चितवन मेडिकल कलेजले शुल्क समायोजन गर्ने
काठमाडौं : विद्यार्थीबाट एमबीबीएस र बीडीएस अध्ययनको क्रममा लिएको अतिरिक्त शुल्क चितवन मेडिकल कलेजले समायोजन गर्ने भएको छ। कलेजले शनिबार सार्वजनिक सूचना जारी गरेर मंसिर १० गते मन्त्रालय र कलेज सञ्चालनबीच भएको सम्झौता अनुसार नै शुल्क समायोजन गर्न प्रतिवद्ध रहेको जनाएको छ।
कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले शैक्षिक वर्ष ७४।७५ र ७५।७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क विद्यार्थीको बाँकी पढाइको शुल्कमा समायोजन गर्ने शैक्षिक वर्ष २०७२।७३ र ७३।७४ को शुल्क समायोजन गर्ने सम्बन्धमा भने चिकित्सा शिक्षा आयोगबाट अध्ययन भएपछि आउने प्रतिवेदन अनुसार फिर्ता गर्न आफूहरु प्रतिवद्ध भएको बताए।
उनका अनुसार शैक्षिक वर्ष ७४।७५ र ७५।७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कमध्ये समायोजन गर्दा प्रति विद्यार्थी एक लाख रुपैंयाँ पर्नेछ। विद्यार्थीबाट लिएको शुल्कमध्ये परीक्षा, रजिष्ट्रेसन, नेपाल मेडिकल काउन्सिल र संस्थागत शुल्क कटौती गरेर बाँकी रकम समायोजन हुनेछ।