सन्ततिको इच्छा, अभिभावकको भूमिका
एकपटक भक्तपुरबाट रत्नपार्क जाँदै थिएँ, कक्षा १२ को नतिजा सार्वजनिक भएको रहेछ। सँगैको सिटमा उमेरको हिसाबले ४५ को जस्तो देखिने एकजना पुरुषको फोन बज्यो। उनको फोनमा अरूले बोलेको कुरा मैले पनि सुनिरहेकी थिएँ, ‘लौन दाइ, म त बर्बाद भएँ। सकिएँ। के गर्ने होला ? छोरालाई पाटन अस्पतालमा राखेको छु। दाइ आउनुभयो भने सजिलो हुन्थ्यो। दाइको साथ चाहियो।’
ती दाइले सोधे– तपाईंहरूले बाबुलाई पढाइमा यहीं पढ भन्नुभयो कि ? उताबाट जवाफ आयो– भन्नचाहिँ मैले घरको इज्जत पनि हेर, डाक्टर पढ भनेको थिएँ। उसले पढ्न सक्तिनँ भनेको थियो। त्यति कुराले छोराको मानसिकतामा असर परेको रहेछ।
मैले ती दाइलाई सोधें– के भएको रहेछ ? उनले भने– उनी मेरा साथी हुन्। आर्मीको मेजर हुन्। उनले छोरालाई कक्षा १२ सम्म वीरेन्द्र सैनिक स्कुलमा पढाएपछि अब डाक्टर पढ्नुपर्छ भनेका रहेछन्। तर छोराले मानेनछ। त्यही पढ्नुपर्छ भनेपछि छोराको त्यो हालत भएको रहेछ।
ती दाइले अर्का साथीको त्यस्तै घटनाबारेमा मसँग बताए– साथीले छोरालाई अध्ययनका लागि अमेरिका पठाएछ। तर छोरोचाहिँ त्यहाँको रहनसहनसँग घुलमिल भएर अध्ययन गर्न सकेनछ र दुई महिनामै घर फर्किएछ। बाउको व्यवहारका कारण छोराको मानसिक सन्तुलन बग्रिएछ। एकातिर ऋण त थियो नै, अर्कातिर छोरा गुमाएसमान भयो। उसको घरायसी अवस्था लथालिंग हुन पुग्यो।
यी प्रतिनिधि घटना मात्र हुन्। हिजोआज राजधानी र अन्य क्षेत्रमा यस्ता थुप्रै घटना भएका छन्। फोलानाका छोरा अस्टे«लिया गयो। फलानाको बाउ जापान, अमेरिका, जर्मन आदि मुलुक गयो, यति कमायो भनेर आफ्ना छोराछोरीसामु भनेको सुनिन्छ। कोही पनि अभिभावक आफ्ना सन्तति बिग्रियून् भन्ठान्दैन। राम्रै गरोस् भनेर यसरी पढ यो विषय पढ भन्ने गर्छन्। कतिपय अभिभावक अर्काको देखासिखी तोड्नका लागि आफ्ना सन्ततिलाई दबाब दिने गर्छन्।
कुनै पनि बालबालिका आफ्नो क्षमताले भ्याएसम्म र आफ्नो रुचिअनुसार अध्ययन गर्न खोज्छन् तर अधिकांश सम्पन्न परिवारका अभिभावक कस्ता देखिन्छन् भने आफूहरूले भनेको विषयमै सन्ततिले अध्ययन गरून्। तर मध्यम वर्गीय परिवारमा त्यस्तो देखिँदैन। १२ पढेपछि आफ्नो रुचिअनुसारको अध्ययन मात्र गर्दैन, काम गर्दै गरेको पनि देखिन्छ। हिजोआज त अभिभावकको उद्देश्य नै यही देखिन्छ कि पढ्नका लागि बाहिर पठाउने। उनीहरू आफ्ना बालबालिकाको सोचाइ के छ ? उसको क्षमता र रुचि केमा छ, त्यतातिर कहिल्यै ध्यान दिएको दखिँदैन।
अध्ययन भनेको न त बाउआमाका लागि हो न त अरूका लागि नै। अध्ययन भनेको नितान्त आफ्ना लागि। जब बालबालिकालाई रुचिअनुसारको अध्ययन गर्नबाट वञ्चित गराइन्छ, तब उसले अध्ययन गर्नै सक्तैन। मैले हिटलर कसरी भएछन् भनेर एउटा किताब पढेकी थिएँ। त्ससमा लेखिएको थियो– बच्चामा हिटलर पनि शान्त स्वभावका थिए रे। तर उनका अभिभावकले उनको रुचिअनुसार अध्ययन गर्नबाट वञ्चित गरेपछि उनी हिटलर भएका रहेछन्।
हाम्रो देशमा के छ भने डाक्टर, इन्जिनियर र प्राविधिक अध्ययनलाई मात्र मान्यता दिएको पाइन्छ। त्यसभन्दा बाँकी त कदम गरिबले पढ्नै नसक्नेले मात्र शिक्षाशास्त्र, सामाजिकशास्त्र अध्ययन गर्ने हो भन्ने सोचाइ भएकाले प्रोयोगात्मकभन्दा अरू त अध्ययन नै होइन भन्ने होडबाजी दिनप्रतिदिन बढ्दै छ। ज्ञानको सागर मानिने शिक्षालाई व्यापारिक रूप दिँदै गइएको छ। शिक्षामा जति लगानी गरिएको छ, त्यसअनुसार कमाइ पनि हुनुपर्छ भन्ने अभिभावकको संकीर्ण सोचाइ छ। ज्ञान सिक्नु, जान्नुभन्दा पनि लगानीअनुसारको प्रतिफल निकाल्ने प्रवृत्ति बढ्दो छ। अध्ययन गरेर धेरै पैसा कमाउनु मात्र सफलता हाइन। शिक्षा ज्ञान प्राप्त गर्ने कुरा हो। जबसम्म अध्ययन आफ्ना लागि हो अरूका लागि होइन।
अभिभावकले सन्ततिप्रति कत्तिको सहज भूमिका निर्वाह गरेका छन् भन्ने कुरा सन्ततिको इच्छाअनुसारको सफलतामा निर्भर रहन्छ। तसर्थ अभिभावकले छोराछोरीलाई आफूले भनेको बाटोमा हिँडाउनु होइन, उनीहरूको इच्छा वा रोजाइ केके छन्, त्यसमा सहज वातावरण बनाइदिनुपर्छ, त्यसमा मात्र उनीहरूले उच्च सफलता प्राप्त गर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !