सीमामा ‘झोले क्लिनिक’

सीमामा ‘झोले क्लिनिक’

विराटनगर : घटना १

सस्तोमा पाइल्स निको पार्ने सुनेर इलाम बरबोटेकी देविका पौडेल भारतीय सीमावर्ती बजार पानीट्यांकीमा खुलेको एउटा क्लिनिकमा पुगिन्। मलद्वारमा मासु पलाउने तथा दिसा गर्दा रगत बगेपछि गएकी उनको उपचार सुरु गरेको एक महिनामा पनि निको भएन। ‘मलाई पाइल्स जाती पार्छु तर २५ हजार भारु चाहिन्छ भने। मैले पैसा पनि दिएँ, एक महिनामा निको भएन,’ उनले दुखेसो पोखिन्।

औषधिले निको पार्ने बताएकाले औषधिबाट बिसको उन्नाइस नभएपछि एक महिनापछि जाँदा पौडेलले त्यहाँ न क्लिनिक भेटिन् न त सञ्चालक। त्यसपछि आफू ठगिएको चाल पाएकी उनी अहिले झापाको एउटा अस्पतालमा उपचाररत् छन्।

घटना २

झापा बाह्रदशी गाउँपालिका–२ का कालीबहादुर भण्डारी केही महिनाअघि सस्तोमा ग्यारेन्टीसहित उपचार हुने सुनेर पाइल्स निको पार्न पानीट्यांकी पुगे।

त्यहाँको माँ पाथीभरा क्लिनिकका डाक्टरले निको हुन्छ भन्दै सुई लगाए र औषधि खुवाएर पठाए। २० हजार खर्च गरेका उनको रोग निको हुनुको साटो दिसा नै हुन छाडेपछि बिर्तामोड गएर उपचार गराउनु पर्‍यो। भारतमा गरेको गलत उपचारपछि चिकित्सकले पाइप लगाएर उनको दिसा निकाल्नु परेको थियो।

घटना ३

धनकुटा बेलहाराका श्यामकुमार लिम्बु गाउँमा टाँसेको पर्चा र स्थानीय सञ्चारमाध्यममा सुनेको आधारमा दुई महिनाअघि हाइड्रोक्सिलको उपचार गर्न विराटनगर हुँदै भारतीय सीमावर्ती बजार जोगवनी पुगे। भित्र कुनाको एउटा सामान्य कोठामा आफूलाई डाक्टर बताउने व्यक्तिले ग्यारेन्टीका साथ दिएको औषधि खाँदा रोग झनै बढेपछि विराटनगरमै उपचार गरेर फर्किए। जोगवनीमा न उनले सूचनामा भनेजस्तो क्लिनिक नै भेटे न डाक्टर। उनी भन्छन्, ‘नेपालीको मात्रै उपचार गर्न दलालदेखि नाम मात्रका डाक्टर त्यहाँ बस्ने रहेछन्।’

यी तीन प्रतिनिधि घटना मात्र हुन्। झापा र मोरङको सीमापारी भारतीय बजारमा खुलेका दर्जनौं यस्ता ‘झोले’ क्लिनिकले सस्तोको लोभ देखाएर पाइल्स, फिस्टुला, हाइड्रोक्सिललगायत दर्जनौं रोग लागेका नेपालीलाई ठग्ने क्रम बढ्दो छ। त्यस्ता क्लिनिकमा नेपालीहरू स्थानीय सञ्चारमाध्यम र भित्तामा टाँसेका पर्चाको भरमा पुग्ने गरेका छन्। पछिल्लो समय नेपाली सीमा र प्रदेश १ का मुख्य बजारमा कर्मचारी नै खटाएर त्यस्ता क्लिनिकले बिरामी संकलन गरिरहेका छन्।

ती क्लिनिक नेपालीलाई नै लक्षित गरेर खुलेका हुन्छन््। नेपालीहरू पानीट्यांकी र जोगवनी पुग्ने बित्तिकै दलालहरू झुम्मिन आइपुग्छन्। कोही लिनै आउँछन्। तानातान गरेर आफ्नोमा लैजाने गरेको ठगिएका बिरामी बताउँछन्। ‘पानीट्यांकी पुग्नासाथ औषधि गर्न हो भनेर एउटाले सोध्यो, मैले सूचनामा पढेको अस्पतालको नाम लिँदा उसैले पुर्‍यायो,’ ठगिएका झापा बाह्रदशी गाउँपालिका–२ का कालीबहादुर भण्डारीले भने, ‘एउटा कोठा मात्र थियो, बाहिर बोर्डमा त्यही नाम लेखेको थियो। तर कहाँ अस्पताल हुनु नि ! सानु काउन्टर जस्तो मात्र थियो।’

भारतीय सीमावर्ती बजारका त्यस्ता क्लिनिकमा उपचार गराउँदा निको नभएका बिरामी धेरै छन्। सस्तोमै निको हुने आशा गरे पनि बिरामीले २०–५० हजार रुपैयाँसम्म खर्च गरेपछि मात्र ठगिएको पत्तो पाउँछन्। ‘सुरुमा त कम पैसामा उपचार हुने आसले गएको हो, गरिब मान्छे नेपालका ठूला अस्पतालमा धेरै पैसा लाग्छ भन्ने लाग्यो,’ इलाम बरबोटेकी पौडेलले भनिन्, ‘निको नभएपछि र क्लिनिक सञ्चालक नै हराएपछि मात्र ठगिएको थाहा पाइयो।’ उनका अनुसार त्यस्ता क्लिनिकमा नेपाली मात्र पुग्छन् र ठगिन्छन्।

टहरा जस्ता संरचनामा सीमावर्ती बजारमा खुलेको एउटा क्लिनिकमा नेपालीलाई लैजाने अधिकांश बिचौलिया नेपाली हुन्छन्। क्लिनिकहरूसँग साँठगाँठ भएका केही नेपालीविरुद्ध आफू ठगिएको भन्दै पछिल्लो समय प्रहरीमा उजुरी पर्ने गरेको छ। तर भारतमा ठगिएको र बिचौलियाको पूर्ण विवरण बिरामीले प्रहरीलाई दिन नसक्दा उनीहरू उम्कने गरेका छन्। एक वर्षअघि इलाका प्रहरी कार्यालय बिर्तामोडले एक जना बिचौलियालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो। त्यसयता भने यस्ता घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्।

झोले क्लिनिक भारतमा भएकाले प्रहरी प्रशासनले त्यहाँ गएर अनुसन्धान गर्न सक्दैन। एक जना बिचौलिया पक्राउ गरेका इलाका प्रहरी कार्यालय बिर्तामोडका तत्कालीन डीएसपी (अहिले एसपी) कृष्ण कोइराला यस्तो घटनामा अनुसन्धान गर्न कठिन हुने बताउँछन्। ‘भारतमा झोले क्लिनिक खुलेका हुन्छन्, आज छन् भोलि हुँदैनन्। नेपालका एजेन्ट पनि एक ठाउँ बस्दैनन् भने बिरामीलाई कुनै विवरण दिँदैनन्। पक्राउ गर्न र कारवाही गर्न नै समस्या धेरै हुने गर्छ,’ उनले भने।

आफ्नै कारणले ठगिने र थाहा पाएपछि अस्पतालमा उपचार गर्ने भएकाले पनि यस्ता उजुरी प्रहरीमा न्यून मात्र आउने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठ बताउँछन्। ‘फाट्फुट गुनासो आउँछन्, उजुरी नै पछिल्लो समय छैन। यस्तो विषयमा पहिले बिरामी नै जिम्मेवार बन्नुपर्छ, अनि सूचना प्रकाशन प्रसारणमा स्थानीय सञ्चारमाध्यम पनि उत्तरदायी बन्नु पर्‍यो,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.