हाम्री आमा साह्रै नै ज्ञानी छन्

हाम्री आमा साह्रै नै ज्ञानी छन्

विवाह हुँदा मुमाको उमेर १९ वर्ष, बुवाको ३३ वर्ष। हाम्रो परिवार ४१ सदस्यीय इन्द्रेणीजस्तो थियो। मुमाले बिहान-साँझ ढोग्नुपर्ने सासूहरू नै पाँच जना।


अशक्त अवस्थाकी मुमालाई स्ट्रेचरसहित एम्बुलेन्सभित्र राखेपछि ‘बाबु मलाई आमासँगै बस्न दिनुहुन्छ ? ’ भन्दै विनम्र आग्रह गरेँ। मुमा सुतेको स्टेचरनजिकैको कुनामा बस्ने स्वीकृति दिए। मुमाको हात सुमसुम्याउँदै ‘घर सुबिस्तासँग पुगिन्छ मुमा, नडराइस्योस्’ भनेँ। साइरन बजाउँदै एम्बुलेन्स कुपन्डोलतर्फ हुत्तियो। जीवनमा पहिलोपटक आफूलाई अत्यन्त असह्य महसुस गर्दै थिएँ। उत्तानो परेर सुताइएको मुमाको मुख टुलुटुलु हेर्दै उहाँको हात समातेर सुमसुम्याउन थालेँ।

महिना दिनपूर्व कान्छी बैनी वन्दनाको सक्रियतामा दोस्रो पटक एक दिनका निमित्त अस्पताल पुर्‍याएका थियांै। अस्पताल भर्ना भएपछि उहाँको अवस्था झन्झन् खस्किँदै गयो। मुटुमा समस्या तथा फोक्सो र मिर्गौलामा संक्रमण भएको ठहर गरियो। स्थितिमा केही स्थिरता आउना साथै डाक्टरहरूले ‘उहाँकै भलोको निमित्त’ घर लैजानू भन्न थाले।

मुमा घर फर्कन पाएकामा खुसी, मचाहिँ उहाँलाई जुन अवस्थामा अस्पताल पुर्‍याइएको थियो, सोही अवस्थामा घर फर्काउँदाको पीडा तथा घरमा राख्दा आइपर्ने सम्भावित चुनौतीहरूको कल्पनाले अविचलित थिएँ।

मुमा र गफ्फी महात्मा

स्वास्थ्यस्थिति जटिल हुँदै गर्दा मुमालाई कोरिनरी कार्डियाटिक युनिट (सीसीयू)मा घरिघरि पुर्‍याइयो। हेर्दै अत्यासलाग्दो सीसीयूमा लैजान लागेपछि मुमा ‘घर लैजा, म एकछिन पनि यहाँ बस्दिनँ’ भन्ने गर्नुहुन्थ्यो। एक बिहान मलाई देख्नेबित्तिकै ‘तैंले भनेको सही रहेछ। ती महात्मा गफी रहेछन्’ भन्न थाल्नुभयो।

झन्डै तीन दशकपूर्व छिमेक (कुपन्डोल)को घरमा महात्माको प्रवचन श्रवणको निम्तो पाएर मुमा त्यहाँ पुग्नुभएको रहेछ। प्रवचन कोठामा उहाँले प्रवेश गर्नासाथै महात्माले जुरुक्क उठेर मुमालाई प्रणाम गरेछन्। अनि आकाशतर्फ हेर्दै महात्माले ‘हे प्रभु, मलाई पनि यिनकै जस्तो मरण देऊ’ भनेछन्।

त्यसपिछ मुमालाई सम्बोधन गर्दै तिनले ‘माता हजुरलाई थाहा हुनुपूर्व नै प्रभुको गाथमा पुग्नुहुन्छ’ भनेछन्।

मुमाले त्यसपछिका दिनहरूमा सधैं उक्त घटनालाई सुगाले रटेजस्तो गरेर दोहोर्‍याइरहने। दिक्क भएर एक दिन मैले ‘महात्मा फटा रहेछ’ भनेँ। मुमा आक्रोशित हुँदै ‘तँजस्ता नास्तिकलाई ती महात्माको शक्तिको ज्ञान कसरी हुने ? ’ सीसीयू कक्षको अत्यासलाग्दो वातावरणमा उहाँलाई महात्माप्रति वितृष्णा नै जागेछ।

 कृष्ण भगवान्जस्तो डाक्टर

सीसीयूमा रहँदा एक बेलुकी मुमालाई साह्रो भयो। ‘इमर्जेन्सी’को डाक्टरलाई बोलाइयो। हामी बाहिर तनावपूर्ण स्थितिमा थियांै। अकस्मात् सीसीयूबाट बाहिर सुनिने गरेर अट्टहासको हाँसो सुनियो। आपत्कालीन विशेषज्ञ डाक्टरले नर्सहरूको घेराबन्दीमा मुमालाई जाँच्दै रहेछन्। मुमालाई होस आएछ अनि उहाँले वरपर आँखा घुमाउँदै ‘तपाई डाक्टरसाहेब हो ? ’ भनेर प्रश्न गर्नुभएछ।

डाक्टर साहेबले ‘हो आमा, म डाक्टर हुँ’ भनेछन्। मुमाले ‘तपाई डाक्टर होइन, भगवान् कृष्ण हुनुहुन्छ’ भन्नुभएछ। डाक्टरले मक्ख पर्दै ‘आमा, किन त्यसो भन्नुभएको ? ’ भन्दा मुमाले ‘गोपिनीहरूले भगवान् कृष्णलाई घेरेजस्तै गरेर तपाईंलाई पनि नर्सहरूले घेरेको देखेर’ भन्नुभएछ। त्यसो त उहाँ सीसीयूमै रहँदा पनि ‘वसन्त नै बस्न खोज्ने यहाँ यो हो मेरो माइतीघर’ तथा ‘नमान लाज यस्तरी’ जस्ता नेपाली सिनेमाका गीतहरू गाएर डाक्टर तथा नर्सहरूलाई खुसी तुल्याइदिने गर्नुहुन्थ्यो।

 मुमाको घर प्रवेश

विवाह हुँदा मुमाको उमेर १९ वर्ष, बुवाको ३३ वर्ष। हाम्रो परिवार ठूलो (४१ सदस्य) इन्द्रेणीजस्तो थियो। उहाँले बिहान साँझ पर्दा ढोग्नुपर्ने सासू पाँच थिए। कृषि विभागको डाइरेक्टर बुवाको तलब ४०० रुपैयाँ प्रतिमहिना। दुलै भएर गृह प्रवेश गरेको पहिलो महिनामै बुवाले तलब मुमाको हातमा थमाउँदै भन्नुभएछ, ‘यही पैसाले तिमीले महिना दिन पुर्‍याउनुपर्छ।’ दाल चामल किन्नु पर्दैनथ्यो।

‘करेसाको बारी’ पुस्तकका लेखक बुवाले अनेक किसिमका सागपातको परीक्षण उत्पादन घरमै गर्ने। मुमाले त्यही आयको भरमा परिवारको पालनपोषण, शिक्षादीक्षाजस्ता सम्पूर्ण खर्च पुर्‍याउनुपर्ने।

विवाह भएको एक दशकपछि बुवा अमेरिकामा वर्ष दिन लामो कृषि प्रशासनसम्बन्धी तालिम लिएर फर्कनुभयो। उहाँ फर्केको एक साता नबित्दै सरकारले उहाँलाई सस्पेन्स गर्‍यो। अदालतले उहाँ बेकसुर भएको ठहर पनि गर्‍यो तर उहाँको पुनर्बहाली भएन।

आजीवन सरकारी नोकरीबाट सस्पेन्स तर कहिल्यै पनि बर्खास्त हुने अथवा अवकाश पाउने अवसर उहाँलाई मिलेन। बुवाको जागिरे जीवन समाप्तीपछि मुमाको हातमा तलब पर्नका निमित्त दुई दशकभन्दा लामो अवधि अर्थात् म कृषि आयोजना सेवा केन्द्र प्रालिमा जागिरे नहुन्जेलसम्म कुर्नुपर्‍यो। त्यस अवधिमा परिवारको संख्या घटेन बरु क्रमिक रूपमा बढ्यो।

हामी छोराछोरीको संख्या नै आठ पुग्यो। सबैको लालनपालन तथा गृहस्थ व्यवस्थापनको एकल जिम्मेवारी मुमाको काँधमा नै रह्यो। उज्यालो तथा हँसिलो अनुहारकी हाम्री आमा पैसाको चरम अभाव हुँदा पनि परिवारका सदस्यहरूलाई खुसी राख्न सफल थिएन।

हाल अस्पतालमा राख्नेजस्तै पलङमा मुमालाई राखेका छौं। उहाँ आफंै केही पनि गर्न सक्नुहुन्न। उहाँकै सक्रियतामा निर्मित घर फर्केपछि स्वास्थ्य अवस्थामा केही सुधार आएको छ। दुई डाक्टर भाइहरू रवि खुँजेली तथा सन्तोष थापाको परामर्श तथा डा अनिल यादवको नियमित सुपरिवेक्षण, स्वास्थ्यकर्मी (नर्स) तथा घरका सहयोगीहरूको योगदानले गर्दा सुधार आएको छ।

उहाँकै सन्ततिहरू (छोरी, छोरा, बुहारी, नाति तथा नातिनाहरू)को माया तथा रेखदेखले पनि ९४ वर्ष काटेको मुमाको स्वास्थ्य अवस्था सुध्रनुमा ठूलै भूमिका निर्वाह गरेको हुनुपर्छ। आजीवन उहाँकै खटनपटनमा उहाँको संसार सञ्चालित थियो। बिछ्याउनीमै रहेर पानी पिउनेदेखि हलचल गर्नसमेत अर्काको सहयोगको आवश्यकता पर्दाको पीडाग्रस्त अवस्थामा हुनुहुन्छ मुमा। हामी आमाछोराबीच प्रत्येक दिन युद्ध हुन्छ। कमसेकम औषधि सेवन आफ्नै इच्छा तथा समयतालिका मुताबिक होस् भन्ने उहाँको चाहना हो। म भने डाक्टरले उल्लेख गरेको समय तालिकाअनुसार नर्सहरूले खुवाउनुपर्छ भनेर हठ गर्छु।

घर प्रवेश गरेको दिनदेखि निरन्तर सात दशकभन्दा लामो अवधि उहाँको जीवन संघर्षमय रह्यो। उहाँसँग कसैलाई पनि दिने केही छैन सिवाय ‘निरोगी हुनू र सदा मन शान्ति रहोस्’ भन्ने आशीर्वादबाहेक। विदेशमा रहेका मुमाका नातिनी तथा नातिहरू उहाँ बिरामी भएको समाचार पाउनासाथ काठमाडौं ओइरिए।

यहाँ आएपछि कोही अस्पतालमा पैसा डिपोजिट गर्न पुगे भने कोही मेरो बैंक खातामा रकम जम्मा गर्न। उहाँको निमित्त उतैबाट औषधिलगायत अन्य आवश्यक सामग्री ल्याउने र पठाउनेहरूबीच पनि एक किसिमको प्रतिस्पर्धा नै चल्यो।

मुमाको सरसफाइमा नातिनीहरू खटिए, बिनाकुनै घिन। उनीहरूले प्रदर्शन गरेको व्यवहारबाट अत्यन्त प्रभावित कान्छी बैनीले मलाई भनी, ‘हाम्री आमालाई यी केटाकेटीहरूले गरेको देख्दा मलाई अझै बढी गर्न प्रेरित तुल्याएको छ।’

उहाँको सेवामा हामी छोराछोरी मात्र नभएर बुहारी तथा नातिनातिनाहरू अहोरात्र खटिएको देख्दा अचम्म लाग्छ। विगत आठ नौ महिनादेखि उनीहरू नथाकी निरन्तर मुमाको जीवन सहज तुल्याउन लागिपरेका छन्।

त्यो सबैको प्रत्यक्षदर्शी हुँदा घरिघरि आफूले आफैंलाई प्रश्न गर्छु- किन हाम्री आमालाई परिवारका सबै सदस्य तथा ईष्टमित्रले यतिविघ्न प्रेम र श्रद्धा गरेका होलान् ? सकुन्जेलसम्म उहाँले परिवारका सदस्यहरूलाई आफ्नो र अर्को भनेर विभेद गर्नु भएन। ईष्टमित्रहरूसँग पनि समान व्यवहार गर्नुभयो। उहाँ हरदम अर्काको खुसियालीका निमित्त समर्पित रहनुभयो। उहाँको सक्रियता र परि श्रमले निर्मित घरको दोस्रो तलाको उहाँकै कोठामा उहाँलाई अन्तिम सास फेर्ने इच्छा छ। एक असाधारण सफल गृहिणी नारीको छोरा हुन पाएकामा मलाई गौरव छ। चिच्याई चिच्याई सबैले सुन्ने गरी भन्न मन लाग्छ- हाम्री आमाजस्ती आमा कसैकी छैनन्।  @binsija
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.