त्रिवि दीक्षान्तमा १४ प्रतिशत सहभागी
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १४ प्रतिशत विद्यार्थी मात्र सहभागी भएका छन्। गत वर्ष स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका ७० हजार ७७ जना दीक्षान्तका लागि योग्य भएका थिए। तीमध्ये १० हजार १ सय ८३ जनाले मात्र दीक्षान्तको फारम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। पहिलो पटक अनलाइनबाट फारम भर्ने व्यवस्था गरिएको थियो।
अनलाइन सुविधाका कारण गत वर्षको तुलनामा भने विद्यार्थी बढेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। गत वर्षको दीक्षान्तमा पनि ७४ हजार विद्यार्थी योग्य भएका थिए। तीमध्ये १० प्रतिशत मात्रै सहभागी भएका थिए।
यसपटक फारम भरेका पनि दीक्षित हुन सबै जना आएनन्। दीक्षान्त समारोह बिहीबार पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा आयोजना गरिएको थियो। त्यहाँ त्रिविले १७ हजार कुर्सी राखेको थियो। पनिकाका अनुसार प्रतिकुर्सी ३६ रुपैयाँ भाडामा ल्याइएको थियो।
विद्यार्थी थोरैले मात्र अभिभभावक तथा आफन्तलाई साथमा ल्याएका थिए। परीक्षा नियन्त्रक जोशीका अनुसार धेरै परीक्षार्थी भएका कारण व्यवस्थापनमा कठिनाइ हुने गरेको छ। व्यवस्थापन चुस्त नहुँदा विद्यार्थीले पनि दीक्षान्तमा सहभागी हुन रुचि नदेखाएको त्रिवि पदाधिकारीको बुझाइ छ। थोरै विद्यार्थी भएका विश्वविद्यालयमा हरेकलाई प्रमुख अतिथिले हातमै दीक्षान्तको प्रमाणपत्र थमाउँछन्। त्रिविमा भने यस्तो सम्भव छैन।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको शिक्षा स्तरीय नभएकोमा दुखेसो पोखे। ‘यहाँबाट उत्पादित विद्यार्थीले प्रमाणपत्र त पाउँछन् तर सीप सिक्दैनन् भन्ने गुनासो छ’, विश्वविद्यालयका सहकुलपति मन्त्री पोखरेलले भने, ‘पढाइमा सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्छ। अब परम्परागत शैलीको पढाइले काम गर्दैन।’
उपकुलपति धर्मकान्त बाँस्कोटाले बजेट अभावमा त्रिविको शैक्षिक, भौतिक तथा प्रशासनिक कामलाई चुस्त बनाउन नसकिएको बताए। स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायमा उत्कृष्ट भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा. डा. मोहम्मद अख्तारुज्मान प्रमुख अतिथि थिए।