प्रसंग तेह्रौं साग : उपलब्धि तर अपर्याप्त

प्रसंग तेह्रौं साग : उपलब्धि तर अपर्याप्त

दुई वर्षपछि पाकिस्तानमा भेट्ने वाचा गर्दै दक्षिण एसियाली खेलकुद (साग) को तेह्रौं संस्करण सकिएको छ। मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको तेह्रौं सागमा नेपालसहित सात राष्ट्रका खेलाडीले १० दिनसम्म आफूलाई उत्कृष्ट सावित गर्न मैदानमा प्रतिस्पर्धा गरे। मंसिर २४ गते दशरथ रंगशालामै रक्षामन्त्रीको समेत भूमिका निर्वाह गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा सागको समापन कार्यक्रम आयोजना गरियो।

नेपाली खेल पदाधिकारीहरू यतिबेला देशलाई ऐतिहासिक सफलता चुमाएको दाबी गरिरहेका छन्। यसअघिका संस्करणको तुलनामा यपटक नेपाली खेलाडीले सर्वाधिक स्वर्ण पदक जितेकाले यस्तो दाबी गरिएको हुन सक्छ। नेपालमा साग आयोजना भएको यो तेस्रोपटक हो।

यसअघि सन् १९८४ सेप्टेम्बर १७ देखि २३ सम्म नेपालमा दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को पहिलो संस्करण आयोजना भएको थियो। त्यतिबेला यो प्रतियोगितालाई साफ भन्ने गरिन्थ्यो। नेपाल साफ खेलकुदको अवधारणाकार पनि हो। पहिलो साफ खेलकुदमा एथलेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारोत्तोलन गरी पाँचवटा खेल मात्र समावेश गरिएको थियो।

पहिलो साफमा कुल ६२ स्वर्ण पदकका लागि दक्षिण एसियाका सात राष्ट्रबीच प्रतिस्पर्धा भएको थियो। नेपाली टोली चार स्वर्ण, १२ रजत र आठ कांस्य पदक जित्दै तालिकामा चौथो भएको थियो। त्यसपछि नेपालले सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म साफ खेलकुदको आठौं संस्करण आयोजना ग¥यो। नेपालले आयोजना गरेको यो दोस्रो साफ खेलकुद थियो।

आठौं साफ खेलकुदमा सात राष्ट्रका खेलाडीले १२ खेलमा एक सय ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। त्यसमा नेपाल ३१ स्वर्ण पदक जित्दै तालिकामा दोस्रो भएको थियो। नेपालले आठौं संस्करणअघि यति धेरै स्वर्ण पदक जित्न सकेको थिएन। बाह्रौं सागसम्म पनि नेपालले आठौं संस्करणमा जितेको स्वर्ण पदकको कीर्तिमान तोड्न सकेको थिएन।

यसपटक तेह्रौं सागमा सात राष्ट्रका खेलाडीले तीन सय १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरे। सन् २००४ मा साफ खेलकुदको नाम परिवर्तन गरेर साग राखिएको थियो। तेह्रौं सागमा २६ खेल समावेश गरिएको थियो। सुरुमा २७ खेल समावेश गर्ने भनिए पनि प्याराग्लाइडिङमा नेपालबाहेक अन्य राष्ट्रले भाग नलिएपछि अन्तिम समयमा आएर उक्त खेल हटाइएको थियो।

५१ स्वर्ण र खेल पदाधिकारीको दाबी
खेलाडी संख्या, पदक संख्या र खेल संख्याका आधारमा तेह्रौं साग हालसम्मकै बृहत् हो। यो संस्करणमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ५१ स्वर्ण पदक जिते। त्यसबाहेक नेपाली खेलाडीले ६० रजत र ९५ कांस्य पदक पनि हात पारे। साग खेलकुदको इतिहासमा एउटै संस्करणमा नेपालले जितेको यो हालसम्मकै सर्वाधिक स्वर्ण पदक हो।

सायद त्यसैले होला, जिम्मेवारी नेपाली खेल पदाधिकारीले पदकीय दृष्टिकोणले तेह्रौं सागलाई ऐतिहासिक उपलब्धि भनेको। गणितीय हिसाबमा यो दाबी सही पनि हो। समग्रमा हेर्दा तेह्रौं सागको सफलतालाई मापन गर्ने यो एउटा सामान्य आधार मात्र हो। कुनै पनि विषयको उपलब्धिलाई मापन गर्ने धेरै मानक हुन्छन्। ती सबैलाई समान स्तरमा राखेर मापन गरिएको नतिजाले मात्र सही र निष्पक्ष नतिजा दिन्छ भन्ने हामीले भुल्नु हुँदैन।

भारत, पाकिस्तान र श्रीलंका, अफगानिस्तानका खेलाडीले आफ्नो स्तर बढाउँदै लगेका छन्। समयमै हाम्रो सचेतता र सक्रियता बढाउनेतर्फ अहिल्यै पाइला चालिएन भने भोलिका दिनमा हामीले सागमा कडा चुनौतीको सामना गर्नुपर्नेछ।

आठौं संस्करणको तुलनामा बढी स्वर्ण पदक जितियो, त्यसैले तेह्रौं साग ऐतिहासिक बन्यो भनेर रमाएर बस्दा हामीले आफ्ना कमजोरी पत्ता पाउन सक्दैनौं। यस्तो मान्यताले आफ्ना कमीकमजोरी पत्ता लगाएर त्यसलाई सुधार्ने, आगामी दिनमा थप सफलता प्राप्त गर्न अझ राम्रो गर्ने प्रयत्नमा कमी ल्याउँछ। त्यसैले तेह्रौं सागको सफलतालाई यथार्थपरक ढंगले धेरै मानकको कसीमा घोटेर सही नतिजा निकाल्न आवश्यक छ।

हो, तेह्रौं सागमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। त्यसैको नतिजा हो- नेपालले एउटै संस्करणमा ५१ स्वर्ण पदक जित्यो। आठौं साफ खेलकुदमा जितको स्वर्ण पदकको कीर्तिमान पनि तोडियो। तर यहाँ विचार गर्नुपर्ने पक्ष के हो भने आठौं साफ खेलकुदमा केवल १२ खेलमा एक सय ६२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

तर, तेह्रौं सागमा २६ खेल समावेश गरिएको छ। यसपटक तीन सय १६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भयो। खेल संख्याको हिसाबले आठौंको भन्दा यसपटक दोब्बरभन्दा बढी खेल समावेश गरिएको छ। यसैगरी आठौंभन्दा यसपटक स्वर्ण संख्या पनि एक सय ५४ बढी छ। त्यसमाथि आठौं र तेह्रौं संस्करणका बीचमा २० वर्षको अन्तर पनि छ।

यस्तोमा यतिखेर हामीले हासिल गरेको सफलता निकै कम हो। यो तथ्यांकले के देखाउँछ भने २० वर्षको अवधिमा हामीले खेलक्षेत्रमा गरेको लगानी पर्याप्त भएन। यसबीचमा खेल क्षेत्रको विकास, खेलाडीको नियमित प्रशिक्षण, उनीहरूको वृत्ति विकासजस्ता विषयमा सरकार वा सम्बन्ध निकायहरू खासै संवेदनशील देखिएनन्। ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखी दीर्घकालीन योजना बनाउन र सोहीअनुरूप आफ्ना खेलाडीलाई तयारी गराउनमा हामी चुक्यौं।

ठूला प्रतियोगिता सुरु हुनुअगाडि खेलाडी बटुल्ने अनि केही समय उनीहरूलाई बन्द प्रशिक्षणमा राखेर सागजस्ता ठूला प्रतियोगितामा उतार्ने परम्परागत शैलीलाई नै हामीले पछ्याउँदै आयौं। प्रतियोगिता सुरु हुनु केही दिनअघि मात्र खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठायौं र वैज्ञानिक प्रशिक्षण पद्धति पछ्याउन सकेनौं। अन्यथा तेह्रौं सागमा हामीले ल्याउने स्वर्ण पदकको संख्या अहिलेभन्दा निकै बढी हुने थियो।

आठौं संस्करणको तुलनामा अहिले केवल २० स्वर्ण बढी जित्यौं। औसतमा प्रत्येक वर्ष एउटा स्वर्णको हिसाबले पदक बढायौं। यस हिसाबले सागमा एक सय स्वर्ण जित्न हामीले अझै ४९ वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ। पक्कै पनि यसलाई अविश्वासिलो र ऐतिहासिक सफलता भनेर रमाउनु उपयुक्त नहोला कि !

विदेशी खेलाडीको स्तर
सागजस्तो क्षेत्रीयस्तरका प्रतियोगिताको उद्देश्य भनेको आफ्ना खेलाडीलाई समान वा आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गराएर खेलाडीका क्षमतामा निखार ल्याउनु पनि हो। यस्ता क्षेत्रीय प्रतियोगितामा पदक जित्नुमात्र उपलब्धि होइन, अन्य राष्ट्रका बलिया खेलाडीसँग आफ्ना खेलाडीलाई खेलाएर उनीहरूको क्षमता र आत्मविश्वास बढाउनु पनि महत्वपूर्ण उपलब्धि हो। आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग खेल्दा खेलाडीको आत्मविश्वास बढ्छ र उनीहरू अझ ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निखारिँदै पनि जान्छन्।

तर, यसपटक अधिकांश खेलमा विदेशी टोलीले आफ्ना बलिया खेलाडी सहभागी गराएनन्। अधिकांश राष्ट्रका राम्रा खेलाडी यतिबेला सन् २०२० को जुलाईमा जापानमा हुने ओलम्पिकको तयारीमा व्यस्त छन्। ओलम्पिक सुरु हुनु ६ महिनाअघि सागजस्तो क्षेत्रीयस्तरको प्रतियोगितामा आफ्ना क्षमतावान् खेलाडी सहभागी गराएर कुनै पनि राष्ट्रले जोखिम मोल्न चाहँदैन। ओलम्पिकको सँघारमा आफ्ना क्षमतावान् खेलाडी घाइते हुनु भनेको निकै ठूलो घाटा हो।

त्यसैले यसपटक सागमा अधिकांश राष्ट्रले आफ्ना राम्रा खेलाडीलाई सहभागी गराएनन्। अझ भारतले त कतिपय खेलमा खेलाडी नै पठाएन। भारतले कराँतेमा खेलाडी पठाएन। तेक्वान्दोमा पनि अन्तिम समयमा आएर दोस्रो दर्जाका खेलाडी सहभागी गरायो। फुटबल र क्रिकेटमा पनि भारत र पाकिस्तान दुवैले भाग लिएनन्। यसअघि सागको आर्चरी खेलमा भारतको दबदबा रहँदै आएको थियो। तर, यसपटक भारतले आर्चरीमा पनि आफ्ना खेलाडी सहभागी गराएन। यो सागमा नेपालले मात्र २६ वटै खेलमा सहभागिता जनायो। भारतले अन्य खेलमा पनि दोस्रो दर्जाका खेलाडी मात्र सहभागी गरायो। यस्तोमा प्रश्न उठ्नु स्वाभाविक हो- तेह्रौं सागमा हामीले कुन स्तरका प्रतिद्वन्द्वीसँग आफ्ना खेलाडीलाई प्रतिस्पर्धा गरायौं !

अफगानिस्तानको अनुपस्थिति
यसपटक सागमा अफगानिस्तानले भाग लिएन। सन् २००४ को इस्लामाबाद सागदेखि सहभागिता जनाउँदै आएको अफगानिस्तानले छोटो समयमै अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रगति लोभलाग्दो छ। लामो समयको अन्तरिक द्वन्द्वबाट पिल्सिएको अफगानिस्तानले पहिलोपटक सागमा सहभागिता जनाउँदा केवल एक स्वर्ण जितेको थियो। त्यसपछि सन् २००६ मा कोलम्बोमा भएको दशौं सागमा अफगानिस्तानले एकैपटक ६ वटा स्वर्ण जित्यो।

यसैगरी सन् २०१० मा ढाकामा भएको एघारौं सागमा अफगानिस्तानले सातवटा स्वर्ण हात पा¥यो। सन् २०१६ मा भएको बाह्रौं सागमा त पदक तालिकामा नेपाललाई समेत उछिन्यो। त्यो सागमा अफगानिस्तानले सात स्वर्ण हात पार्‍यो भने नेपालले तीन स्वर्ण मात्र जित्न सक्यो। यसरी अफगानिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को सफलता हात पार्दै गयो। अर्कातिर नेपालको प्रदर्शन भने जस्ताको त्यस्तै रहन पुग्यो।

यसको एक मात्र कारण थियो- अफगानिस्तान सरकारले खेलकुद क्षेत्रमा गरेको लगानी। अफगान सरकार अन्तर्राष्ट्रिय जगत्मा आफ्नो छवि बदल्न चाहन्थ्यो। युद्ध र द्वन्द्वबाट चिनिएको अफगानिस्तान खेलकुदमा स्तरीय प्रदर्शन गरेर अन्तर्राष्ट्रिय जगत्मा आफ्नो नयाँ परिचय स्थापित गराउन चाहन्थ्यो।

हामीले तेह्रौं सागमा तेक्वान्दोमा १२ र कराँतेमा १० गरी २२ वटा स्वर्ण जित्यौं। जबकि हामीले यी दुवै खेलबाट अझ बढी स्वर्णको आशा गरेका थियौं। खासगरी तेक्वान्दोमा अझ बढी। पछिल्लो समय अफगानिस्तानमा मार्सल आर्टका विश्वस्तरका खेलाडी छन्। सागभन्दा माथिका अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत अफगानिस्तानका खेलाडीले थुप्रै सफलता हात पारेका छन्।

यस्तोमा अफगानिस्तानले तेह्रौं सागमा खेलाडी नपठाउँदा त्यसको फाइदा पनि नेपालले उठाएको छ, खासगरी मार्सल आर्ट विधामा। अर्कातिर मार्सल आर्टमा भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि आफ्नो स्तर बढाउँदै लगेका छन्। यसतर्फ गम्भीर नहुने हो भने निकट भविष्यमै सागमा हामीले कडा चुनौतीको सामना गर्नुपर्ने निश्चित छ।

प्रसंग पूर्वाधारका
सन् १९९९ मा नेपालले आठौं साफ खेलकुद आयोजना गरेको थियो। त्यतिबेला नै चीन सरकारले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र सुविधासम्पन्न पौडी पोखरी, सुटिङ रेन्ज, दशरथ रंगशालामा पहिलोपटक एथलेटिक्स ट्रयाक, राति खेल खेलाउन फ्लड लाइट, डिजिटल स्कोर बोर्डजस्ता पूर्वाधार निर्माण गरिदिएको थियो।

त्यसको २० वर्षपछि तेह्रौं साग हुँदा पनि पुनः तिनै पूर्वाधारलाई जीर्णोद्धार गरेर प्रतियोगिता सञ्चालन गरिएको छ। त्यही सुटिङ रेन्ज, त्यही रंगशाला, त्यही पौडी पोखरी र त्यही एथलेटिक्स ट्रयाकलाई जीर्णोद्धार गरेर काम चलाइयो। सातदोबाटोमा हिटिङ पौडी पोखरी (तातोपानीसहितको) भने नयाँ बन्यो।

सातदोबाटोमा कराँते र तेक्वान्दो हल, कीर्तिपुरको नयाँबजारमा सेमिकभर्डहल जस्ता पूर्वाधार भनेको नियमित प्रक्रियाअन्तर्गत बन्ने कुरा हुन्। जीर्णोद्धारपछि दशरथ रंगशालाको दर्शक क्षमता झनै घटाएर १५ हजारको हाराहारीमा झारिएको छ।

सहरको बीच भागमा रहेको दशरथ रंगशाला अब खेल पारखी नेपाली दर्शकको चाप झेल्न सक्ने अवस्थामा छैन। सागको उद्घाटन र समापन तथा फुटबलमा ओइरिएका दर्शकका चापले पनि त्यो पुष्टि गर्छ। यस्तो स्थितिमा तेह्रौं साग नयाँ भौतिक पूर्वाधार निर्माण गर्ने उपयुक्त अवसर थियो तर यसतर्फ कुनै ध्यान पुर्‍याएको देखिएन।

व्यवस्थापनमा कमजोरी
तेह्रौं साग आयोजनाका क्रममा थुप्रै व्यवस्थापकीय कमजोरी देखियो। सायद हतारमा आयोजना गर्दाको परिणाम हुन सक्छ। सुटिङ खेलाडीका लागि मगाइएको हतियार समयमा आइपुगेन। त्यसैले खेलाडीले विदेशी खेलाडीसँग हतियार सापटी मागेर खेल्नुपर्ने लज्जास्पद अवस्था सृजना भयो। हिटिङ पौडी पोखरी भनिए पनि सहभागी खेलाडीले चिसै पानीमा प्रतिस्पर्धा गर्नुपर्‍यो।

खेल पोसाकमा त्यस्तै बेथिति देखियो- एउटै ट्रयाक सुटको एउटा बाहुला ठूलो र अर्को बाहुला सानो। विदेशी प्रशिक्षकले समेत खेलस्थलको गुणस्तरमा प्रश्न उठाउने अवस्था उत्पन्न भयो। थुप्रै खेलस्थलमा खेलाडी, दर्शक र सञ्चारकर्मीले एउटै स्थानमा बस्नुपर्ने स्थिति पनि आयो। यसले गर्दा खेलाडीको सुरक्षामा समेत ध्यान पुर्‍याएको पाइएन। खेलमा सेटिङ (पहिल्यै पदकको बाँडफाँड) भएको आरोप लगाउँदै विदेशी खेलाडीले पदकसमेत बहिष्कार गरेको पाइयो। समग्रमा यस्ता ठूला प्रतियोगिता आयोजना गर्दा हामीले अझ गम्भीर हुनुपर्ने र व्यवस्थापनमा सुधार ल्याउनुपर्ने देखियो।

बधाइका पात्र हाम्रा खेलाडी
अन्त्यमा, यति हुँदाहुँदै पनि नेपाली खेलाडीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै खेल पदाधिकारीलाई सन्तोषको सास फेर्ने अवसर जुराइदिए। हाम्रा खेलाडीले केही ऐतिहासिक सफलता पनि हात पारे। पौडीमा गौरिका सिंह एक्लैले चारवटा स्वर्ण जितिन्। हालसम्म सागमा यस्तो सफलता कुनै नेपाली खेलाडीले हात पारेको थिएन। भारोत्तोलनमा सञ्जु चौधरी र कुस्तीमा संगीता धामीले आआफ्नो स्पर्धामा पहिलोपटक सागमा स्वर्ण जिते। कराँतेमा मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोमा आयषा शाक्यले पहिलोपटक दुई÷दुई स्वर्ण हात पारे।

एथलेटिक्समा सन्तोषी श्रेष्ठ, गोपिचन्द पार्की, किरणसिंह बोगटी र पुष्पा भण्डारीले सागमा ऐतिहासिक स्वर्ण चुमे। ट्रायथलनमा सोनी गुरुङ, क्रिकेटमा अञ्जली चन्द, गल्फमा सुवास तामाङ, फुटबलमा सावित्रा भण्डारी, उसुमा निमा घर्तीमगर, साइक्लिङमा निश्मा श्रेष्ठ र राजेश मगर तथा बक्सिङमा मिनु गुरुङ, भूपेन्द्र थापामगर र सनिल शाहीजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शनसँग ऐतिहासिक सफलता हात पारेर देशको गौरव बढाए। महिला कबड्डी, बास्केटबल, ह्यान्डबलजस्ता टिम गेममा पनि महत्वपूर्ण सफलता प्राप्त भयो। पक्कै पनि बधाईका पात्र हुन्, हाम्रा खेलाडी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.