किवीका लागि छुट्टै कोल्ड स्टोर
दोलखा : सुरक्षित भण्डारण र अफ सिजनमा बिक्री गरी मनग्य आम्दानी लिन फलको राजा किवीका लागि छुट्टै कोल्ड स्टोर निर्माण सुरु गरिएको छ।
किवीको पकेट क्षेत्र भीमेश्वर नगरपालिका–८, बोचमा ४ करोड २२ लाखको लागतमा किवीको छुट्टै कोल्ड स्टोर निर्माण सुरु गरिएको हो। अघिल्लो आवमा करिब ३० टन किवी उत्पादन भएको बोचलाई पकेट क्षेत्र मानेर प्रदेश ३ सरकारको मुख्य लगानीमा छुट्टै कोल्ड स्टोर निर्माण सुरु गरिएको तिलोत्तमा हिमाली फुड प्रोडक्सन एन्ड रिसर्च सेन्टरकी सञ्चालक उषा थापाले जानकारी दिइन्।
भीमेश्वर नगरपालिकाका–१, ३, ६, ७, ८ र ९ वडामा विभिन्न फर्म तथा कृषकले व्यावसायिक रूपमा किवी खेती गरिरहेका छन्। प्रदेश ३ सरकार, भीमेश्वर नगरपालिका तथा तिलोत्तमा हिमाली फुड प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त लगानीमा कोल्ड स्टोर निर्माण सुरु गरेको रिसर्च सेन्टरकी सञ्चालक थापाले बताइन्। कोल्ड स्टोर निर्माणका लागि कुल लागतको ७० प्रतिशत प्रदेश ३ सरकारले उपलब्ध गराउने र बाँकी ३० प्रतिशतमध्ये १५ प्रतिशत भीमेश्वर नगरपालिका तथा १५ प्रतिशत रिसर्च सेन्टरले लगानी गर्ने सञ्चालक थापाको भनाइ छ।
कोल्ड स्टोरमा एकैपटक दुई सय टन किवी भण्डारण गर्न सकिने क्षमता रहेको उनले बताइन्। किवीको ग्रेडिङ, प्याकेजिङ, बजारीकरण गर्ने तथा यसबाट उत्पादन हुने जुस, वाइनलगायत अन्य वस्तु उत्पादन गर्ने योजनामा रहेका स्थानीयलाई कोल्ड स्टोर निर्माणले थप मद्दत पुग्ने किवी कृषकको भनाइ छ।
कोल्ड स्टोर निर्माण सम्पन्न भएपछि तत्काल एक सय टन किवी भण्डारण तथा बाँकी अन्य फलफूल र कृषि उपज भण्डारणका लागि प्रयोग गरिने बताइएको छ। किवीफल, आलुचा, सुन्तला, कागतीजन्य खाद्यवस्तु संकलन, प्रशोधन र बजारीकरण, विभिन्न तरकारी, फलफूल, कन्दमुल, च्याउ, रेन्बो ट्राउट बिक्रीवितरण गर्ने उद्देश्यले स्थापित रिसर्च सेन्टरले किवीको व्यावसायिक उत्पादन सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस !