बेलायतमा नेपाल भ्रमण वर्ष आरम्भ

बेलायतमा नेपाल भ्रमण वर्ष आरम्भ

लण्डन : नेपाल भ्रमण वर्ष २०२० को बेलायतमा पनि औपचारिक रूपमा शुभारम्भ गरिएको छ। शनिबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले अभियानको उद्घाटन गरे। 

बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थितिमा भ्रमण वर्ष अभियानको आरम्भ गरिसकेपछि राजदूत डा सुवेदीले यस वर्ष १ लाख बेलायती पर्यटक नेपाल पठाउने लक्ष्य सुनाए। 

'भ्रमण वर्षमा १ लाख बेलायती नेपाल पठाउने कार्य असम्भव छैन', उनले बेलायतबासी सम्पुर्ण नेपालीको योगदानका लागि आग्रह गर्दै भने, 'बेलायतमा हामी नेपाली नै १ लाखभन्दा बढी छौं। सबैले आफ्नो एकजना विदेशी साथी नेपाल पठाउन सक्यौं भने पनि हाम्रो लक्ष्य सजिलै पूरा हुन सक्छ।'

दूतावास स्रोतका अनुसार सन् २०१९ मा करिब ७० हजार बेलायतीले नेपाल भ्रमण गरेका छन्। जुन संख्या सन् २०१८ मा ६३ हजार र सन् २०१७ मा ४६ हजार थियो। 

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न आआफ्नो स्थानबाट सहयोग गर्नु विश्वका हरेक कुनामा बस्ने नेपालीको कर्तव्य रहेको भन्दै राजदूत डा सुवेदीले यस अभियानलाई मातृभुमिका लागि योगदान गर्ने एक अवसरका रूपमा लिन अपील गरे। 

बेलायतमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार र तयारी गत वर्षदेखि नै सुरु गरिएको तथा आफ्नै नेतृत्वमा एक उच्चस्तरीय भ्रमण वर्ष तयारी मूल समिति र त्यसअन्तर्गत विभिन्न २२ वटा उपसमिति गठन गरिएको जानकारी उनले दिए। 

बेलायतका विभिन्न शहर र प्लेटफर्ममा वर्षभर नै नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्नका साथै नेपाली कला, संस्कृति, भाषा, साहित्य, खाना लगायतको प्रबद्र्धनात्मक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी समितिहरुले गर्नेछन्। 

बेलायतस्थित नेपाली संघसंस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रबर्धन गर्ने, बेलायतभरका सम्पुर्ण नेपाली रेष्टुरेन्टमा नेपाल भ्रमण वर्षसम्बन्धी प्रचार सामग्री राख्ने, बेलायती समुदाय समेतको सहभागिता रहने कार्यक्रममा पनि नेपालको प्रबर्धनका लागि स्टलहरु राख्ने कार्यक्रम दूतावासले बनाएको छ। 

आउँदो मे महिनामा पहिलोपटक बेलायतमा हुन लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको खेल तथा अगस्टमा लण्डनको लर्डस् मैदानमा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेललाई पनि नेपाल भ्रमण वर्षको प्रबर्धनका लागि उपयोग गर्ने योजना दूतावासको छ। 

दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार निकट भविष्यमै नेपालका आधा दर्जन बढी नगरपालिका र बेलायतका विभिन्न नगरबीच मितेरी सम्बन्ध घोषणा गरिने कार्यक्रम छ। जसबाट बेलायतमा जनस्तरसम्मै नेपालको प्रबर्धन गर्नमा सघाउ पुग्ने विश्वास लिइएको छ। 

भ्रमण वर्षका अवसरमा बेलायतका विभिन्न सहरका मेयर, उपमेयरले सामुहिक नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको र तीमध्ये केहीको भ्रमण तय भइसकेको उपनियोग प्रमुख आरनले बताए। 

दूतावासमा आउने बेलायतीलाई नेपाल भ्रमण वर्षको लोगो अकिंत टिसर्ट, क्याप र कप बाँडिएको छ। नेपाल भ्रमणका लागि उनीहरुलाई प्रोत्साहित गर्न आफ्नो भिसासम्बन्धी सेवा छिटो र प्रभावकारी रहेको दूतावासको दाबी छ। 

'हामी नो टुमरो को नीति बनाएरै सेवा दिइरहेका छौं। कुनै सेवाका लागि कसैलाई पनि भोलि भन्दैनौं, आजको आजै सबै काम हुन्छ', राजदूत डा सुवेदीले भने, 'अवस्था हेरेर बिदाको दिन र कार्यालय समयबाहिर पनि हामीले सेवा प्रदान गरिरहेका छौं।' 

दूतावासले गत वर्ष पनि नेपालको पर्यटन प्रबर्धन तथा भ्रमण वर्षको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम गरेको थियो। त्यस्तै, लण्डनमा गुड्ने आइकोनिक राता बसका भित्तामा केही सातासम्म नेपालसम्बन्धी विभिन्न तस्बिरहरु टाँसेर प्रचार गरिएको थियो। 

भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतले समेत भ्रमण वर्षको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष पुनम गुरुङले बताइन्। संघले एक छुट्टै समिति निर्माण गरेर विभिन्न प्रबर्धनात्मक कार्यक्रम अघि बढाएको उनले जानकारी गराइन्। 

त्यसअवसरमा चलचित्रकर्मी सनमकुमार वैराग, ज्ञानेन्द्र राउत र निकेश लिम्बूले निर्माण गरेको नेपाल भ्रमण वर्षसम्बन्धी एक भिडियो प्रदर्शन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.