टोनी बनिन् विश्वसुन्दरी, अनुष्कालाई दुई अवार्ड

टोनी बनिन् विश्वसुन्दरी, अनुष्कालाई दुई अवार्ड

लन्डन : यस वर्षको विश्वसुन्दरी प्रतियोगिताको ताज जमाइकाकी २३ वर्षीया टोनी आन सिंहले जितेकी छन्। शनिबार लन्डनको एक्सेलमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा उनी ६९ औं विश्वसुन्दरी घोषित भइन्।

एक सयभन्दा बढी देशका सुन्दरीबीचको प्रतिस्पर्धामा फ्रान्सकी ओपेली मेजिनो र भारतकी सुमन राओ क्रमशः पहिलो तथा दोस्रो रनर अप बन्न सफल भए।

महादेशस्तरमा एसियामा भारतकी सुमन राओ, अफ्रिकामा नाइजेरियाकी नेइकाची डगलास, अमेरिकामा ब्राजिलकी एलिस कोएल्हो, क्यारेबियनमा ट्रिनिडाड एन्ड टोबागोकी जोइलिन कनवे, युरोपमा फ्रान्सकी ओपेली मेजिनो र ओसेनियामा कुक आइल्यान्ड्सकी ताजिया साहय विजेता घोषित भए।

नेपालको प्रतिनिधित्व गर्दै सहभागी अनुष्का श्रेष्ठ करिब एक सय प्रतियोगीलाई उछिन्दै शीर्ष १२ सम्म पुगिन्। फाइनलका लागि अन्तिम पाँचमा पर्न असफल उनले प्रतियोगिताको महŒवपूर्ण ब्युटी विथ परपोज अवार्ड हात पारिन्। यसअघि अनुष्काले यस वर्षको मल्टिमिडिया अवार्ड पनि जितेकी थिइन्।

संसारभरबाट लन्डनमा जम्मा भएका सुन्दरीबीच केही साता अघिदेखि नै विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको थियो जसअन्तर्गत हेड टु हेड, ट्यालेन्ट, मल्टिमिडिया, ब्युटी विथ प्रपोज, टप मोडल, स्पोटर््सलगायतका विधामा उत्कृष्ट हुनेहरूसहित शीर्ष ४० छनोट भएका थिए। उनीहरूमध्येबाट सेमिफाइनलका लागि १२ प्रतियोगी छानिएका थिए भने फाइनलका लागि शीर्ष पाँच चयन गरिएको थियो।

फाइनल राउन्डमा जमाइका, फ्रान्स र भारतसँगै नाइजेरिया र ब्राजिलका प्रतियोगी पुगेका थिए। उनीहरूलाई अन्तिम परीक्षास्वरूप प्रतियोगिताका निर्णायकमध्येका एक चर्चित टेलिभिजन होस्ट पियर्स मोर्गनले पालैपालो प्रश्न सोधेका थिए।

तिम्रो लागि जीवनमा सबैभन्दा प्रेरणादायी महिला को हुन् ? भन्ने प्रश्नमा प्रतियोगिताकी विजेता टोनीले भनेकी थिइन्, मेरी आमा। मेरा आमाबाबु जरा हुन् र म त्यसमा अडिएको वृक्ष। म त केबल उनीहरूको मेहनतमा लागेको फल मात्र हुँ। मैले देखेको छु कि मेरी आमाले मेरो लागि आफ्ना हरेक चाहना त्याग गरेकी छन्। जसको कारण म आज यहाँसम्म आउन सकेकी छु।

विश्व सुन्दरीको ताज विजेता टोनीले आफ्नो सुमधर गायनमार्फत प्रतियोगिताको ट्यालेन्ट राउन्डसमेत जितेकी थिइन्। फिनालेमा विजेताको घोषणा हुनु ठीकअघि उनले प्रत्यक्ष गीत प्रस्तुत गर्दै सबैलाई प्रभावित गरेकी थिइन्।

विश्व सुन्दरीको ताज पहिरिएपछि टोनीले आफूमाथि सबैले राखेको विश्वासको लागि धन्यवाद दिँदै इमानदारितापूर्वक आफ्नो कर्तव्य निभाउने प्रतिबद्धता गरिन्। उनले विश्व सुन्दरी प्रतियोगिताको स्टेज सुन्दरताका लागि मात्र नभएर ब्युटी विथ परपोजका लागि हो भनेर आफूले बुझेको सुनाइन्।

मेरो सफलतामा सन्तुष्ट छु : अनुष्का

प्रतियोगितापछि मिस नेपाल अनुष्का श्रेष्ठले आफूले हासिल गरेको उपलब्धिमा सन्तोष व्यक्त गरेकी छन्। प्रतियोगिताको समापनलगत्तै अन्नपूर्णसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘म एकदमै खुसी छु। जे योजना बनाएकी थिएँ, त्यो सफल भयो भन्ने लाग्छ। आज मिस वल्र्डको स्टेजमा नेपालको झन्डा फहराउन सकेँ भनेर गौरव लागेको छ।’

गत वर्षकी प्रतियोगी शृंंखला खतिवडाले जस्तै मल्टिमिडिया र ब्युटी विथ परपोज दुवै विधा जितेकी अनुष्काले प्रतियोगिताका दुई महŒवपूर्ण अवार्ड जितेर घर फर्किन लाग्दा उत्साहित रहेको बताइन्।

मिस वल्र्डको स्टजेमा प्राप्त सफलताले नेपालमा फर्केर अझै बढी ऊर्जासहित काम गर्ने हौसला मिलेको उनको भनाइ थियो। दर्शकदीर्घामा नेपाली शुभेच्छुक र नेपालको राष्ट्रिय झन्डा देख्दा आफ्नो आत्मविश्वास झन् बढेको अनुभव उनले सुनाइन्।प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा आफ्नो समूहको विजेता हुँदै शीर्ष ४० मा स्थान बनाएकी थिइन् अनुष्काले। दर्शकको अनलाइन भोटिङ र समाजिक सञ्जालमा सक्रियताको आधारमा उनले मल्टिमिडिया अवार्ड जितेकी थिइन्। त्यस्तै, नेपालका ग्रामीण क्षेत्रमा बालिकाको गुणात्मक शिक्षा तथा आमाहरूको आर्थिक स्तरोन्नतिमार्फत दिगो विकासको लक्ष्य राखिएको पाइलट प्रोजेक्टले उनलाई ब्युटी विथ परपोजको उपाधि दिलाएको थियो।

फिनालेमा नेपालको ग्रामीण भेगका महिलाले हातले बुनेको नेपाली ढाकाको आकर्षक पहिरनमा सजिएर स्टेजमा उत्रिएकी थिइन् अनुष्का। उनको समर्थनका लागि प्रतियोगिताको फाइनल हेर्न उनका आमाबाबुका साथै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङसहित बेलायतवासी दर्जनौं नेपाली पुगेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.