सुशिला कार्कीको ‘कारा’

सुशिला कार्कीको ‘कारा’

काठमाडौं : ‘हरेक मान्छेको मनमा एउटा कारागार हुन्छ। त्यसमा धेरै कुरा बन्द हुन्छन्। कति कुरा आजीवन काराबास पाएका कैदीझैं मनमा बाँधिएर रहन्छन्। कति कुरा भने बन्दीहरूझैं छुट्दै जान्छन्। अन्त्यमा बाँकी रहन्छ, एउटा खण्डहर र विराट् रिक्तता...।’

यो पंक्ति हो, पूर्वप्रधानन्यायाधीश तथा लेखक सुशीला कार्कीको नयाँ उपन्यास ‘कारा’को। नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार लोकार्पण गरिएको यही पुस्तकमार्फत कार्कीले आफूलाई आख्यानकारका रूपमा उभ्याएकी छन्।

लोकार्पण कार्यक्रममा पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले धेरै समयपछि राम्रो उपन्यासका रूपमा ‘कारा’ आएको भन्दै प्रशंसा गरे। उपन्यासमा कारागारभित्रका बन्दीहरूको यथार्थ चित्रण गरिएको छ। उनले भने, ‘कारागारमा राख्दा कार्कीले अनुभव गरेका र २९ वर्ष वकालत गर्दा भोगेका, बुझेका धेरै कुरा मैले यो उपन्यासमा पाएँ।’

रातदिन आपराधिक घटनाहरू नहून् भनेर देशको सेवामा खटिएका कारण आफूमा साहित्यिक पुस्तक पढ्ने बानी नभएको तर यो पुस्तकले निकै तानेकाले एकै बसाइमा पढेको बताउँदै ठट्यौली पारामा खरेलले भने, ‘प्रहरी भएर काम गर्दा आपूmले पनि थुप्रै कैदीसँगको दुःखपीडा नजिकबाट बुझ्ने मौका पाएको छु। त्यसमा कतिपय वास्तविक र कतिपय फसाइएका कैदी पनि हुन्छन्। तिनीहरूका कथाहरू यसमा यथार्थ रूपमा आएको पाएँ।’ उनले हीरामाया, तिम्बा, भक्तिपुरे, झुम्की, पार्वतीजस्ता पात्रले उपन्यासलाई जीवन्त बनाएको बताए।

त्यसैगरी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यसमा धेरै पात्रको यथार्थ घटना उद्घाटन गर्न खोजिएको र कारागारको सांगोपांगो चित्रण गरेको बताइन्। उनले भनिन्, ‘न्यायको चक्रमा कारागार एउटा महŒवपूर्ण संस्था हो। यस उपन्यासले कारागार प्रशासनसँग जोडिएका जटिलताहरूलाई उजागर गरेको छ। मानव अधिकार, महिला अधिकारका प्रश्नहरू पनि यसमा उठाइएको छ।’

मल्लले यस उपन्यासमा आएका कथा पाठकलाई मनोरञ्जन प्रदान गर्ने, भावुक बनाउने, कल्पनामा डुबाउने खालको मात्र नभएको बरु यसले देशको नीति निर्माणलाई पनि निर्देशित गरेको बताइन्।

कारागारभित्र पनि पुरुष र महिलाबीचमा धेरै भेदभाव देखिन्छ। कारागारमा कुनै पुरुष कैदी हुँदा उसलाई भेट्न उसको पूरै परिवार आउने र कुनै महिला पर्दा प्रायः कोही नआउने जस्ता प्रवृत्ति आफूले प्रत्यक्ष देखेको र त्यस्तो प्रवृत्तिलाई उपन्यासमा वास्तविक रूपमा पढ्न पाएको उनले बताइन्।

लेखिका कार्कीले आफ्नो जीवन भोगाइ पुस्तकमा उतार्ने कोसिस गरेको बताइन्। उनले भनिन्, ‘मैले यो उपन्यासमा धेरै कल्पना गरेको छैन। अधिवक्ता वा न्यायाधीश भएर काम गर्दा आफूले देखेका सैयौं बन्दीको कथालाई यथार्थ रूपमा उतार्न खोजेको हुँ।’

उनले २०३५ सालतिर आफूले कथा, कविता लेख्ने गरेको तर बीचमा कार्यव्यस्तताका कारण कलम चलाउन नसकेका कारण साहित्यिक पुस्तक लेख्न नसकेको बताइन्। उनले आगामी दिनमा पनि निरन्तर लेख्दै जाने बताइन्।

‘किताब प्रकाशन’ले ‘कारा’ पुस्तक बजारमा ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.