सन् २०१९ मा विश्वभर चर्चित ‘टिकटक’

सन् २०१९ मा विश्वभर चर्चित ‘टिकटक’

टेक्नोबहादुर

२०१९ को अन्त्यमा प्राविधिसम्बन्धी विभिन्न वेबसाइटले वर्षभरि सार्वजनिक भएका तथा पुराना एप्स गरी चर्चित एप्सको सूची निकालेका छन्। सूचीमा परेका  कतिपय एप्सले वर्षभरि दक्षिण एसियाली क्षेत्रमा पनि चर्चा पाएका थिए। विश्वका चर्चित प्रविधिसम्बन्धी वेबसाइट ‘सी–नेट’, ‘टेकक्रन्च, ‘टेक राडर’ लगायतले सार्वजनिक गरेको सूचीमा सबैभन्दा चर्चित एप टिकटक रहेको छ।

चर्चित टिकटक

यस वर्ष विश्वभर तथा मुख्य गरी दक्षिण एसियाली क्षेत्रमा चर्चित बनेको एप हो, टिकटक। सन् २०१६ मा बजारमा आएको यस एपले मानिसलाई गीत वा आवाजसँगै आफ्नो हाउभाउ मिलाएर भिडियो बनाउने र त्यसलाई सार्वजनिक गर्ने सुविधा दिएको छ। यसलाई चिनियाँ कम्पनी बाइटडान्सले बजारमा ल्याएको हो। सार्वजनिक हुनेबित्तिकै बजार लिएको यो एप सन् २०१९ मा मात्रै ६० करोडभन्दा बढी पटक डाउनलोड भएको थियो। अहिलेसम्मको तथ्यांकलाई हेर्दा टिकटक सर्वाधिक डाउनलोड भएको एपमध्ये पर्छ। पहिलो र दोस्रोमा भने क्रमशः ह्वाट्सएप र फेसबुक म्यासेन्जर रहेका छन्।

आफ्नो सुविधाबाहेक एन्ड्रोइड तथा एपल मार्केटमा टिकटकले सर्वाधिक चर्चा कमाउनमा यस एपमाथि अमेरिकी सरकारले लगाएको आरोप पनि थियो। अमेरिकी सरकारले टिकटकको माध्यमबाट विभिन्न ठाउँका मानिसहरूको चियोचर्चा भइरहेको र उनीहरूको जानकारी सुरक्षित नरहेको भन्ने आरोप लगाएको थियो। यसकारण पनि धेरैको ध्यान टिकटकतिर गएको टेकक्रन्चले आफ्नो वेबसाइटमा बताएको छ। अहिले पनि टिकटकमाथि अमेरिकी सरकारले छानबिन गरिरहेको छ। यद्यपि, आईओएस डिभाइसमा यस वर्ष सर्वाधिक डाउनलोड हुने एप टिकटक रहेको छ। 

गेमिङका चर्चित एप्स 

मोबाइल बजारमा आएका गेममध्ये पब्जी र कल अफ ड्युटी यस वर्ष सर्वाधिक चर्चित रहेको विभिन्न वेबसाइटले बताएका छन्। यी दुवै गेम लडाइँसँग सम्बन्धित छन््। दुवैको मोबाइल भर्सनजस्तै कम्प्युटर भर्सन पनि बजारमा उपलब्ध छ।

कल अफ ड्युटीको मोबाइल भर्सन गत अक्टोबरमा मात्रै बजारमा आएको हो। कम्प्युटरमा निकै चर्चित रहेको यस गेमले मोबाइल भर्सनमा आएपछि पनि उत्तिकै चर्चा बटुल्यो। सार्वजनिक भएको एक हप्ता नबित्दै यो १० करोडभन्दा बढी पटक डाउनलोड भएको थियो। यस गेमलाई टिमी स्टुडियो तथा टेन्सेन्ट गेम्सले बजारमा ल्याएको हो। प्लेस्टोरमा यस गेमले छ करोडभन्दा बढी रिभ्यू पाएको छ भने पाँचमा साढे चार रेटिङ पाएको छ। अर्कातिर, सन् २०१७ मार्चमा सार्वजनिक भएको गेम पब्जीले पनि यस वर्ष उत्तिकै चर्चा कमायो। डिसेम्बर महिनामा ‘बिजनेस टुडे’ पत्रिकाले निकालेको तथ्यांकअनुसार पब्जीमा दैनिक १० करोडभन्दा बढी प्रयोगकर्ता सक्रिय हुने गरेका छन्। ‘फाइनान्सियल टाइम्स’ पत्रिकाका अनुसार मोबाइल गेमबाट सर्वाधिक आम्दानी गर्ने गेम पनि पब्जी रहेको छ। पब्जी र कल अफ ड्युटीमा विश्वमा अहिले प्रतियोगितासमेत हुने गरेका छन्। 

अमेरिकामा गुगल म्यापको सर्वाधिक प्रयोग

सन् २००५ मा जब गुगल म्याप रिलिज भएको थियो, त्यो बेला अहिलेजस्तो एन्ड्रोइड वा आईओएसजस्ता अपरेटिङ सिस्टमको विकास भइसकेको थिएन। आफ्नो स्थापनाकालबाटै गुगल म्यापले सर्वाधिक लोकप्रियता कमाएको छ। नेपाल, भारतजस्ता दक्षिण एसियाली देशमा नक्सा हेर्ने चलनको विकास नभएका कारण यसले चर्चा कमाउन नसकेको ‘एन्ड्रोइड अथोरिटी डट कम’ले बताएको छ। तर, विकसित देशमा भने गुगल म्यापको सर्वाधिक प्रयोग भइरहेको छ। सी–नेटका अनुसार युरोप र अमेरिकामा गुगल म्याप साह्रै लोकप्रिय छ। ‘वर्ष २०१९ का चर्चित एप्स’ नामक लेखमा गुगल म्यापलाई उद्धृत गर्दै सी–नेटमा भनिएको छ, ‘गुगल म्यापमा अमेरिकाका हरेक गल्लीको जानकारी छ। आँखा चिम्म गरेर पनि आफूले चाहेको ठाउँमा गुगल म्यापको निर्देशनमा पुग्न सकिन्छ।’ सन् २०१९ मा गुगल म्यापले थपेको ट्राफिकको जानकारी, गतिको मापनजस्ता सुविधाले पनि यो सर्वाधिक लोकप्रिय भएको सी–नेटले जनाएको छ। अर्कातिर, ‘स्ट्याटिस्टिक्स डट कम’का अनुसार अमेरिकामा क्रमशः गुगल सर्च, युट्युब र फेसबुकपछि गुगल म्याप बढी प्रयोग भएको छ। 

फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युबजस्ता एप्स भने पछिल्लो वर्षजस्तै यस वर्ष पनि शीर्ष स्थानमा रहेका छन्। विश्वभर सर्वाधिक प्रयोग हुने एपमा फेसबुक म्यासेन्जर नै रहेको छ। त्यस्तै, बढी प्रयोग भएका अन्य एप्समा डाटा आदानप्रदान गर्ने एप ‘सेयर ईट’, ‘स्न्यापच्याट’, ‘नेटफ्लिक्स’, ‘लाइक’, ‘स्पोटिफाई’ लगायत रहेका छन्। गेमिङमा पब्जी र कल अफ ड्युटीबाहेक ‘फ्री फायर’, ‘सबवे सर्फ’, ‘फन रेस’, ‘होमो स्केप्स’ जस्ता एप्स चर्चित रहे। त्यसबाहेक, ‘टिन्डर’, ‘टेनटेन’ जस्ता डेटिङ एप्सले पनि यस वर्ष चर्चा बटुले। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.