मोबाइलमा गेम खेल्ने हात अब गेम बनाउनेतर्फ

मोबाइलमा गेम खेल्ने हात अब गेम बनाउनेतर्फ

हिजोआज स-साना बालबालिकालाई मोबाइल र ट्याबमा गेम खेल्ने, भिडियो हेर्ने लत लागेको पाइन्छ। अक्सर बालबालिका हुने हरेक परिवार यस्ता समस्याबाट आजित छन्।

पूर्वबाल्यावस्था भनेको सहजै धेरै कुरा छिटो सिक्ने उमेर हो। यो उमेरदेखि नै बालबालिकामा सिर्जनशीलताको विकास हुँदै जान्छ। तर मोबाइल, अनलाइन गेमिङले बालबालिकाको सिर्जनशीलताको समयलाई बर्बाद पारिरहेको आभाष आम अभिभावकले गरिरहेका छन्। तर त्यही लतलाई कसरी उपयोगी बनाउने भन्नेतर्फ धेरैलाई जानकारी नहुन सक्छ।

वास्तवमा यो उमेर बालबालिकालाई कम्प्युटर प्रोगामिङ सिकाउने उपयुक्त बेला हो। विकसित देशमा यस्तो अभ्यास छ। त्यहाँ सानो कक्षामा अध्ययन गर्ने बालबालिकाले मोबाइल गेम बनाएको, एप्लिकेसन तथा सफ्टवेयर विकास गरेको समाचार हामीले सुनेका छौं। यस्तो अभ्यास सानैदेखि सिकाउँदै लगे बालबालिकाको तेजिलोपन सही ठाउँमा उपयोग हुन सक्छ।

धेरैलाई लाग्छ। कम्प्युटर प्रोगामिङ ठूलो भएपछि सिक्ने विषय हो। तर वास्तविकता त्यस्तो होइन। पूर्वबाल्यावस्थादेखि नै सिकाउँदै लगे बालबालिकाले चाँडो सिक्न सक्छन्।

हिजोआज विभिन्न वेभसाइट र अनलाइनमा उपलब्ध सामग्रीहरूबाट बालबालिकालाई कोडिङ सिकाउन सकिन्छ। कोड भन्नाले कम्प्युटरको भाषा हो। जसले यस्तो भाषा जान्दछ, उसलाई कोडर, डेभलपर या प्रोग्रामर भनिन्छ। कम्प्युटर कोड अत्यन्त महत्वपूर्ण हुन्छ। हामीले प्रयोग गर्ने हरेक विद्युतीय (इलेक्ट्रोनिक) उपकरण कोडमा आधारित हुन्छन्। कम्प्युटरको भाषा जटिल जस्तो लागे पनि यसलाई टुक्र्याएर बुझ्दै लगेपछि सजिलो लाग्न थाल्छ। जसले बुझ्न प्रयास नै गर्दैन, उसले मात्रै यसलाई जटिल ठानिरहन्छ।

केही विद्यालयहरूमा अहिले कोडिङ सिकाइन्छ। मोबाइल या ट्याबमा गेम खेलेर बिताउने समय अब गेम नै बनाउन सकिउनेतर्फ लगाउने कि !

अहिले अनलाइन माध्यमबाट कोडिङ सिकाउने धेरै साइटहरू उपलब्ध छन्। तीमध्ये एक हो- सीओडीई (कोड) डट ओआरजी साइट लग इन गरेर बालबालिकालाई कोडिङ सिकाउन सकिन्छ। त्यहाँ प्रशिक्षकका लागि निर्देशिका पनि उपलब्ध छ। जसलाई अनुसरण गर्दै अभिभावकले बालबालिकालाई सिकाउन पनि सक्छन्। बालबालिकाले त्यसैका आधारमा क्रमशःसिक्दै जान्छन्।

यसले उनीहरूलाई कम्प्युटरको भाषाका बारेमा आधारभूत ज्ञान हासिल हुन्छ। ‘ठूलो भएर मात्र कम्प्युटर प्रोगामिङ सिक्ने हो भन्ने संस्कार नै बनिसकेको नेपाली समाजको मान्यतालाई बदल्न मद्दत गर्नेछ,’ डियरवाक एजुकेसन ग्रुपका चिफ एकेडेमिक अफिसर हितेश कार्की भन्छन्। हितेशले डियरवाक स्कुलकै पाँच वर्षमाथिका र आठ वर्षमुनिका बालबालिकालाई कोडिङको अभ्यास गराएर पनि हेरे। त्यो पनि १० सातासम्म।

‘उनीहरूलाई गेम खेलेकै शैलीमा सिकाउँदै लगियो। १० औं सातासम्म उनीहरूले कोडिङ के हो, गेम तथा एप्लिकेसनहरू कसरी बन्छन् भनेर जानेका मात्र होइनन्, त्यसैमा अभ्यस्त पनि हुन थाले,’ उनी भन्छन्। अभिभावकलाई उद्धृत गर्दै उनले सुनाएअनुसार ती बालबालिकामध्ये अधिकांश घरमा पनि ट्याब या ल्यापटपमा अनलाइन प्लेटफर्ममा उपलब्ध हुने अभ्यास गर्छन्।

हरेक अभिभावकले बालबालिकालाई मोबाइल गेम या सामाजिक सञ्जालमाभन्दा कोडिङ सिकाउनेतर्फ केन्द्रित गर्ने कि !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.