ऋण तिर्न चीनको ताकेता

ऋण तिर्न चीनको ताकेता

काठमाडौं : चीनको आयात–निर्यात (एक्जिम) बैंकले चिनियाँ जहाज खरिद गर्दाको अन्तिम किस्ता ऋण भुक्तानीका लागि ताकेता गरेको छ। नेपालले एउटा एमए६० र ३ वटा वाइ१२ गरी चारवटा विमान खरिद गर्न लिएको ऋणको अन्तिम किस्ता २१.८८ मिलियन आरएमबी (३६ करोड रुपैयाँ) तिर्न बाँकी छ। ऋण तिर्न ढिलाइ गरेपछि एक्जिम बैंकले ताकेता गरेको हो।

चीनमा निर्मित एमए ६० एउटा किन्दा एउटै सित्तैमा र वाई १२ तीनवटा किन्दा एउटा सित्तै दिइएको हो। नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा प्रयोग गर्न यी जहाज भिœयाए पनि पूर्णक्षमतामा सञ्चालन गर्न सकिएको छैन। दक्ष जनशक्ति (पाइलटलगायत), मर्मत गर्न पार्टस् तथा प्राविधिक अभावमा चिनियाँ जहाज ग्राउन्डेड छन्। एउटा एमए ६० सञ्चालनमा छ। वाइ १२ जहाज दुर्गम भेगमा उडान गर्न भिœयाइएको भए पनि जहाज उपयुक्त नरहेको पाइएको छ।

नेपाल वायु सेवा निगमले चीनले समयमा पार्टस् र प्राविधिक नपठाउने गुनासो गर्दै आएको छ। चीनको एभिक इन्टरनेसनलसँग निगमले २०६९ असोजमा एमए ६० र वाई १२ एफ जहाज ऋणमा खरिद गर्ने सम्झौता गरेको थियो। ५६ सिट क्षमताको एमए ६० सुगम क्षेत्रका लागि र १९ सिट क्षमताको वाई १२ एफ दुर्गम उडानका लागि खरिद गर्ने निर्णय भएको थियो । यसका लागि चीनको एक्जिम बैंकले ऋण दिएको थियो।

एक्जिम बैंक अफ चाइनाले एभिकलाई भुक्तानी गरेको ऋण (नेपालको) को वार्षिक ब्याजदर १.५ प्रतिशत छ । सरकारले चीनको एक्जिम बैंकबाट सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो । एक्जिमलाई नेपाल सरकारले २० वर्षको अवधिभित्र सबै ऋण भुक्तानी गर्नुपर्नेछ । ७ वर्षसम्म साँवा तथा ब्याज भुक्तानी गर्नुपर्दैन । सात वर्ष नाघेपछि मात्रै साँवा तथा ब्याज भुक्तानीको प्रक्रिया सुरु हुनेछ ।

एक्जिम बैंकले ऋण चुक्ता गर्न दोस्रोपटक समय थप गरिसकेको छ। तर अहिलेसम्म वायु सेवा निगमले ऋण तिर्न तदारुकता देखाएको छैन। निगम आफैं ऋणग्रस्त छ। व्यवसाय विस्तार गर्न ल्याएका चिनियाँ जहाजबाट आम्दानीभन्दा खर्च धेरै रहेको निगमले जनाएको छ। एक्जिम बैंकले अर्थ मन्त्रालयमार्फत तोकेता गरेपछि अर्थले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई यसको जानकारी गराइसकेको छ। गत मंसिर २० मै एक्जिम बैंकले अन्तिम किस्ता बुझाउने सम्झौताको म्यादभन्दा १५ दिन अघि अर्थात् पुस ८ मै बुझाउन पत्राचार गरेको थियो। यद्यपि, मंसिर २६मा अर्थले पर्यटन मन्त्रालयमा ‘ड्रडाउन नोटिस’ पठाउन पत्राचार गरे पनि हालसम्म कुनै प्राप्त नभएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

सम्झौताअनुसार नेपालले ऋणको अन्तिम किस्ता गत असार मसान्तमा तिर्ने अवधि समाप्त भइसकेको छ। तर, अर्थ मन्त्रालयको आग्रहमा चीनले अन्तिम किस्ता तिर्ने अवधि ६ महिना लम्बाएको थियो। दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भए पनि जहाज खरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो ।

किस्ता खोल्न चिनियाँ पक्षले पटक–पटक ताकेता गर्न थालेपछि अर्थ मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् निगमसँग ऋण भुक्तानी तालिका बारे सोधपुछ गरेको छ। तर निगमले भने जहाज आपूर्तिकर्ता एभिक इन्टरनेसनलले सम्झौता अनुसार काम पूरा नगर्दा भुक्तानी रोकिएको बताएको छ। ‘सम्झौताबमोजिम एभिकले शर्त पूरा नगरेपछि अन्तिम किस्ता बुझाउन ढिलाइ भएको हो। तर ऋण नतिर्ने होइन’, निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘। यसको पुनर्तालिकीकरणका लागि आग्रह गरेका छौंं।’ निगमले सरकारले उक्त ऋण तिरेर त्यसलाई सेयर पुँजीका रूपमा पुँजीकरण गरिदिन पनि आग्रह गरिसकेको छ। एक्जिम बैंकले भने जनवरी १५ भित्र ऋण तिर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.