गरिबीले छुट्छ बीचैमा पढाइ

गरिबीले छुट्छ बीचैमा पढाइ

दाङ : घोराही उपमहानगरपालिका ८ बेलुवा (नारायणपुर) की १४ वर्षीया पूर्णिमा कोरी २ वर्षअघि ५ कक्षामा पढ्दापढ्दै विद्यालय छोडिन्। नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयकी विद्यार्थी पूर्णिमाले घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाड्नु पर्‍यो।

पूर्णिमालाई अहिले पनि पढ्ने रहर छ। तर गरिबीका कारण हुन पढ्न सक्ने अवस्थामा छैनन्। घरको अवस्था पढाउनै नसक्ने भएपछि ५ कक्षामा पढ्दा पढ्दै छोडेकी पूर्णिमाले भनिन्, ‘विद्यालय छोडेर गाउँघरतिर काम गर्छु, मैले घर कुरें भने आमा र दाजुहरू काममा जानुहुन्छ।’ दिउँसो काम गरेर साँझबिहान खानाको जोहो हुने उनको भनाइ छ। कक्षामा अब्बल पूर्णिमा १ देखि ५ कक्षासम्म पढ्दा कक्षा प्रथम र दोस्रो भइरहने विद्यार्थी हुन्। गरिबीकै कारण विद्यालय छोडेपछि उनको पढाइको सपना बीचमै तुहिएको छ।

पूर्णिमा मात्र होइन, उनको घरमा रहेका चार दाजु–भाइ दिदी–बैनीले पनि यसरी नै कक्षा छोडेका छन्। घरमा ६ कक्षाभन्दा बढी पढेको कोही छैन। आर्थिक अभावकै कारण पढाउन नसकेर विद्यालय छोडेर सबैलाई घरमा बसालेको पूर्णिमाकी आमा पुष्पा कोरीले बताइन्। उनले कापी कलम किन्ने पैसासमेत नभएपछि छोराछोरीलाई पढ्न छुटाएको सुनाइन्।

अञ्जुली कोरी १६ वर्षकी भइन्। उनले कक्षा आठ पढ्दा पढ्दै छोडिन्। घरको आर्थिक अवस्था हेरेर पढाउन नसक्ने भएपछि आठ कक्षामै छाड्नु पर्‍यो। अञ्जुलीले भनिन्, ‘पढ्न रहर हँुदाहँुदै पनि पढ्न पाइनँ, पढ्ने वातावरण भने पढेर ठूलो मान्छे बन्ने रहर छ।’ अञ्जुली पनि सिद्धरत्ननाथ माविकै विद्यार्थी हुन्। उनले गतवर्षदेखि पढ्न छोडेकी छन्। सरकारी स्कुल भने पनि विभिन्न शीर्षकमा शुल्क बुझाउनु पर्ने, कापी किताब किन्ने पैसा नहुँदा विद्यालय छोडेको बताइन्।

नारायणपुरकै विष्णुप्रसाद कोरीका ५ जना सन्तान छन्। उनका पनि ३ जनाले बीचमै पढाइ छोडिसकेका छन्। दुईजना साना छन्। विष्णुकी छोरी पुष्पा कोरीले आर्थिक अभाव र गरिबीकै कारण विद्यालय तहमै पढाइ छोडेको बताइन्। ‘सात कक्षाभन्दा माथि पढ्न सकिनँ’, उनले भनिन्, ‘रहर त कम्तिमा प्लस टू गर्ने थियो। सातबाटै पढ्ने रहर छ।’ आर्थिक अभावकै कारण अरूका घरमा काम गरेर परिवारलाई सहयोग पुर्‍याइरहेको उनको भनाइ छ।

दाङको नारायणपुरमा अल्पसंख्यक कोरी समुदायको बसोबास छ। यो बस्ती जिल्लाकै एक्लो हो, तीन पुस्तादेखि कोरी समुदाय यहाँ बसिरहेको विष्णु कोरीले बताए। जनगणनामा यो समुदायको अभिलेख छैन। झन्डै २० घरमा रहेको कोरी समुदाय अति विपन्न अवस्थामा रहँदा समुदायका बालबालिका पढाइबाट वञ्चित भइरहेका छन्। २० घरपरिवारका झन्डै ४२ बालबालिकाले गरिबीका कारण विद्यालय छोड्ने गरेको स्थानीय नवीन कोरीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.