प्रदेश ५ को नाम लुम्बिनी !
बुटवल : प्रदेश ५ को नामाकरण र राजधानी निर्धारण गर्न सुझाव दिन गठित विशेष समितिले अपूर्ण प्रतिवेदन बुझाएको छ। समितिका सभापति दीपेन्द्रकुमार पुनले सोमबार प्रदेशसभा सचिवालयमा प्रतिवेदन बुझाएका हुन्। ०७५ साउनमा गठन भएको समितिले म्याद सकिने दिन प्रतिवेदन बुझाएको हो। तर प्रतिवेदन पूर्ण छैन। म्याद थप्दा आलोचना हुने भएपछि अपूर्ण प्रतिवेदन सचिवालयमा दर्ता भएको हो।
समिति सभापति पुनले प्रतिवेदन सचिवालयमा बुझाए पनि अन्य सदस्यलाई पत्तो छैन। समिति सदस्य निर्मला क्षेत्रीले आफूलाई प्रतिवेदन बुझाएको विषयमा जानकारी नभएको बताइन्। ‘मलाई थाहा छैन। सभापतिलाई जानकारी होला’, उनले भनिन्। समितिको आइतबार बसेको बैठकमा प्रतिवेदनका विषयमा खास छलफल भएन।
समितिका एकाध सदस्यले आफ्नो अनुकुल हुने गरी राजधानी र नाम तय भएको दावी गरेका छन्। ती सदस्यले प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी रुपन्देहीको सैनामैना क्षेत्र, कपिलवस्तुको वाणगंगा क्षेत्र र दाङको भालुवाङ क्षेत्र तोकेको जानकारी दिए।
समितिले अपूर्ण प्रतिवेदनलाई हिउँदे अधिवेशन शुरु हुँदासम्म पूर्णता दिने जनाएको छ। विशेष समिति अनुभव लिन भन्दै मंसिर २१ मा भारतको चन्ढीगढ पुगेको थियो। भारत भ्रमणबाट फर्किएपछि पहिलो बैठकले प्रतिवेदन बुझाउने अधिकार सभापतिलाई दिएको थियो।
विशेष समितिको आइतबार बसेको बैठक। अन्नपूर्ण
सभापति पुनले जनताले दिएको सुझावका आधारमा स्थान तोकिने बताए। यसअघि जिल्ला भ्रमणपछि समितिले विभिन्न छ स्थानसहितको प्रारम्भिक प्रतिवेदन बनाएको थियो। त्यो रायका आधारमा विज्ञ समिति बनाएर छलफल गरिएको थियो। जनताको सुझाव प्रतिवेदनमा बुटवल, कपिलवस्तु वा दाङ राजधानी हुनुपर्नेमा धेरै मत थियो। समितिले विभिन्न शिर्षकमा अहिलेसम्म करिव ५० लाख खर्च गरेको छ। तीन पटक म्याद थप्दा समेत प्रतिवेदन बुझाउन नसकेको भन्दै आलोचना भइरहेका बेला समितिले अपूर्ण प्रतिवेदन तयार पारेको हो। प्रदेश सभामुख पूर्णबहादुर घर्तीले प्रतिवेदन संसद्मा दर्ता भएको बताए। ‘प्रतिवेदन संसद्मा दर्ता भएको छ। सम्भवत आगामी अधिवेशनमै यसले प्रवेश पाउनेछ’, उनले भने।
मुख्यमन्त्री शंकर पोखरेलले केही समयअघि रुकुमपूर्वमा आयोजित औपचारिक कार्यक्रममा मसिरभित्र प्रदेशको नाम र राजधानी तोकिने बताएका थिए। संसद् बैठक अहिले स्थगित छ। पुसको दोस्रो सातादेखि हिउँदे अधिवेशन शुरु गर्ने तयारी भइरहेको छ। बैठक बस्दासम्म समितिले पूर्ण प्रतिवेदन बुझाउने र त्यसकै आधारमा संसद्मा छलफल अघि बढ्ने जनाइएको छ।
प्रदेश ५ को राजधानीका लागि बुटवल र दाङको विषय पेचिलो बन्दै गएको छ। प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा लगभग सहमति देखिएको छ। ८६ सदस्यीय संसद्मा कुनै क्षेत्रका लागि स्पष्ट मत छैन। नाम र राजधानी चयन गर्न दुईतिहाईले पारित गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !