जिउँदैमा अन्तिम संस्कार

जिउँदैमा अन्तिम संस्कार

दक्षिण कोरियाको एउटा सेवा केन्द्रले अन्तिम संस्कारको सुविधा प्रदान गरिरहेको छ। तर, जीवित व्यक्तिलाई मात्र सो सेवा प्रदान गरिन्छ। 

सन् २०१२ मा खोलिएको ‘ह्योवन हिलिङ सेन्टर’मा अहिलेसम्म २५ हजार मान्छेले जिउँदैमा अन्तिम संस्कारको अनुभव गरिसकेका छन्। बनावटी मृत्युको अनुभव गरेर आफ्नो जीवनमा सुधार गर्नका लागि यस्तो अनुभव लिइएको हो। 

‘जब तपाईं मृत्युप्रति सचेत हुनुहुन्छ, यसलाई अनुभव गर्नुहुन्छ, त्यसपछि तपाईं जीवनप्रति नयाँ दृष्टिकोण राख्नुहुन्छ,’ हालसालै अन्तिम संस्कारमा सहभागी ७५ वर्षीया चो जेई–हीले भनिन्। वरिष्ठ नागरिक कल्याण केन्द्रले सञ्चालन गरेको ‘सुन्दर ढंगले मर्ने कला’ नामक कार्यक्रममा उनी सहभागी थिइन्। 

हालसालै आयोजित कार्यक्रमा सयौँले मृत्युको अनुभव लिएका थिए। भर्खरका किशोरकिशोरीदेखि वृद्धबृद्धासम्म कार्यक्रममा सहभागी भएका थिए। उनीहरूले शवले लगाउने वस्त्र लगाएका थिए, आफ्नो अन्तिम संस्कारको तस्बिर खिचाएका थिए, अन्तिम इच्छा लेखेका थिए र शव बाकस (कफिन) मा १० मिनेट सुतेका थिए। 
विश्वविद्यालयका विद्यार्थी चोई जिन–क्यूले कफिनमा बिताएको १० मिनेटले आफूले जीवनको निस्सारता बुझेको बताए। ‘कफिनमा सुत्दा मैले जिउनका लागि गरिने अनेक होडबाजी कति अर्थहीन छन् भन्ने बुझेँ,’ २८ वर्षीय विद्यार्थी क्यूले भने, ‘स्नातक गरेपछि मैले अत्यन्त प्रतिस्पर्धात्मक रोजगारी बजारमा प्रवेश गर्नेबारे सोचेको थिएँ। तर, कफिनमा बिताएका केही मिनेटले मलाई यी सबै प्रतिस्पर्धा वाहियात लागे। अब म आफ्नै व्यापार सुरु गर्छु र शान्त ढंगले जीवन बाँच्छु।’ 

‘अर्गनाइजेसन फर इकोनोमिक कोपरेसन एन्ड डेभलोपमेन्ट’को श्रेष्ठ जीवन सूचकांकमा दक्षिण कोरिया ४० देशमध्ये ३३ औँ स्थानमा पर्छ। अधिकांश दक्षिण कोरियाली युवा शिक्षा र रोजगारीलाई लिएर अत्यन्त महत्त्वाकांक्षी छन्। तर, बढ्दो बेरोजगारीले उनीहरूलाई निराशातर्फ धकेलिरहेको छ। सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले दक्षिण कोरियामा आत्महत्या दर डरलाग्दो भएको देखाएको थियो। त्यतिबेला एक लाख दक्षिण कोरियालीमध्ये २०.२ जनाले प्रतिवर्ष आत्महत्या गर्थे। जबकि अन्य देशमा औसत आत्महत्या दर १०.५३ प्रति एक लाख जनसंख्या थियो। 
‘युवा उमेरमै मृत्युबारे सिक्नु र यसका लागि तयार रहनु महत्त्वपूर्ण छ,’ मृत्युसम्बन्धी एक किताब लेखेका आसान मेडिकल सेन्टरका प्राध्यापक डा. यू अन–सिलले भने, ‘जीवन अमूल्य वरदान हो भन्ने सत्य सबैले बुझ्नु जरुरी छ।’ 

अन्तिम संस्कारको सेवा प्रदान गर्ने ह्योवन केन्द्रले सञ्चालन गरेको जीवितलाई मृत्युको अनुभव गराउने कार्यक्रमको एक मात्र लक्ष्य छ– मान्छेहरूलाई जीवनको महत्त्व बुझाउनु। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.