अपूरोमै सकियो तरुण दलको कार्यकाल

अपूरोमै सकियो तरुण दलको कार्यकाल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दलको तीनबर्से कार्यकाल सकिएको छ। तर तीन वर्षको कार्यकालभरि तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा ४ जना मात्र पदाधिकारी थिए। ०७३ मंसिरमा नेताबीच भागबन्डाको आधारमा घोषित समितिको म्याद मंसिर २ गते नै सकिएको हो।

पोखरामा भएको महाधिवेशनमा पार्टी नेताहरूको आन्तरिक सहमतिमा ४ जना पदाधिकारीको समिति बनाइएको थियो। समितिमा अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चपागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङलाई बनाइएको थियो। पोखरामा भएको महाधिवेशनमा अन्य सदस्यपछि थप्ने भन्दै ४ जनाको समिति घोषणा भयो। विधानअनुसार ९५ जनाको केन्द्रीय समिति हुन्छ। ९१ जना खाली रहँदै कार्यकाल सकियो।

‘हामीलाई केन्द्रीय समिति विस्तार गर्ने अधिकार थिएन,’ अध्यक्ष बस्नेतले भने, ‘हाम्रो पार्टीको समस्य (आन्तरिक गुटबन्दी) तपाईंहरूलाई थाहै छ। त्यसकारण चारजनामै सीमित रह्यौँ।’ महासचिव शाहीले पार्टी शीर्ष नेतालाई केन्द्रीय समिति विस्तारका लागि पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेको दाबी गरे। अध्यक्ष बस्नेत र कोषाध्यक्ष गुरुङ पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल र उपाध्यक्ष चापागाईं नेता कृष्णप्रसाद सिटौलानिकट हुन्।

अर्को भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पनि ११ महिनादेखि नेतृत्वविहीन हुँदा तरुण दलका नेतामा पनि संशय छ। पार्टी नेताको लडाइँले तरुण दल पनि ‘भ्याकुम’ हुने संका नेताहरू गर्छन्। म्याद सकिएको तरुण दलभित्र आन्तरिक विवाद उस्तै छ। अध्यक्ष बस्नेत महासचिव शाहीलाई कारबाही गरिसकेको र अब ३ जना मात्रै पदाधिकारी रहेको दाबी गर्छन्। महासचिव शाही पनि अध्यक्ष बस्नेतलाई कारबाही गरिसकेको दाबी गर्छन्।

शाहीलाई पार्टीको अनुशासन समितिले समेत स्पष्टीकरण सोधिसकेको भन्दै अब संगठनमा उनी कुनै भूमिकामा नरहेको बताउँछन्। तर उपनिर्वाचनका लागि पार्टीलाई सहयोग गर्ने भन्दै दुवै जनाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर कार्यकर्तालाई खटिन अह्वान गरेका छन्। यसरी संगठन विस्तार नहुँदा कतिपय नेता अवसर पाउनबाट वञ्चित भएका छन्।

विवादमा रुमल्लिएको तरुण दलबारे पार्टी भने चुपचाप छ। यो कार्य समिति कामचलाउ भए पनि उपचुनावमा पार्टीलाई प्रचार र सघाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। ‘उपनिर्वाचन अघि जीतजंगजीकै नेतृत्वमा तरुण दल निर्वाचनको तयारीमा होमिन्छन्’, उनले भने, ‘उपनिर्वाचनपछि पार्टी केन्द्रीय समितिले केही निर्णय गर्छ।’

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार तरुण दलबारे निर्णय गर्न पार्टीसामु दुई विकल्प छन्– पहिलो यही समितिलाई म्याद थपेर महाधिवेशन गर्न दिने र दोस्रो अर्को समिति बनाउने। उपचुनावपछि बस्ने पार्टीको केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिने उनले बताए।

तर अध्यक्ष बस्नेत भने यही समितिले महाधिवेशन गर्ने दाबी गर्छन्। ‘अहिले हाम्रो ३ जनाको केन्द्रीय समिति छ। विधानले केन्द्रीय समितिले म्याद सकिएपछि पनि ६ महिना थप्न पाइन्छ। हामीले थपिसक्यौँ’, उनले भने, ‘अब पार्टीले अनुमोदन गर्नुपर्छ। म ५ महिनामा महाधिवेशन गर्न सक्छु।’ उपनिर्वाचनपछि केन्द्रीय समिति पनि विस्तार हुने उनी दाबी गर्छन्। ‘हामीले शीर्ष नेतालाई भनिसकेका छौँ’, बस्नेतले भने, ‘अब उपनिर्वाचनपछि केन्द्रीय समिति विस्तार हुन्छ।’

महासचिव शाही यो समितिको वैधानिकता सकिएको बताउँछन्। ‘म्याद सकिएपछि हामी अवैधानिक भइसक्यौं। अब पार्टीले निर्णय गर्नुपर्छ। जीतजंगजीले महाधिवेशन गर्नसक्नु हुन्न’, उनले भने, ‘अब पार्टीले सीधै महाधिवेशन गरे राम्रो हुन्छ। मैले त ६ महिनाअघिबाटै भन्दै आएको छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.