आलम प्रकरण : उजुरीकर्ताले नै फेर्न थाले बयान

आलम प्रकरण : उजुरीकर्ताले नै फेर्न थाले बयान

रौतहट : अदालतमा पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस चलिरहँदा उजुरीकर्ताहरूले धमाधम बयान फेर्न थालेका छन्। उनीहरूले आफूहरूलाई प्रहरीले जबरजस्ती कागजमा सहीछाप गराएको भन्दै निवेदन दिएका छन्। राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ आलमविरुद्ध जिल्ला अदालत गौरमा थुनछेक बहस चलिरहेको छ।

२०६४ को संविधानसभा चुनावको अघिल्लो दिन भएको विष्फोटका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ। न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला उनले विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालतमा निवेदन दिएका थिए। उनी मुद्दामा आलमविरुद्ध सरकारी साक्षी थिए।

प्रहरीले आलमका वकिलसँग अदालतमा प्रवेश गर्न लाग्दा उनलाई पक्राउ गरेको हो। बयान फेर्दै अदालतमा आएपछि उनलाई प्रहरीले हिरासतमा लिएको छ। उनले पहिलेको बयान फेरेर आफू बम विष्फोटबाट नभएर स्टोभ पड्किँदा घाइते भएको निवेदन दिएका छन्।

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर पनि विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले बयान फेरेर अदालतमा निवेदन दिएकी थिइन्। जिउँदै इँटाभट्टामा हालेर २३ जनाको हत्या गरेको अभियोगमा पूर्वमन्त्री आलमको बयान गत बिहीबार सकिएको थियो। पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको पहिलेको बयान फेरेर ओसीकी पत्नी अमनाले लिखित निवेदन दिएकी थिइन्। ओसी बम विष्फोटनमा मारिएको भन्दै मृत्यु दर्ता प्रमाणपत्र भने बनाइसकिएको छ। अमना र चमार दुवै जनाको निवेदन आएको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

घटनाका प्रत्यक्षदर्शी भनिएका ओसीका ससुरा समसुल मियाँले भने बम विष्फोटका घाइतेलाई स्थानीय प्रशासनका तत्कालीन प्रमुखहरूले भट्टामा हालेको बताउन थालेका छन्। उनले आलमभन्दा पनि यो घटनामा तत्कालीन सुरक्षा प्रमुखहरू बढी दोषी रहेको आरोप लगाएका छन्।

आलमका पक्षमा बहस गरेका कानुन व्यवसायीले उनलाई तारेखमा रिहा गर्न माग गरेका छन्। न्यायाधीश दीपक ढकालको इजलासमा उनीहरूले प्रहरीले ०६५ सालमा बनाएको मिसिल मात्र सक्कली भएको र अहिलेका कागजात सबै नक्कली भएको जिकिर गर्दै तारेखमा रिहा गर्न माग गरे। थुनछेक बहस मंगलबार पनि चल्ने छ। अदालतमा थुनछेक बहस चलिरहँदा गौर बजारमा आलम समर्थकले उनी निर्दोष रहेको भन्दै मौन जुलुस निकालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.