भ्रष्टाचार घटाउने कुरा : भालुलाई पुराण
भ्रष्टाचारमा पल्केका बिरालाका समूहलाई बोलाएर तर्साउन त सकिएला तर थेत्तरा भइसकेकालाई तर्साउनुले पनि कुनै परिणाम देलाजस्तो लाग्दैन
आजको युगमा वस्तु, सेवा र सूचनाको प्रवाह विश्वव्यापी भएसँगै भ्रष्टाचारको दुष्परिणाम र यसको नियन्त्रणका विषय पनि सोही स्तरमा पुगेका छन्। यस तथ्यबोधका आधारमा संयुक्त राष्ट्र महासंघले सन् २००३ अक्टोबर ३१ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन गरी डिसेम्बर ९ देखि ११ सम्म मेक्सिकोमा उच्चस्तरीय राजनीतिक हस्ताक्षर सम्मेलन आयोजना गर्यो। सम्मेलन प्रारम्भ भएको पहिलो दिन डिसेम्बर ९ लाई ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउने निर्णयसमेत गर्यो। डिसेम्बर २००५ देखि कार्यान्वयनमा आएको यस महासन्धिलाई नेपालले सन् २०११ मा अनुमोदन गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउँदै आएको छ।
कुनै पनि दिवस त्यसका सरोकारवाला अर्थात् दिवसको विषयले सकारात्मक वा नकारात्मक प्रभाव वा असर पर्ने व्यक्ति, समूह वा संस्थाले मनाउने गर्छन्। जन्म दिवसजस्ता सकारात्मक विषय जसको जन्मले जसलाई सकारात्मक प्रभाव पार्छ उसैले मनाउँछ। त्यसैले कार्लमाक्र्सको जन्मजयन्ती पुँजीवादीहरूले मनाउँदैनन्। कम्युनिस्टहरूले धुमधाम गर्छन्। त्यसैगरी भ्रष्टाचारजस्तो नकारात्मक विषयको दिवस भ्रष्टाचारका लाभकारी वर्गले नमनाई त्यसबाट अक्रान्त हुने, त्यसलाई मन नपराउने र नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पाएकाहरूले मात्र मनाउनुपर्ने हो। तर परिदृश्य त्यस्तो देखिन छाडेको आभास हुन्छ।
उद्देश्य जतिसुकै पवित्र भए पनि जसरी लोकतन्त्र, मानवता, कानुनी शासन, स्वतन्त्रताजस्ता विषय साहुकार समूहले अपहरण गर्दै गएका छन्, त्यसरी नै भ्रष्टाचारविरुद्धको अभियान पनि तिनीहरूकै कब्जामा जाने खतरा बढ्दै गएको छ। हामी सबै प्रत्यक्ष साक्षी छौं कि राष्ट्रिय जीवनका सर्वाधिक महत्वपूर्ण लोकतन्त्र दिवस, संविधान दिवस, मानवाधिकार दिवसहरू सर्वाधिक चासो हुनुपर्ने जनसमूहको सहभागिताविना सत्ताशक्ति, दलाली र जागिरे समूह भेला भएर मनाउने एउटा फेसनजस्तो मात्र भइरहेको छ। त्यहाँ स्वस्फूर्तता र सृजनात्मकताको कुनै सुगन्ध ग्रहण गर्न सकिँदैन। अपितु, कर्मकाण्ड र बाध्यता छताछुल्ल पोखिएको हुन्छ। कतै भ्रष्टाचारबिरुद्धको दिवसको मञ्चन पनि यस्तै भइरहेको त छैन ?
राजकीय गतिविधि नैतिक, पारदर्शी र परिणाममुखी छैनन् भने त्यसमा सहभागिता नजाउने गरिए मात्र पनि दिवसहरूले सार्थकता पाउने थिए भन्ने भयरहित अपेक्षा राख्नु अन्यथा हुने छैन।
केही राजनीतिक पदाधिकारी, पूर्व र वर्तमान उच्च पदस्थ सरकारी अधिकारी, छानिएका सन्चारकर्मी, सेलिब्रेटी, गैरसरकारी संस्था र नागरिक समाजका अगुवा बोलाएर उद्घोषण, आसन ग्रहण, भाषण र त्यो सकिएपछि भोजन ग्रहण गरेर हतार हुनेहरू तत्कालै र नहुनेहरू केही अनौपचारिक खुसामदपछि आआफ्नो बाटो लाग्नु नै भ्रष्टाचारविरुद्धको दिवस मनाउने तरिका हो ? यसो गरेर यस दिवसको उद्देश्य कुन हदसम्म हासिल हुन सक्छ ?
कुनै प्रभावशालीले एकपटक ‘यो निर्वाचन प्रणाली महँगो भयो। यसमा धन र डनले मात्र जित्न सक्छ’ भन्छ र अर्कोपटक उसैले ‘हामी अर्को चुनाव पनि जित्छौं’ भन्छ भने त्यो भन्ने व्यक्ति जनवादी हुन्छ कि पुँजीवादी वा डनवादी ? त्यसैगरी हामी एक ठाउँमा ‘राजनीति, कर्मचारीतन्त्र, गैरसरकारी संस्था आदिमा भ्रष्टाचार व्याप्त छ। यसका लागि नाइकेहरू जिम्मेवार छन्’ भन्छौं र अर्को ठाउँमा तिनै भ्रष्टाचार गर्नु राष्ट्रघात हो भन्ने जान्दाजान्दै त्यसैमा लिप्त हुने निकट आरोपी समूहलाई बोलाई भ्रष्टाचार गर्नु हुँदैन’ भनेर भोजसहितको भालू पुराण लगाउँछौं भने त्यसको मतलब के हुन्छ ? यति बुझ्न सामान्य दिमागले पनि निधार खुच्याउनु पर्दैन। त्यसमाथि विगतमा यस्ता दिवसमा भ्रष्टाचारका ठेकेदारहरूले नै मुख्य भाषण ठोक्ने र दिक्कलाग्दा अर्ती–उपदेश दिने गरेको लाजमर्दो दृष्टान्त हामीसँग छँदैछन्। हामीले यस्ता प्रवृत्तिमा परिवर्तन ल्याउने किन ल्याउने ? नल्याउने हो भने भ्रष्टाचारविरुद्धको राम्रो उद्देश्यलाई ‘ठालु कब्जा’ हुनबाट पशुपतिनाथबाहेक अरू कसैले जोगाउन सक्ने छैन।
यस सन्दर्भमा भ्रष्टाचारविरुद्धको दिवस किन मनाउने भन्ने प्रश्नले कसरी मनाउने भन्ने प्रश्नको पनि उत्तर मुखरित गर्छ। पक्कै पनि भ्रष्टाचारविरुद्धको दिवस मनाउनुका केही कारण छन्। यसमा सबैभन्दा पहिला महासन्धि र यसका प्रावधानप्रति मुलुकको प्रतिबद्धतालाई राजनीतिक इच्छा शक्तिसहित पुनर्पुष्टि गर्नु हो। यसरी पुनर्पुष्टि गर्नु भनेको यिनै शब्दहरू बोलिनु र लेखिनु होइन। अपितु, राजकीय स्रोतसाधनलाई भ्रष्टाचारविरुद्ध केन्द्रित गराएको देखिनु, भ्रष्टाचारविरुद्धका कानुन र संरचनालाई सशक्त बनाउनु, उच्चपदस्थ राजनीतिक र प्रशासनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउनु आदि हुन सक्छन्।
दोस्रो– विगतका कामकारबाहीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरूको संरक्षण तथा संवद्र्धन गर्ने र भावी चुनौतीहरूको पहिचान गर्दै सुधारका कार्ययोजना लागू गर्नु हो। अघिल्लो साल नेपालको भ्रष्टाचार सूचकांक जति थियो यो साल घट्यो कि बढ्यो ? झन्झन् बिग्रँदै जानका लागि दिवस किन मनाउनुपर्यो। हामीले यसबीचमा केके सुधार गर्न सक्यौं ? के गर्न बाँकी छ ? बाँकी काम कसले गर्नुपर्ने हो ? दण्डहीनता निम्त्याउने को हो ? चुनावमा धन र डनको प्रयोग कसले गर्यो ? राजनीतिक दल र त्यसका नेताहरूका खर्चका स्रोत केके हुन् ? यस्ता प्रश्नको हल खोज्नुले मात्र दिवस मनाउनुको औचित्य साबित गर्नेछ।
तेस्रो– भ्रष्टाचारका सम्बन्धमा ज्वलन्त सवालहरू के–के हुन् ? पहिचान गरी त्यसको समाधानतर्फ केन्द्रित हुनु पनि हो। स्थानीय निकायमा भ्रष्टाचार बढ्यो, निर्वाचन प्रणाली भ्रष्टाचारमैत्री भयो, सामाजिक संरचनामा भ्रष्टाचारले प्रवेश गर्यो आदि भन्नुले मात्र अर्थ राख्दैन। यस्ता कुरा सबैभन्दा बढी दिवसमा बोलाइएका अतिथि गणलाई जानकारी हुन्छ। तर हामीलाई चाहिएको महँंगो निर्वाचन प्रणालीको सुधार गर्न के–के गर्नुपर्यो ? स्थानीय निकायमा हुने भ्रष्टाचार रोक्न के–कस्ता कानुन र संरचना चाहियो ? भ्रष्टाचारविरुद्ध रिपोर्टिङ गर्ने साहसिक पत्रकारको संरक्षण कसरी गर्ने भन्ने हो। हामीले चाहेका कुरा कसैले गरिरहेको छैन भने त्यो को हो ? जान्नुपरेको छ।
अन्तिम कारण, उपरोक्त सबै पक्षमा जनसाधारणलाई प्रशिक्षित गराउनुमा दिवसको महत्ता झल्किन्छ। जो भ्रष्टाचारको प्रकोपबाट सवैभन्दा अक्रान्त छन्, तिनीहरू यसलाई दैनिक जीवनचर्या वा नियतिको खेलका रूपमा बुझ्न बाध्य छन्। यस्ता आम जनसाधारणसम्म कोही पुग्न सकेको देखिँदैन। सहरका बन्द हलहरूमा दिवस मनाउनु ती आममानिसका लागि लुतो न कनाउनुसरह हो। भ्रष्टाचारका जुन निर्मम स्वरूप छन्, त्यहीअनुसार निर्मम प्रहार गर्ने हो भने जनसाधारणको अजेय शक्तिलाई जगाउन उनीहरूसमक्ष पुग्न जरुरी छ। जो जहाँ पीडित छन्, त्यहीँ दिवस मनाउन सुरुवात गर्न सकिँदैन ? उदाहरणका लागि मालपोतमा घुसखोरी छ भने मालपोतमै, वैदेशिक रोजगारमा छ भने त्यहीँ जाने र जनतालाई सचेत गराउन किन नसकिने ? वर्षौंसम्म कुनै पुल बनेको छैन भने त्यही पुलका उपभोक्तासमक्ष गएर सो पुल किन र कसका कारणले बनेन भनेर उनीहरूलाई प्रश्न गर्न सक्ने बनाउन किन नसकिने ?
त्यसैगरी भालूलाई पुराण सुनाउनुको साटो निर्बोधहरूसमक्ष भ्रष्टाचारविरुद्धका प्रहसन, नाटक, कार्टुन र झाँकी प्रर्दशन गर्नु वा खेलकुद आयोजना गर्नु धेरै सृजनात्मक र फलदायी हुन सक्छन्। यी त उदाहरणका लागि मात्र भनिएका हुन्। राम्ररी दिमाग लगाउने हो भने अन्य धेरै प्रभावशाली उपाय अवलम्बन हुन सक्छन्।
उद्देश्य हासिल गर्न दिवसहरू मौलिक र सृजनात्मक हुन पनि आवश्यक छ। अन्तर्राष्ट्रिय दिवसहरूका लागि देशसुहाउँदो क्रियाकलाप गर्न अझ आवश्यक हुन्छ। नेपाल र डेनमार्कमा भ्रष्टाचारको अवस्था आकाश–जमिनको फरक भएजस्तै त्यहाँ मनाउने तरिका र हाम्रो तरिकामा फरक ल्याउन सक्नुपर्छ। नेपालमा विद्यमान ज्वलन्त समस्यासँग जुध्न सक्ने गरी कामकारबाही सञ्चालन गरिए मात्र दिवसको औचित्य सावित हुन सक्छ। दिवस मनाउनु भनेको एकदिने वा साप्ताहिक कार्यक्रम गर्नु मात्र होइन। आगामी दिनको संकेत गर्नु पनि हो।
भ्रष्टाचारमा पल्केका बिराला समूहलाई बोलाएर तर्साउन त सकिएला, तर थेत्तरा भइसकेकाहरूलाई तर्साउनुले पनि कुनै परिणाम देलाजस्तो लाग्दैन। तिनीहरूलाई काराबाहीको दायरामा ल्याएर दिवस मनाउनुको मज्जा नै बेग्लै हुन्छ। भ्रष्टाचार सर्वत्र छ भन्ने तर प्रमाण पुग्दैन भन्न कहाँ मिल्छ ? जे छ त्यसको प्रमाण किन भेटिँदैन ? भ्रष्टाचार जताततै छ, तर भ्रष्टाचारी एकाध मात्र छन् भन्न मिल्छ ? खोज्न सक्नु र जान्नु पनि पर्छ। तिनीहरू दिवस मनाउने गरिएको भीडभित्र नै मुस्कुराइरहेका वा शक्तिशालीका वरिपरि हात माडिरहेका हुन्छन्। अन्त्यमा राजकीय गतिविधि नैतिक, पारदर्शी र परिणाममुखी छैनन् भने त्यसमा सहभागिता नजाउने गरिए मात्र पनि दिवसहरूले सार्थकता पाउने थिए भन्ने भयरहित अपेक्षा राख्नु अन्यथा हुने छैन।