हाम्रो सोचमै खोट

हाम्रो सोचमै खोट

साँच्चै मुलुक खत्तमै भएको हो त ? बीस/पच्चीस हजार रुपैयाँ कमाउन सबै युवा खाडी मुलुक जानैपर्ने हो ? हरेक युवाको नजरले देखेजस्तै आफू उत्तम अनि अरू सबै नराम्रै भएका होलान् ? हामीले सोचेजस्तै मुलुकमा केही पनि विकास नभएकै होला ? अरूलाई सधैं अगतिला भए भनेर बसिरहने, गाली गरिरहने, कुरा काटिरहने बानी नै बसालेका हामी पनि कति असल छौं होला ? हरेक चिज, काम अनि वस्तु सबैलाई नराम्रै देख्ने हामीलाई कस्तो रोग लागेको हो ? आफूले सिन्को नभाँच्ने अनि अरूलाई केही गरेन भनेर खेदो खन्ने प्रवृत्तिले कसैलाई फाइदा होला र ? राम्रो कामकुरालाई पनि राम्रो भन्न नसक्ने कन्जुस कसरी भइरहेका छौं हामी ? आफूले खाना खाएर थालमै हात चुठ्ने अनि देश अगतिलो भयो, नेता अगतिला भए भनेर एकोहोरो गाली मात्रै गरेर देश सप्रिएला र ? सोसल मिडियाको स्थापना र विकास भएको सबै कुराको विरोध गर्नकै लागि हो ?

‘फूलको आँखामा पूmलै सन्सार, काँडाको आँखामा काँडै सन्सार’ भन्ने गीतमा जस्तै भएका छौं अहिले हामीहरू। आफूले केही गर्दैनौं। योजनाविहीन, लक्ष्यविहीन र उद्देश्यविहीन भएर बाँच्न थालेका छौं। आफूले नै केही गर्न नसकेपछि अरूले गरेको पनि हाम्रो आँखाले देख्दैन। अरूले राम्रो गर्दा पनि नराम्रै मात्र गरेको देख्दछौं। यसो हुनुमा प्रमुख त हाम्रो मानसिकतामा नकारात्मक सोच भरिएको छ। हाम्रो दृष्टिकोण नै नकारात्मक छ। जब हरेक कुरामा नकारात्मक मात्र देखिन्छ तब सकारात्मक सोच, विचार र चिन्तन टाढा भाग्छ।

आधा बोतल पानीलाई रित्तो देख्छ हाम्रो आँखाले। आफ्ना निकै उब्जाउ हुने अहिले बाँझा भएका खेतबारीलाई अनकन्टार, केही गर्न नसकिने पत्थरै पत्थर देख्छौं हामीहरू। हरेक काम–कुरालाई असम्भव मात्र देख्छौं। भनिन्छ ‘सुरुवात गर्नु पनि आधा उपलब्धि हो’ तर कुनै कामकुराको सुरुवात त टाढाकै विषय भयो सम्भव मात्र पनि देख्दैनौं हामी। अरूले गर्छु, गर्न सक्छु भनेको कुरालाई पनि असम्भव, यस्तो हँुदैन भनेर विरोध गर्र्छौं। दृष्टिकोणमै हरेक कुरा असम्भव मात्रै देखिरहने हो भने हामीले के गर्न सकौंला ? कुरा मात्रै काट्ने, काम गर्ने हातहरूलाई बाँधेर बस्यौं भने के गर्न सकौंला हामीहरूले ?

अरूलाई असल देख्न सुरुमा हरेक आफू असल बन्न सक्नुपर्छ। हरेक आफू राम्रो बन्न सक्नुपर्छ। ‘आफू भलो त जगत भलो’ व्यवहारिकतामा, वास्तविकतामा पनि यो लागू हुन्छ। हामीभित्र असल मानिसमा हुनुपर्ने सोचविचार विकास गर्न सक्यौं भने क्रमशः अरूमा पनि यो गुण भेट्टाउन सकिन्छ।

शून्यवादको खतराबाट बाहिर नआएसम्म जोसुकैले शासन गरे पनि यो देशको प्रगति हुँदैन। मुलुकको विकास, मुलुकको समृद्धि जादुको छडी होइन।

हामीभित्र नकारात्मक सोच, विचार, चिन्तन हावी भएको छ। जताततै आश, भरोसा देख्नुको साटो केवल असम्भव र निराशा मात्रै देख्ने गरेका छौं। जब केही कामकुरामा आशा नै हुँदैन भने उपलब्धि कसरी हासिल गर्न सकिन्छ ? केही गर्नका लागि मानसिक रूपमै तयार हुँदैनौं भने सम्भव कसरी होला र ? ग्यालुप २०१९ ग्लोबल इमोसन रिपोर्टअनुसार विश्वका एक सय ४० वटा देशका मानिसलाई सहभागी गराइएकोमा नकारात्मक सोच राख्नेमा नेपाल छैटौं स्थानमा परेको छ। यसो हुनु हाम्रो दुर्भाग्य हो। कानुनको विश्वास नगर्नु, नीतिनियमको विरोध गर्नु, हरेक चिज, वस्तु र मानिसप्रति नकारात्मक सोचाइ मात्र राख्ने भएका छौं। यस्तो हुनु शून्यवाद हो। विशेष गरी बढी मात्रामा युवामा यो नकारात्मक मानसिकताको रोग देखिएको छ। शून्यवादको खतराबाट बाहिर नआएसम्म जोसुकैले शासन गरे पनि यो देशको प्रगति हुँदैन।

मुलुकको विकास, मुलुकको समृद्धि जादुको छडी होइन। यो निरन्तर र विस्तारै हुने प्रक्रिया हो। यसो भनिरहँदा अहिले मुलुकमा व्यापक विकास भएको छ भन्न खोजेको होइन। जति मात्रामा हुनुपर्ने हो, त्यो पनि नभएको तीतो सत्यलाई मैले पनि स्वीकार्छु तर हामीले सोसल मिडियामा कुरा काटेजस्तै, हामीहरूले पेसा नै कुरा काट्ने/नकारात्मक टीकाटिप्पणी गर्ने जस्तै खत्तम भएको पनि होइन। केही गर्छु भन्नेलाई कुनै अवसर नभएको होइन। भनिन्छ–‘जहाँ इच्छा त्यहाँ उपाय।’ हामीभित्र सुरुमा केही गर्छु भन्ने मानसिकता हुनुपर्छ। जब मानसिक रूपमै केही गर्छु भनेर अगाडि बढ्ने हो भने तमाम अवसरका ढोका क्रमशः खुल्दै जान्छन्। केही गर्छु भन्ने सोच राखौं, उद्देश्य राखौं, लक्ष्य राखेर अगाडि बढौं। हिँड्न सुरु गर्नेहरू नै पुग्छन् गन्तव्यमा।

काम गर्नुभन्दा कुरा काट्नु सजिलो विषय हो भन्दैमा कुरा मात्र काटिरहँदा न आफ्नो भलो हुन्छ न त अर्काको। हाम्रा हेराइमा देश खराब, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री–नेता, न्यायाधीश, शिक्षक–कर्मचारी, व्यापार–व्यवसायी सबै खराब। हुँदाहुँदा प्रशस्त सम्पत्ति कमाइदिन नसक्ने आफ्नै बाबा–आमा पनि खराब। सबैलाई खराब मात्र देख्ने किन भइयो हामी ? देश खराब, समाज खराब अनि परिवारलाई खराब देखेर हामी कसरी असल बन्न सक्छौं ?

नकारात्मक दृष्टिकोण बदलेर सकारात्मक सोच, विचार र चिन्तन बनाउनु आजको आवश्यकता हो। आफू बदलिन सक्यौं भने परिवार बदलिन्छ, समाज बदलिन्छ अनि सिंगो राष्ट्र बदलिन सक्छ। सकारात्मक हेराइ र पाखुरीमा जाँगर उमार्न हरेकले सक्ने हो भने देशको विकास हुन बेर लाग्दैन। हामीसँग विकास गर्नसक्ने सम्भावना अथाह छन्। स्रोत, साधन, काम गर्न सक्ने उमेरको दक्ष जनशक्ति पनि प्रशस्त छ। कृषि, व्यापार–व्यवसाय, पर्यटनको विकास, उद्योग–कलकारखानाको स्थापना, जलविद्युत्लगायत अन्य क्षेत्रमा जाँगर निकालेर काम गर्‍यौं भने यति थोरै जम्मा तीन करोड पुग्न लागेका नेपाली रोजगारी खोज्दै विदेश भौंतारिनुपर्ने छैन।

हामीमा कमजोरी भनेको दृढ इच्छाशक्तिमा छ। हेराइमा छ, सोचाइमा छ, मानसिकतामा छ। उच्च राजनीतिक संस्कारको अभाव छ। आफूभित्रबाट नै सकारात्मक दृष्टिकोण बनाउन सक्यौं भने त्यतिबेला आफू, परिवार, समाज, देश सुन्दर लाग्छ र त्यो भन्दा बढी सुन्दर हाम्रो प्रकृति लाग्छ। सोच, विचार, चिन्तन र काम गर्ने शैलीमा ऊर्जा थपिन्छ। अल्छीपन हटेर जान्छ। आफूले पनि केही गर्ने र अरूलाई पनि केही गराउने वातावरण सिर्जना हुन्छ। सबैजना आफूले गर्न सक्ने काममा व्यस्त हुन थालेपछि अनावश्यक कुरा काट्ने फुर्सद हुँदैन। सबैको प्रगति हुन्छ। सबैको उन्नति हुन्छ। हामी सबैले आफ्नो नकारात्मक दृष्टिकोण परिवर्तन गरेर सकारात्मक बनाऔं। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.