माओवादी केन्द्रले उप-निर्वाचन बहिष्कार गर्ने
धनगढी : नेकपा माओवादी केन्द्रले उप-निर्वाचन बहिष्कार गर्ने भएको छ । गोपाल किराती अध्यक्ष भएको माओवादी केन्द्रले धनगढीमा पत्रकार सम्मेलन गरी यहि मंसिर १४ गते हुने उप-निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो ।
सरकारसमक्ष असोज ३ गते बुझाएको १८ बुँदे माग पूरा नभएको भन्दै उप-निर्वाचन बहिष्कार गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष रंगनाथ ढकालले बताए । 'पार्टीले उप-निर्वाचन बहिष्कार गर्ने नीति लिएको छ,' उनले भने, 'त्यसका लागि पार्टीका भातृ संगठनले निर्वाचन हुने क्षेत्रमा पर्चा पम्पलेट बाडने, भित्ते लेखन र आमसभा गर्नेलगायत कार्यक्रम हुनेछन्।'
केहि राजनीतिक दललाई प्रतिबन्ध लगाएर मंसिर १४ गते उप-निर्वाचनले मुलुक फेरि अशान्तितिर जाने उनको ठहर छ । सरकारले संविधानले प्रदान गरेको राजनैतिक सामाजिक नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै समाजवाद निर्माण प्रक्रियामा अवरोध सिर्जना गरिररहेको ढकालले पत्रकार सम्मेलन धारणा व्यक्त गरेको थिए।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य लोकराज जैशीले सरकारले गर्न लागेको उप-निर्वाचनलाई बहिष्कार गर्ने रणनीति अनुसार नै विरोध कार्यक्रम अगाडि बढाइसकेको जानकारी दिए । उप-निर्वाचन हुने क्षेत्रमा बाध्य भएर हड्तालसहित अगाडि बढ्ने उनले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस !