टुँडिखेल अतिक्रमण : जनताको हार

टुँडिखेल अतिक्रमण : जनताको हार

 काठमाडौं : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले टुँडिखेलमा भइरहेको अतिक्रमण खराब राजनीतिको उपज भएको बताएका छन् ।‘टुँडिखेल सार्वजनिक स्थान एवं सम्पदा संरक्षण’ विषयमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले सार्वजनिक जग्गामाथि सरकार र सेनाको अतिक्रमण लोकतन्त्रमाथि कै आक्रमण भएको बताए । प्रदेश नं. ३ का सांसद भीमसेनदास प्रधानको संयोजनमा भएको कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘टुँडिखेल अतिक्रमणले सरकारको जित र जनताको हारलाई दर्साउँछ ।’ लोकतन्त्रमा सरकार शासक बन्नु दुःखद् भएको उनको भनाइ छ ।

स्थानीय निर्वाचनपछि टुँडिखेलको व्यवस्थापन काठमाडौं महानगरपालिकाको दायित्वभित्र पर्छ । तर महानगर आफैंले टुँडिखेलभित्र ढलान गरेर अस्थायी बसपार्क राखेको छ । बिनाअनुमति पार्किङ खुल्ला गरेको छ । टुँडिखेल बचाउन महानगर असक्षम भएको बताउँदै सम्पदा संरक्षक अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘जनताको अधिकार स्थापित गर्न महानगरले नै जिम्मेवारी बहन गर्नुपर्छ किनकि महानगर फेल हुनु भनेको जनता फेल हुनु हो ।’ उपमेयर हरिप्रभा खड्गी महानगर जनताले चाहेजस्तो बन्न नसकेको स्वीकार्छिन् । ‘निर्वाचित भएर आएको दुई वर्ष बितिसक्दासमेत हामीले राम्रो काम गर्न सकेका छैनौं’ उनले भनिन् ।

कात्तिक २३ गते शनिबार मानव साङ्लोले घेरेर अकुपाइ टुँडिखेल अभियान सुरु भएको थियो । अभियानको दसौं हप्तामा चलिरहेको छ । टुँडिखेलबाट अतिक्रमण हटाउन जनतादेखि जनप्रतिनिधिसम्मका अभियन्ता सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । टुँडिखेलभित्र अस्थायी बसपार्क, पार्किङ, व्यापारिक टहरा, भ्यूटावर निर्माण सामग्री थुप्रिएका छन् । कुनै बेला एसियाकै ठूलो परेड मैदानको रूपमा रहेको टुँडिखेलको परिधि खुम्चँदै छ । राणाकालदेखि राजकीय व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा टुँडिखेलको दुई तिहाई हिस्सा अतिक्रमणमा परेको छ ।

त्रिपुरेश्वरदेखि विश्वज्योतिसम्म फैलिएको टुँडिखेलमा स्थायी रूपमै १३ स्थान मिचिएका छन् । पछिल्लो समय टुँडिखेल सेनाको अधिनमा छ । सर्वसाधारणका लागि खुल्ला राखिएको एक टुक्रा भागसमेत सेनाको आंशिक कब्जामा छ । कार्यक्रममा टुँडिखेल बचाउन अभियानलाई बिस्तार गर्दै लैजान विज्ञले सुझाए । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले ‘ग्रेटर टुँडिखेल’ निर्माणमा समाजशास्त्रीय पक्षलाई अध्ययन गर्दै अघि पढ्नु पर्ने बताए । ‘काठमाडौंमा देशभरका जनता छन् र उनीहरूको आ–आफ्नै आवश्यकता छन्’, उनले भने, ‘यी सबै पक्षलाई समेटेर अघि बढ्नु पर्छ ।’ टुँडिखेल स्थानीय जात्रापर्व र सम्पदासँग जोडिएको स्थल हो ।

खुल्ला मञ्चसँगै रहेका दुईमाजु मन्दिरवरपर व्यापारिक स्टल खोलिएका छन् । ती पसल अदालतको आदेशविपरित सञ्चालनमा रहँदा महानगर र गुठी संस्थान हात बाँधेर बसेको छ । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘काठमाडौं ‘हिस्टोरिकल जोन’ हो । टुँडिखेलजस्तो खुल्ला स्थान यो क्षेत्रको आवश्यकता हो ।’ खुम्चिँदै गएको टुँडिखेलको वातावरण बचाउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनको भनाइ छ । शिक्षाविद् केदारभक्त माथेमाले टुँडिखेल बचाउन अब नागरिक सबै एकजुट हुनुपर्ने बताए ।

‘अब पनि नागरिक नउठे देश पूरै बुलडोजरले चलाउने छ’, उनले भने । विकासका नाममा मासिँदै गएको सम्पदा र खुल्ला स्थान जोगाउनु पर्ने उनको आशय थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.