स्थानीय तहको बजेट खर्च १४ प्रतिशत मात्रै
धनगढी : कैलालीका स्थानीय तहको चालू आर्थिक वर्षको पहिलो चौमासिक खर्च सन्तोषजनक देखिएको छैन् । जिल्लाका १३ स्थानीय तहमध्ये पहिलो चौमासिकमा १४ प्रतिशत बजेट खर्च गरेका हुन् । ६ गाउँपालिका, ६ नगरपालिका र १ उप-महानगरपालिकाका रहेको जिल्लामा ८ अर्ब ६५ करोड बजेटमा पहिलो चौमासिकमा १ अर्ब २२ करोड बजेट खर्च भएको छ।
जिल्लाको लम्की-चुहा नगरपालिकाले सबैभन्दा कम ११ प्रतिशत र बर्दगोरीया गाउँपालिकाले सबैभन्दा बढी १७ प्रतिशत बजेट खर्च गरेको छ । अन्य ११ स्थानीय तहको १० प्रतिशत भन्दा माथि र १७ प्रतिशत भन्दा तल आर्थिक प्रगति देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलाली प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले जानकारी दिए।
स्थानीय तहको बजेट खर्च गत आर्थिक वर्षको पहिलो चौमासिक भन्दा केही सुधार देखिए पनि पूर्ण कार्यान्वयनका लागि सन्तोषजनक नभएको उनको भनाई छ । स्थानीय तहले बजेट पूर्ण कार्यान्वयनका लागि दोस्रो चौमासिकमा प्रगति गर्न सकेमा मात्र बजेट खर्चमा सुधार देखिने उनले बताए । गएको आर्थिक वर्षमा १३ स्थानीय तहको २३ प्रतिशत मात्र अर्थात् झन्डै २ खर्ब बढी बजेट फ्रिज गएको थियो ।
स्थानीय तहले तामझामका साथ ल्याउने बजेट कार्यान्वयनमा चासो नदिँदा विकास निर्माण समेत प्रभावित हुने गरेको भन्दै सबै यसमा सजग बन्नुपर्ने स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस !