि अभाव भएको हुँदा उद्धार गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए।
उनका अनुसार सुरुङभित्र फसेका कामदार निकाल्नका लागि काठमाडौंबाट हेलिकोप्टरमा नेपाली सेनाको टोली घटना स्थलमा पुगेको र उद्धारका लागि थप पहल भइरहेको बताए। विगत ५ वर्षदेखि निर्माण कार्य सुरु भएको कालंगा हाइड्रो प्रालीले यहाँको सानीगाड कालंगा खोला बाट ६५ मेघावाट विधुत उत्पादन गर्ने भएको छ । हाइड्रोको दहबगरजस्तै पाउटामा पनि सुरुङ खन्ने काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !