जगमगाउँदो ट्रीसँगै क्रिसमसको रमझम (भिडियाे)

जगमगाउँदो ट्रीसँगै क्रिसमसको रमझम (भिडियाे)

राजधानीमा क्रिसमसको रौनक छाएको छ। विभिन्न स्थानमा यस पर्वको व्यापक तयारी देख्न सकिन्छ। क्रिसमस ट्री, सान्टा क्लज, स्टारलगायत सजावटका सामानले शहर झलमलाएको छ। 

काठमाडौँ, ठमेलस्थित छाया कम्प्लेक्सको भुइँतलामा क्रिसमसका लागि १० फिटभन्दा ठूलो क्रिसमस ट्री राखिएको छ। रूखलाई बत्ती, स्नोबेल, स्नोबल, रंगिन तारा लगायतले सजाइएको छ। इलेक्ट्रोनिक गिफ्ट बक्स पनि त्यहाँ राखिएका छन्। क्रिसमस ट्रीनजिक फोटो खिचाउनेको घुइँचो छ। क्रिसमससँगै अंगे्रजी नयाँ वर्ष २०२० का लागि सजावट गरिएको छाया कम्प्लेक्सकी मार्केटिङ म्यानेजर कविता रिसाल बताउँछिन्। ‘यहाँको सजावट सबैले रुचाएका छन्,’ उनी भन्छिन्, ‘फोटो खिचाउनै भए पनि धेरै मान्छे यहाँ आउने गरेका छन्।’ क्रिसमस ट्री चीनबाट ल्याइएको कविता बताउँछिन्। ‘यो क्रिमसट ट्री चाइनाबाट ल्याएका हौँ,’ उनी भन्छिन्, ‘इलेक्ट्रोनिक्स बक्स भने छायाकै एक जना भाइले बनाउनुभएको हो।’ क्रिसमसको अवसरमा छाया सेन्टरले मोबाइल गेम पब्जीको प्रतिस्पर्धा आयोजना गर्दै छ। 

डिस्काउन्ट अफर 

न्युरोड, ठमेल, दरबारमार्गलगायत विभिन्न स्थानमा रहेका विभिन्न सपिङ मल र पसलमा अंग्रेजी नयाँ वर्षका लागि विशेष छुट अफर राखिएका छन्। डिस्काउन्ट अफर राखिएका पसलमा जाडोको सामान किन्ने ग्राहकको घुइँचो देखिन्छ। चाडपर्वमा डिस्काउन्ट अफर राख्दा ग्राहक धेरै आउने काठमाडौँ, ठमेल, नरसिंहचोकका पस्मिना व्यापारी अमित ठाकुर बताउँछन्। ‘क्रिसमसमा गिफ्ट साटासाट गर्ने भएकोले सामान किन्न थुप्रै मानिस आउँछन्,’ उनी सुनाउँछन्, ‘त्यसैले चाडपर्वमा सीमित अवधिका लागि हामीले सबै खाले सामानमा १५ देखि ५० प्रतिशतसम्म छुट राखेका छौँ। यस्तो अफर हरेक वर्ष राख्दै आएका छौँ।’ आफ्नो पसलबाट पस्मिनाको सल र जाडोका सामान बढी बिक्री हुने गरेको उनी बताउँछन्। ‘अरू बेलाभन्दा चाडवर्पमा सामान सस्तोमा पाउँदा विदेशीहरूले पनि टन्नै किन्ने गरेका छन्,’ उनी भन्छन्। 

उपहार र सजावट

काठमाडौँ, सुन्धारास्थित सिभिल मलमा पनि क्रिसमस ट्री, सान्टा क्लज, रिङ बेल लगायतको सजावट भव्य देखिन्छ। अधिकांंश पसलमा ‘मेरी क्रिसमस’, ‘डिस्काउन्ट अफर’ लेखिएका ब्यानर टाँसिएका छन्। गिफ्ट पसलमा बालबालिका र युवायुवतीको भीड छ। क्रिसमसमा सजावट र उपहार किन्नेको भीड लाग्ने गरेको सिभिल मलका सुपरभाइजर तथा ‘टोय सप’का राजेश आचार्य बताउँछन्। ‘दशैँ–तिहारताकाजस्तै सपिङ गर्ने, फिल्म हेर्ने, गेम खेल्नेहरू थुप्रै आउँछन्,’ उनी भन्छन्। सजावटका सामान सस्तादेखि महँगासम्म भएका उनी बताउँछन्। भन्छन, ‘सस्तोमा दुई सय रुपैयाँ र महँगोमा ५० हजार रुपैयाँ मूल्यसम्मका सामान राखेका छौँ।’ टोय सपमा राखिएका सजावट र उपहारका सामानमा स्ट्यान्ड ल्याम्पको मूल्य १६ हजार ५ सय, ब्यानर पाँच सय, म्युजिकल सान्टा ४० हजार रुपैयाँ र क्रिसमस ट्री दुई सयदेखि ३५ हजार रुपैयाँसम्म पर्ने छन्। गिफ्ट बक्सको पाँच हजार, क्रिसमस टावरको ११ हजार ५ सय, विन्ड मिल हाउसको ३५ हजार ९ सय रुपैयाँ पर्छ। 

क्रिसमस इभमा कार्यक्रम

‘क्रिसमस इभ’ मा काठमाडौँका विभिन्न ठाउँमा सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिँदै छन्। आस्ट्रेक पार्कमा नेपालकै सबैभन्दा ठूलो क्रिसमस ट्री राखिएको छ। त्यहाँ पनि म्युजिक र डान्स कार्यक्रम आयोजना गरिनेछ। टर्टल, फरेनहाइट, एलओडीलगायत विभिन्न क्लबमा समेत कार्यक्रम आयोजना गरिने त्यहाँका इभेन्ट म्यानेजर बताउँछन्। त्यति मात्र नभई अन्य स्थानमा पनि लाइभ म्युजिक, डान्स, फुड फेस्टिभललगायत कार्यक्रम आयोजना गरिनेछन्। स्वदेशी÷विदेशी मानिस यी कार्यक्रममा रमाउने रेस्टुरेन्ट व्यवसायीहरूको अपेक्षा छ। 

हरेक वर्ष ललितपुर, जावलाखेलस्थित क्रसवे कम्युनिटी चर्चमा क्रिसमसको अघिल्लो दिनदेखि नै विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन्। सुनीललाल श्रेष्ठका अनुसार उपत्यकामा बस्ने सबै क्रिस्चियनहरू त्यहाँ गएर धुमधामले क्रिसमस मनाउँछन्। 

क्रिसमसको रमझम 

काठमाडौँ, कोटेश्वर भाटभटेनीमा पनि क्रिसमयको तयारी भव्य छ। सुपरमार्केटअगाडि ठूलो क्रिसमस ट्री राखिएको छ। स्टोरभित्र छिर्दा रातो, सेतो पहिरनमा सजिएको सान्टा क्लजलाई भेट्न सकिन्छ। ‘हामीले आन्तरिक सजावटमा काम सकेका छौँ,’ त्यहाँका ब्रान्च म्यानेजर विसर्जन लावती भन्छन्, ‘क्रिसमसकै लागि भनेर चीनबाट ट्री मगाएका छौँ। क्रिसमसका लागि भनेर स्पेसल केक पनि अर्डर गरेका छौँ।’ 

साँझपख भाटभटेनी वरपरको वातावरण हेर्नलायक हुन्छ। झिलिमिली बत्ती बलेपछि क्रिसमस ट्रीसँग फोटो खिच्नेको भीड लाग्ने लावती बताउँछन्। ‘साँझमा हामी बत्ती बाल्छौँ,’ उनी भन्छन्, ‘ट्री जगमगाउन थाल्छ। त्यसपछि फोटो खिच्नेको घुइँचो लाग्छ।’ भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा विभिन्न सामानमा छुटसमेत दिएको लावती बताउँछन्। ‘क्रिसमस र नयाँ वर्षको अवसरमा सामानमा छुट दिएका छौँ,’ उनी भन्छन्, ‘अन्य सामानको तुलनामा इलेक्ट्रोनिक सामानमा बढी छुटको व्यवस्था गरेका छौँ।’ 

टर्कीको मासु  

क्रिममसमा टर्कीको मासु बढी बिक्री हुने लावती बताउँछन्। ‘क्रिसमस ट्री, ह्याप्पी क्रिसमस लेखिएको केकसँगै टर्कीको मासु पनि धेरैले किन्ने गरेका छन्,’ उनी भन्छन्, ‘दशैँमा खसीको मासु बिक्री भएजस्तै क्रिसमसमा टर्कीको मासु खाने चलन रहेको छ।’ क्रिसमसका लागि विदेशबाट टर्कीको मासु अर्डर गरेको उनी बताउँछन्। व्यापार पनि राम्रो भएको उनको भनाइ छ। ‘अन्य मासुको तुलनामा टर्कीको मूल्य केही महँगो रहेको छ,’ उनी भन्छन्, ‘तर, पनि धेरैले क्रिसमसमा टर्कीको मासु नै खाने गरेका छन्।’ भाटभटेनीमा एक किलो टर्कीको मासुको १९ सय रुपैयाँ पर्ने गर्छ। त्यस्तै, चार सयदेखि छ हजार रुपैयाँसम्मका क्रिसमस ट्रीको व्यापार पनि राम्रो भएको लावती बताउँछन्। ‘आजभोलि घरमा सजाउनका लागि धेरैले ट्री लैजाने गरेका छन्,’ उनी भन्छन्। 

न्युरोडमा क्रिसमसको चहलपहल 

काठमाडौँ, न्युरोडका विभिन्न स्थानमा पनि क्रिसमसको रौनक छ। उपहार किनमेल गर्नेका भीड छ भने व्यापारी बेच्नमा व्यस्त छन्। क्रिसमसको सपिङ गर्न गिफ्ट पसलमा मान्छेहरू धाइरहेका छन्। न्युरोडका व्यापारी सुनीललाल श्रेष्ठ अहिले गिफ्टको बिक्री बढेको बताउँछन्। ‘बेल, म्युजिक बेल, स्नोबल, पेपर स्टार र चकलेटको व्यापार एकदमै बढेको छ,’ उनी भन्छन्। न्युरोडभन्दा जावलाखेलको पसलमा झन् बढी व्यापार हुने श्रेष्ठ बताउँछन्। उनको पसलमा १ सय ५० रुपैयाँ देखि ७ हजार ५ सय रुपैयाँ पर्ने क्रिसमस ट्री रहेका छन्। धेरैजसो ग्राहकले ठिक्क मूल्यको गिफ्ट किन्ने गरेको उनी बताउँछन्।

अस्मिता-सुमित

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2648)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.