हरिवंश आचार्यलाई ‘अन्‍नपूर्ण सेलिब्रिटी’सम्मान

हरिवंश आचार्यलाई ‘अन्‍नपूर्ण सेलिब्रिटी’सम्मान

 काठमाडौं : ‘हास्यव्यंग्य पनि पेसा हुन्छ र ? मैले कहिल्यै सोचेको थिइनँ। यसलाई नै आफ्नो पेसा बनाउँछु भन्ने त झन् कल्पनै गरेको थिइनँ। तर, मलाई साथीहरूले जहिले पनि यसले त लास्टै हँसाउँछ भनेर हँसाउन आग्रह गर्थे। म पनि जानी नजानी हँसाइदिन्थेँ। म सानोमा एकदमै चञ्चले स्वभावको थिएँ। फिल्म भनेपछि झन् केही नचाहिने। जसरी हुन्छ हलमा रिलिजको जुनसुकै फिल्मको पहिलो सो हेर्ने मेरो उद्देश्य हुन्थ्यो।’

नेपाली हास्यव्यंग्य क्षेत्रका हस्ती हरिवंश आचार्यले ठट्यौली पारामा कार्यक्रममा उपस्थित सबैलाई हँसाउँदै ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रिटी’का रूपमा आफू सम्मानित हुँदै गर्दा आफ्नो बारेमा सुनाएको छोटो अंश हो यो।

उनले आफूले हेरेको फिल्मका कथा सुनाउँदा बिर्सेको ठाउँमा आफैं संवाद बनाएर सुनाइदिन्थे। पछि आफैं लेख्दै अभिनय गर्न थाले, जुन काम अहिलेसम्म निरन्तर चलिरहेको छ। अन्ततः यही हास्य क्षेत्र नै उनको पेसा बन्यो।

आचार्यले अन्नपूर्ण रेडियोले एक महिनादेखि आफूलाई सहकार्य गर्ने मौका दिएकोमा आभार प्रकट गरे। रेडियो अन्नपूर्ण नेपालद्वारा पकनाजोलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा आयोजित ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रिटी’ कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो। आचार्य विगत एक महिनादेखि रेडियो अन्नपूर्ण नेपालमा सेलिब्रिटीका रूपमा रहेका थिए। रेडियोका म्यानेजर ठाकुर बेलबासेले नेपाली साहित्य, कला, संस्कृति जोगाउन र समाजसेवामा विशद योगदान पुर्‍याएकाले आचार्यलाई सम्मान गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा आचार्यकै जोडी मदनकृष्ण श्रेष्ठ उपस्थित थिए। उनले नै आचार्यलाई सम्मानपत्र प्रदान गरेका थिए। सहकर्मी आचार्यलाई आफ्नै हातबाट सम्मान गर्न पाएकोमा उनले खुसी व्यक्त गरे। श्रेष्ठले समाजमा शान्ति र समानता कायम हुन लोकतन्त्र आवश्यक रहेको बताए। उनले भने, ‘मह जोडी जहिले पनि डेमोक्रेसीका लागि लडिरहेको छ। यसले नै समाजलाई सही बाटोमा लैजान्छ। त्यसैले हामी सधैं यसकै लागि लडिरहेका छौं।’ उनले आफूहरूबीचको मित्रता अहिलेसम्म पनि जस्ताको तस्तै रहनुको कारण इमानदारी भएको बताए। उनले भने, ‘हामीबीचमा मित्रता रहिरहनुको एक मात्र कारण इमानदारी नै हो। ‘मह’ सदाका लागि रहिरहनेछ भन्ने विश्वास पनि दिलाउन चाहन्छु।’

‘हामीहरूले समाजमा राम्रो काम कसरी गर्ने भनेर उहाँहरूको जीवनबाट उत्प्रेरणा लिनु आवश्यक छ’, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित गायिका तथा समाजसेवी आनीछोइङ डोल्माले भनिन्, ‘उहाँजस्तो व्यक्तित्वलाई अन्नपूर्णले सम्मान गरेर सराहनीय काम गरेको छ।’ उनी आफू स्वयं पनि उहाँहरूकै प्रेरणाबाट समाजसेवामा लागेको बताइन्।

त्यसैगरी नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले राष्ट्रको समग्र विकासका लागि आचार्यजस्तो सर्जक, उत्प्रेरक तथा समाजमा अतुलनीय योगदान पुर्‍याएका सेलिब्रिटीलाई सम्मान गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे। उनले भने ‘कला, साहित्य, मनोरञ्जनका क्षेत्रमा सहयोग गर्न नेपाल बैंक सदा तत्पर छ।’

कार्यक्रममा अन्नपूर्ण मिडिया ग्रुपका निर्देशक सचन थापा, अन्नपूर्ण पोस्ट्का सीईओ मानस घिमिरे, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापालगायतको उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.