छाउगोठ भत्काउने अभियान तिव्र : गाउँगाउँमा प्रशासन

छाउगोठ भत्काउने अभियान तिव्र : गाउँगाउँमा प्रशासन

धनगढ : छाउगोठ भत्काउन प्रहरी प्रशासन सुदूरपश्चिम तथा कर्णालीका विटक बस्तीमा पसेको छ। स्थानीय तहसँगको सहकार्यमा प्रशासन प्रहरीसहित गाउँ पसेको हो। सबै अभियानमा जुटेपछि सुदूरपश्चिम प्रदेश सरकारले पनि अभियानप्रति चासो देखाएको छ। बर्सेनि दर्जनौं महिला तथा किशोरी छाउगोठमा ज्यान गुमाउन थालेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई छाउगोठ भत्काउन र विरोधमा उत्रनेलाई कारबाही गर्न निर्देशन दिएको थियो।

छाउपडीको विकराल रूप रहेको सुदूरपश्चिमका अछाम, बझाङ, र बाजुराका साथै कर्णालीका सुर्खेत, दैलेख, कालिकोट र जुम्लामा छाउगोठ भत्काउने अभियान सञ्चालन भइरहेको छ। अभियान आक्रामक रूपमा अगाडि बढेपछि सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीप्रथा उन्मुलन नीति पारित गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छाउपडीप्रथा उन्मुलन गर्न नीति पारित गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।

‘छाउपडी कूप्रथा पूर्ण रुपमा हटाउन नसके पनि, न्यूनिकरण गर्न अभियान आवश्यक छ, कम्तिमा छाउगोठमा बसेकालाई घरभित्र ल्याउन सकेमात्रै धेरै ठूलो उपलब्धी हुनेछ,’ उनले भने। प्रदेश सरकारले ल्याएको नीतिमा सामाजिक चेतनालाई प्राथमिकतामा राखिएको छ।

प्रहरी र जनप्रतिनिधि सँगसँगै

अछाममा छाउगोठ भत्काउन प्रहरी र जनप्रतिनिधिले संयुक्त अभियान थालेका छन्। जिल्लाका सबै स्थानीय तहमा प्रहरीले जनप्रतिनिधिलाई सँगै लिएर गोठ भत्काउन थालेको छ। १३ दिनको अवधिमा अछाममा ११ सय ५२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक भारतीले जानकारी दिए। उनले भने ‘हामी आफैं छाउगोठ खोज्दै हिँडेका छौं। जनप्रतिनिधिले गाउँलेलाई सम्झाउने काम गरेका छन्। स्थानीयलाई कन्भिन्स गरेर गोठ भत्काउने गरिएको छ। ’

जनप्रनिनिधि मात्र होइन, समुदायका शिक्षित नागरिकले पनि यो अभियानमा साथ दिएका छन्। यस्तै प्रहरीले छाउगोठ भत्काएपछिको अवस्थाका बारेमा अनुगमन पनि गरेको छ। ‘गोठ त भत्कायौं तर हामी फर्केपछि कतै पुनः लगाउने त होइनन् ? भन्ने त्रास थियो’ प्रहरी प्रमुख भारतीले भने, ‘स्थानीय केही शिक्षक व्यक्तिमार्फत सूचना लिने गरेका छौं। अहिलेसम्म भत्काएको ठाउँमा पुनः बनाइएको छैन। ’

विगतमा गैरसरकारी संस्थाहरूले चलाएको अभियानमा गोठ भत्काइसकेपछि परिवारले पुनः त्रिपाल हालेर बस्ने गरेका थिए। तर अहिलेको अभियानपछि हालसम्म त्यस्तो कुनै घटना नदोहोरिएको प्रशासनले जनाएको छ। अछामलाई आगामी फागुनभित्र छाउगोठमुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ। यसपटक सचेतनाका सँगै पुनः गोठ लगाए वा महिनावारी भएको महिलालाई छाउगोठमा राखे कारावासको सजाय हुने जानकारी गराएकाले पनि स्थानीयले अभियानको विरोध गर्न सकेका छैनन्।

फागुन मसान्तभित्र जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए। उनले भने ‘माघ मसान्तभित्र सबै तहका छाउगोठ भत्काउने, र फागुन १५ गतेभित्र पालिका घोषणा गर्ने तय भएको छ। ’

छाउ गोठ भत्काउने क्रममा भेटिएका अति गरिब परिवारलाई जनता आवास कार्यक्रममा सहभागी गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ। यस्तै छाउगोठ नभत्काए स्थानीय तहबाट दिइने सबै सेवासुविधा रोक्का हुने निर्णय गरेपछि स्थानीय आफैं पनि यो अभियानमा जुटेको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवँरले बताए।

गोठ भत्काउनेसँगै सचेतना अभियान पनि सञ्चालन गरिएको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताए। साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्बती बुढा (रावत)को मंसिर १६ गते छाउगोठमा ज्यान गएपछि छाउगोठ भत्काउने अभियान सुरु भएको हो। जिल्लामा एक दशक यता १४ जना किशोरी तथा महिलाको छाउगोठमा ज्यान गइसकेको छ।

सिडियो आफैं पुगे छाउगोठ भत्काउन

बझाङमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे आफैं छाउगोठ भत्काउन गाउँ पसेका छन्। प्रजिअ, प्रहरी प्रमुखलगायत जनप्रनिधिको सहभागीतामा गाउँमा रहेका छाउगोठ भत्काउन सुरु गरिएको हो। आइतबार प्रजिअ पाण्डेले जयपृथ्वी नगरपालिका–११ को धार्मीलेखमा रहेका ११ वटा छाउगोठ आफैं भत्काएका हुन्।

अघिल्लो साता प्रशासन र प्रहरीले अभियानबारे जानकारी गराएपछि छाउगोठ भत्काउन सुरु गरिएको जयपृथ्वी नगरपालिका–९ का वडाध्यक्ष नवराज कोइरालाले बताए।

केही जेष्ठ नागरिकले देउता लाग्ने भन्दै गोठ भत्काउन आनाकानी गरे पनि प्रशासनले गोठ भत्काउन अवरोध गरे कारावास हुनेसक्ने चेतावनी दिएपछि उनीहरू पछि हच्केका थिए। प्रहरी नायब उपरीक्षक गणेबहादुर बमले भने, ‘सबै ठाउँका तथ्यांक लिने काम पनि भइरहेको छ। प्रहरी र प्रशासन अघि लागेको देखेर होला यहाँका बालबालिकादेखि महिलाहरू पनि अभियानमा सहभागी भएका छन्। ’

दैलेखमा १०५ गोठ भत्काइयो

जिल्ला प्रशासन कार्यालय र प्रहरीले थालेको छाउगोठ भत्काउने अभियानमा १०५ छाउगोठ भत्काइएको छ। एक साताको अवधिमा १०५ गोठ भत्काइएको प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए। उनका नुसार सहायक प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली छाउगोठ भत्काउन गाउँ पसेको छ।

जिल्लाको चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा भैरबी र गुराँस गाउँपालिकामा रहेका छाउगोठ भत्काइएका हुन्। ‘कतिपय महिला छाउगोठका अलावा गाईगोठ वा भैंसी गोठमासमेत बस्ने गरेका छन्’ डिएसपी ओलीले भन,े ‘हामीले प्रत्यक्ष भेटायौं भने फौजदारी मुद्दा चलाइनेछ। ’

जिल्लामा छाउगोठ भत्काउने अभियान सञ्चालन भएपछि स्थानीय महिला पनि खुसी भएका छन्। ‘छाउगोठमै छोरीको ज्यान गयो, मेरी छोरी जस्तै अरुका छोरीले ज्यान गुमाउन नपारोस्,’ चामुण्डाविन्द्रासैनी नगरपालिकाका धीर्जा शाहीले गहभरि आँसु पार्दै भनिन्। ०७५ असार २२ गते चामुण्डाविन्द्रासैनी नगरपालिका–६ लैनचौरमा उनकी छोरी १९ वर्षीया तुलसी शाहीले छाउगोठमा सर्पले टोक्दा ज्यान गएको थियो।

सचेतना अभियानमा किशोरी

सिन्धुलीः सबैतिर छाउपडीप्रथा उन्मुलनको अभियान चलिरहँदा सिन्धुलीका किशोरी पनि सचेतना अभियानमा लागेका छन्। महिनावारी हुँदा घरभित्र बस्न नपाउँदा आफूहरू असुरक्षित भएको भन्दै परिवारका सदस्यलाई घरमा बस्ने वातावरण सिर्जना गर्न दवाव दिन थालेको कमलामाई नगरपालिका–११ रानीचुरीकी किशोरी पूजा थिङले बताइन्।

पहिलोपटक महिनावजारी हुँदा किशोरीलाई पाँच दिनसम्म घरभित्र पस्न दिँइदैन। शारीरिक रूपमा कमजोर हुने र त्यसबेलै घरबाहिर पठाउँदा आफूहरु असुरक्षित भएको भन्दै परिवारलाई किशोरीले सम्झाउन थालेका छन्। ‘घरबाहिर बस्दा जंगली जनावरको त्रास त छँदैछ, तर गोठमा बस्दा कयौं किेशारी बलात्कृत हुनुपरेको छ। यतिबेला सरकारले लहर चलाएको छ। यतिबेला नबोले यो कुप्रथा अन्त्य हुँदैन’, थिङले भनिन्।

(शिबराज भट्ट/धनगढी, गीता कुवर/ अछाम, जगदीश रोकाया/बझाङ)
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.