‘गाडी बढे प्यासेन्जर घटे’
मेरो घर भक्तपुर हो। ३७ वर्ष भयो ड्राइभिङ गर्न थालेको। २०४० सालदेखि गाडी चलाउन थालेको हुँ। एक वर्ष ट्रक चलाएँ। त्यसपछि दाङ–काठमाडाँैको रुटमा नाइट बस चलाएँ। दुई वर्षजति स्कुलको गाडी पनि चलाएँ। २०७२ सालको भूकम्पपछि काठमाडाँैदेखि सिन्धुली जाने बस चलाउन थालेँ। काठमाडौंदेखि सिन्धुली पुग्न पाँच–छ घण्टा लाग्छ। मैले आठ कक्षासम्म पढेको छु। ड्राइभर भए विभिन्न ठाउँमा घुम्न पाइन्छ भनेर यो पेशामा लागेको हुँ। नौ महिना ट्रकमा सहचालक भएर काम गरेँ। त्यसपछि मात्र चालक बनेँ ।
गाडी त ठूलै ठीक
मैले सानो–ठूलो दुवै किसिमका गाडी चलाएको छु। चलाउँदा ठूलो गाडी नै ठीक लाग्छ। ठूलो गाडी देखेपछि मान्छेले पनि सजिलै बाटो छोड्छन्। सानो गाडी र त्यसका चालकलाई ठूला गाडीदेखि पैदलयात्रीसम्म सबैले हेप्छन्। कमाइ पनि ठूलै गाडीमा राम्रो हुन्छ। सानो गाडीमा प्यासेन्जर थोरै अट्छन्, कमाइ पनि थोरै हुन्छ।
राति चलाउन सजिलो
दिउँसोभन्दा राति गाडी चलाउन सजिलो हुन्छ। राति गाडी लिएर हिँड्दा बाटोमा गाईबस्तुका कारण अप्ठ्यारो हुँदैन। मोटरसाइकल, साइकल पनि कमै गुड्छन्। दिउँसो गाडी चलाउँदा साइकल, मोटरसाइकल, पैदलयात्री, गाईबस्तुले डिस्टर्ब गर्छन्। राति बाटो खुल्ला हुन्छ। नाइट बस चलाउन थालेपछि दिउँसो सुत्ने बानी पर्यो। अहिले दिउँसो निद्रा लाग्ने, राति नलाग्ने हुन्छ।
कामबाट सन्तुष्ट
म आफ्नो कामबाट सन्तुष्ट छु। यसै पेशाबाट तीन छोराछोरीलाई पढाएँ। घरपरिवारको खर्च मज्जाले चलेको छ। अहिलेसम्म पैसाका लागि जग्गाजमिन बेच्न परेको छैन। गाडी लाइनमा लागेर राम्रो कमाइ भएको छ।
प्यासेन्जर पाइँदैन
पहिलेको जस्तो अहिले कमाइ छैन। आजभोलि धेरै गाडी थपिएका छन्। पहिले थोरै मात्र गाडी हुन्थे। अहिले एकै रुटमा पनि धेरै गाडी छन्। एक वर्षयता लामो रुटको गाडीमा खासै कमाइ भएको छैन। प्यासेन्जर पाउनै गाह्रो छ। पहिले जे कामका लागि पनि मान्छेले काठमाडौँ धाउनुपर्ने अवस्था थियो। अहिले त्यो अवस्था हटेको छ। सबै काम गाउँपालिकामै हुन्छन्। त्यसैले टिप घटेको छ। हिजोआज त आफन्त भेट्न र घुम्न जाने प्यासेन्जर मात्र बढी पाइन्छन्।
गाउँठाउँ घुम्न पाइन्छ
गाडी चलाउन थालेपछि नेपालको प्रायः सबै ठाउँ पुगिसकेँ। नेपालको ७२ जिल्लामा पुगिसकेँ। हरेक ठाउँको आफ्नै भाषा हुन्छ, रहनसहन हुन्छ। विभिन्न ठाउँ घुम्दा धेरै कुरा जान्न पाइन्छ, सिक्न पाइन्छ। ती ठाउँमध्ये मुस्ताङ रमाइलो लाग्यो।
प्रस्तुतिः आशक्ति