छिटी बनाएर परिवार धान्ने ७० वर्षे वृद्ध
राजविराज : ७० वर्षीय हलेश्वर मरिक जिविकोपार्जनका लागि बाँसको छिटी बनाउन व्यस्त छन्। बाँसका सामाग्री बनाउने पुर्ख्याैली पेशालाई छिन्नमस्ता गाउँपालिका-३ मरिकले ७० वर्षको उमेरमा पनि छाडेका छैनन्। रोगी शरीर घिसार्दै काममा भ्याईनभ्याई उनलाई चिसोको समस्याले सताएको छ।
पाँच वर्षअघि जवान छोरा सन्तोषको पोखरीमा डुबेर ‘शंकास्पद’ मृत्यु भएपछि दुई वर्षीय नाती रुपेशको पालनपोषणको जिम्मा पनि उनकै काँधमा छ। वृद्ध अवस्थाका आफु, बालक नाती र परिवारका अन्य सदस्यलाई ठण्डीबाट कसरी जोगाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ।

हलेश्वरको मात्रै होइन, सोही गाउँपालिका-६ का डोम (मरिक) परिवारको पनि छ। गरिबीको कारण बासको राम्रो व्यवस्था नभएको त छँदैछ अर्कोतिर चिसो मौसममा न्यानो कपडा लगाउनसमेत पाएका छैनन्। परालको घुर बालेरै पुसको ठण्डी कटाउनुपर्ने उनीहरुको बाध्यता छ। ऐलानी जग्गामा झुप्रो बारेर बसेका १२ घर डोम परिवारका ५० जना सबैको उस्तै छ। उनीहरुको एउटै चिन्ता छ ‘यसपालीको ठण्डीमा बाँचिन्छ कि बाँचिदैन।’ ‘कुनै कुनै वर्ष त यस्तो ठण्डीमा ओड्नेलगायतका राहत दिन्थे’ ६५ वर्षीय सिफैत मरिकले अन्नपूर्ण अनलाइसँग भने ‘यस वर्ष त अहिलेसम्म कोही सोध्नसम्म आएनन्।’ ठण्डीका कारण गाउँका वृद्धा दुखनी मरिक र फुलो मरिक यतिबेला विरामी परेको सिफैतले बताए। ‘चुनावका बेलामा हुलका हुल उम्मेदवार अनेक आश्वासन दिएर भोट माग्न आउने गरेका थिए। तर आफुहरु ठण्डीले बिचल्ली हुँदा कोही सोध्नसमेत आएनन्’ उनले दुःखेसो पोखे।
नजिकै जनप्रतिनिधि बस्छन्’ अर्का स्थानीय वीरेन्द्र मरिकले भने ‘आफुहरु ठण्डीले तड्पिरहँदा वास्तासमेत गर्दैनन्। हामी दलितहरुलाई खाली भोट बैंकको रुपमा प्रयोग गर्दैआए, हाम्रो समस्यामाथि कसैलाई चासो रहेनछ।’
छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलले स्थानीय एक समूहले दुई सातादेखि गाउँपालिकामा धर्ना दिँदै काम अवरुद्ध गरेका कारण चाहेर पनि विपन्न दलित परिवारमा राहत वितरण गर्न नसकेको बताए। ‘अवस्था सहज भएपछि पीडितहरुलाई राहत वितरण गर्छौ’ उनले भने।
‘दलितहरुमा पनि डोम सबैभन्दा विपन्न र अपहेलित रहदै आएका छन्’ डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले भने ‘यो ठण्डीमा जोगाउन पनि उनीहरुका लागि विशेष व्यवस्था गरिनु आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस !