इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवल रुपन्देहीका सव–इन्जिनियर सन्दिप पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल र जेसीभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका चालक बस्नेतले सेवाग्राहीबाट १ लाख २० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा सव–इन्जिनियर पौडलले श्री प्रभाकर माविको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।