मदिरा पिउने र बिक्री गर्ने सावधान ! जरिवानामा परिएला

मदिरा पिउने र बिक्री गर्ने सावधान ! जरिवानामा परिएला

बेनी : म्याग्दीको मालिका गाउँपालिकाले मदिरा बिक्री-वितरण तथा सेवन गर्नेलाई जरिवाना तिराउन थालेको छ । सामाजिक विकृति, घरेलु हिंसा र अपराध न्युनीकरणका लागि मदिरा सेवन र बिक्री वितरणमा कडाई गरेको हो । मदिरा नियन्त्रणका लागि कानुननै बनाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 

पालिकाले बनाएको सामाजिक हिंसा र विकृतिविरुद्धको ऐनअन्तर्गत १० वटा विषयलाई जोड गरेको छ । बिहान ५ देखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्नेलाई दुई हजार र बेच्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने नियम बनाएको छ । 

साँझ ५ देखि बिहान ५ बजेको बीचमा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई दुई हजार पाँच सय रुपैयाँ जरिवाना तोकिएको उपाध्यक्ष खरमाया बिटालुले बताइन् । 'सामाजिक विकृति, हिंसा र अपराधको मुख्य कारण मदिरा हो,' उनले भनिन्, 'प्रमुख सामाजिक समस्या समाधानका लागि अभियान चलाएका छौं।'

पालिका स्तरमा अध्यक्षको संयोजकत्वमा २१ सदस्यीय र वडाका अध्यक्षको संयोजकत्वमा वडास्तरमा समिति गठन गरिएको छ । जनप्रतिनिधि, राजनीतिकर्मी, शिक्षक, आमा समूह र युवा क्लबका प्रतिनिधि अभियानको सदस्य भएका छन् । 

'पालिकाले तोकेको समयभन्दा अन्य समयमा मदिरा सेवन, बिक्री र होहल्ला गरेको सूचना अभियानका सदस्यमार्फत प्रहरीलाई पुर्‍याउने संयन्त्र बनाएका छौं, 'अध्यक्ष रोकाले भने,  'प्रहरीले नियन्त्रणमा लिएर परामर्श गर्छन्। पालिकालाई जरिवाना तिरेपछि कायलनामा गराएर छोडिन्छ।' 

गाउँपालिकाको केन्द्र समेत रहेको ६ दरवाङ बजारमा एकजनालाई दुई हजार रुपैयाँ जरिवाना समेत गरिएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताए। सो वडामा मदिरा नियन्त्रणका लागि अध्यक्ष सुवेदीको संयोजकत्वमा २९ सदस्यीय समिति गठन भएको छ। 

मालिका गाउँपालिकामा ७ वटा वडा छन् । वडा न. ७ बिममा केही वर्षअघिदेखिनै मदिराको प्रयोगलाई नियन्त्रण गरिँदै आएको छ । मदिरा आयात, उत्पादन र सेवनमा रोक लगाइएको छ । मगर समुदायको धार्मिक संस्कारमा रक्सीको विकल्पमा फलफूल चढाउने चलन बनाइएको छ । 

वडास्तरका अगुवालाई भेला गरेर अभियानको बारेमा जानकारी गराइएको छ । उनीहरुले मदिरालाई कडाईका साथै जुवातास खेल्ने खेलाउने कार्य बन्द गराउने, १८ वर्ष मुनिका बालबालिकालाई सूर्तिजन्य पदार्थ नबेच्ने, बालविवाह न्युनीकरण गर्नेलगायत दश बुँदे प्रतिवद्धता र घोषणापत्र जारी गरेका छन् । 

कुटपिट, घरेलु हिंसा, बहुविवाह, बलात्कार, सवारी दुर्घटना, विवाद, झैंझगडाको मुख्य कारण मदिरा देखिएको छ । गत भदौमा मदिरा सेवन गरेका युवाको समूहले कुटपिट गर्दा मालिका २ खवाङका एक व्यक्तिको मृत्यु भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.