रुपन्देहीमा सफल हुँदै समुदाय–प्रहरी साझेदारी

भैरहवा : रुपन्देहीमा समुदाय र प्रहरी साझेदारी अभियान सफल हुँदै गएको छ। अपराध नियन्त्रणमा समुदायले प्रहरीसगँको समन्वय र सहकार्य बढाउँदै अघि बढेपछि अभियान सफल भएको हो।
अभियान सफल पार्नका लागि ३ सय ८७ वटा समिती क्रियाशील छन्। जिल्लामा गठित समितीको माध्यमबाट लैंगिक हिंसा, ट्राफिक नियम, लागुऔषध नियन्त्रण, साईबर अपराध, विभिन्न कुरिती तथा विसंगतिविरुद्ध गरी ५ सय २६ कार्यक्रम संचालन भएको छ। विद्यालय सम्पर्क कार्यक्रममा ६ हजार ८ सय ११ विद्यार्थी र २ सय १० शिक्षक सहभागी भएका थिए।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाका अनुसार कार्यक्रममा ट्राफिक नियम, साइबर अपराध, घरेलु तथा लैंगिक हिंसा, लागुऔषध दुर्व्यसन लगायत विषयमा सचेतना अभिवृद्धि भएको पाइएको छ।
उनले टोलटोलमा प्रहरीको पहुँच पुगेकोले प्रहरीप्रति समुदायको विश्वास बढ्दै गएको बताए। साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सरोकारवाला निकायसगँको समन्वय र सहकार्य बढेकोले अभियान प्रभावकारी ढंगले अघि बढेको जानकारी दिए।
जनप्रतिनिधीलाई सम्मान
रुपन्देही प्रहरीले भैरहवामा स्थानीय तहलाई प्रशंसा पत्र वितरण कार्यक्रमको आयोजना गरेको छ। यो अभियानमा सहयोग गरेका प्रदेश सांसद, जिल्लाका १६ स्थानीय तहका जनप्रतिनिधी र समाजसेवीलाई सम्मान गरेको हो।
प्रहरी र जनताबीच उत्कृष्ट समन्वय र समाजमा प्रहरीको भुमिका अपरिहार्य रुपमा बढोत्तरी गर्न भुमिका निर्वाह गरेकोमा प्रहरीले उनीहरुलाई प्रशंसा पत्रले सम्मान गरेको हो।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले समुदायमा हुने समाजिक अपराधलाई रोक्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए। प्रदेश पाँचका सांसद सन्तोष पाण्डेयले अपराध नियन्त्रणमा प्रहरीको भुमिका सराहनीय रहेको भन्दै अभियानलाई सफल बनाउनमा आफुहरु सदैव लागिरहने बताए।
प्रमुख अतिथी प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अभियानले विगतभन्दा शान्ति सुरक्षाको अवस्था मजबुत बन्दै गएको बताए।
प्रतिक्रिया दिनुहोस !
