लुटको धनले ‘मेरी क्रिसमस’
![लुटको धनले ‘मेरी क्रिसमस’](https://annapurnapost.prixacdn.net/media/albums/choreko-dhanle-merry-chirstmas_20200101081504_hyZk4NCKF7.jpg)
अमेरिकाको कोलोराडो राज्यका एक जना नागरिकले बैंक लुटे तर लुटेको पैसा बोकेर उनी भागेनन्। उनले पैसा हावामा छरिदिए र बाटो हिँड्ने बटुवाहरूलाई सम्बोधन गरेर चिच्याए, ‘मेरी क्रिसमस।’
अघिल्लो सोमबार बैंक लुटेर क्रिसमसको शुभकामना दिने ६५ वर्षीय डेविड वेन ओलिभरलाई प्रहरीले पक्राउ गरेको थियो।
कोलोराडो स्पिंग्जस्थित एकाडेमी बैंकमा सेतो दाह्री पालेका ओलिभर छिरेका थिए र हतियार चलाउने धम्की दिएर बैंक लुटेका थिए। उनले कति पैसा लुटेका थिए, समाचारमा खुलाइएको छैन।
एक झोला पैसा बोकेर डेविड बैंकबाट बाहिरिएका थिए। लगत्तै, बाटोमा उनले पैसा उडाएका थिए, ‘मेरी क्रिसमस’ भन्दैन। प्रत्यक्षदर्शी डियोन पास्कलले भने, ‘उनले ठूलो स्वरमा ‘मेरी क्रिसमस’ भन्दै पैसा हावामा उडाएका थिए। फुटपाथभरि पैसा छरिएका थिए।’
पास्कलले बटुवाहरूले पैसा टिपेर बैंकमा बुझाइदिएको बताए। प्रहरीले ओलिभरले हतियार प्रयोग गर्ने धम्की दिए पनि उनका साथबाट कुनै हतियार बरामद नभएको बताएको छ। उनलाई एल पासो काउन्टी जेलमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)