व्यापारी हत्यामा बाबु-छोरीसहित ११ दोषी, योजनाकारलाई जन्मकैद

व्यापारी हत्यामा बाबु-छोरीसहित ११ दोषी, योजनाकारलाई जन्मकैद

दाङ : तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्याको अभियोग लागेका ११ जनामध्ये मुख्य योजनाकारलाई जन्मकैदको सजाय सुनाइएको छ। बुधबार जिल्ला अदालत सल्यानले घटना भएको झण्डै साढे दुई वर्षपछि अपहरण र हत्यामा संलग्न ११ जनालाई १० वर्षदेखि जन्म कैदसम्मको सजायको फैसला सुनाएको हो। 

२०७४ साल जेठ २६ गते दाङबाट सल्यान लगेर तुलसीपुरका व्यवसायी श्रेष्ठसँगै घोराहीका युवा रणबहादुर घर्तीको अपहरण गरि २९ गते हत्या गरिएको थियो। घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ११ जनामा आठ जनालाई र फरार रहेका ३ जनालाई कैदसहित जरिवानाको फैसला भएको जिल्ला अदालत सल्यानमा श्रेस्तेदार दीपक पोखरेलले जानकारी दिए। घटनाका मुख्य योजनाकारको रुपमा रहेका बाबु-छोरीसहित ११ जनाविरुद्ध फैसला भएपछि ८ जना कारागार चलान भएका छन्। उनीहरु पूर्वपक्ष थुनामै थिए। अपहरण तथा हत्या काण्डमा संलग्नलाई जन्मकैदसम्मको फैसला सुनाइएको अदालतले पूर्वपक्षको लागि थुनामा रहेकामध्य तीन जनालाई भने सफाइ दिएको छ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका-६ स्याउलीबजारका ३९ वर्षीय टीकाराम घर्तीलाई २० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा १०-१० वर्ष गरी २० वर्ष जेल सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार पोखरेलले जानकारी दिए। व्यापारी श्रेष्ठलाई अपहरण गर्न प्रयोग गरिएकी घर्तीकी छोरी पूजा घर्तीलाई अपहरण मुद्दामा १० वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ।

उक्त घटनामा संलग्नहरुमध्ये कमल भनिने अविरल महरालाई ज्यान मुद्दामा पाँच वर्ष र अपहरण मुद्दामा थप ११ वर्ष गरि १६ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ। रमेश भनिने मनबहादुर पुन, रुगत थापा, मानबहादुर भण्डारी, वीरे घर्ती र नारायण वलीलाई ज्यान मुद्दामा समान ५-५ वर्ष तथा अपहरण मुद्दामा थप १०÷१० वर्ष गरी १५ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ। पूजालाई प्रयोग गरी घर्तीले व्यापारीलाई जंगलमा लगेर बन्धक बनाएको र मारेको अभियोग प्रहरीले लगाएको थियो।

तत्कालीन दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहसहितको प्रहरी अनुसन्धान टोलीले व्यापारी श्रेष्ठ अपहरण र हत्या घटनाका मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये ११ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो। हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाइ दिएको छ। फरार रहेका अन्य तीन जना भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन्। मुद्दा प्रक्रियागत रुपमा जाँदा फैसला गर्न  समय लागेको र ढिला भएको सल्यान अदालतले जनाएको छ।

अपहरणको तीन दिनपछि जेठ २९ गतेनै श्रेष्ठको हत्या भए पनि शव भने २२ दिनपछि असार १६ गते मात्रै फेला परेको थियो। शव सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पेको ओढारमा फेला परेको हुँदा मुद्दा पनि जिल्ला अदालत सल्यानले हेरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.