बाजा बजाउने पाउनै गाह्रो भएपछि कस्सिए महिला

बाजा बजाउने पाउनै गाह्रो भएपछि कस्सिए महिला

बेनी : म्याग्दीको बेनी नगरपालिका– ४ राक्सेका क्षेत्री र ब्राह्मण समुदायका महिलाले बाजा बजाउन थालेका छन्। परम्परा धान्न महिलाले पञ्चैबाजा बजाउन थालेका हुन्। विवाह, व्रतबन्ध, चौरासी र विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति नपाएपछि आफैं सिकेर बजाउन थालेको स्थानीय लक्ष्मी खत्रीले बताइन्। ‘बाजा नहुँदा संस्कार नै खल्लो हुन थालेपछि आफैं बजाउन सिकेका हौ’, उनले भनिन्।

पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने उनीहरूको भनाइ छ। खत्रीका अनुसार सीप भएका युवा तथा पुरुष बिदेसिन थालेपछि शुभकार्यमा बाजा बजाउने जनशक्तिको अभाव भयो।

छिमेकी गाउँबाट बोलाउँदा पालो नपाउने र धेरै खर्च गर्नुपर्ने समस्या भएपछि महिला आफैं बाजा बजाउन अग्रसर भएका हुन्। राक्सेको नवजागरण आमा समूहका १० जनाले पञ्चैबाजा बजाउन एक महिना तालिम लिएका थिए।

बाजा बजाउने पेसा दर्जी र सार्की थरका दलित समुदायको परम्परागत पेसाका रूपमा बुझ्ने मान्यतालाई राक्सेका महिलाले तोडेका छन्। समाजको गलत मान्यताको तगारो तोडेर क्षेत्री बाहुन समुदायका महिलाले पञ्चैबाजा बजाउन थालेका समूहकी हीरा शर्माले बताइन्।

पछिल्लो समय मगर समुदायका युवायुवतीले देशका अन्य सहरमा व्यावसायिक रूपमा बाजा बजाउन थालेका थिए। सहनाई, ढलकी, ट्याम्कुली, झ्याली, कर्नल, दमाहालगायत नौथरी बाजा महिलाले बजाउँछन्।

उनीहरूलाई स्थानीय प्रकाश परियारले बाजा बजाउन सिकाएका हुन्। उनी पञ्चैबाजाको व्यावसायिक वाद्यवादक हुन्। महिलाले निकै चासो र रुचि दिएर छिटो बाजा बजाउन सिकेको उनले बताए। इच्छाशक्ति, आवश्यकता र बाध्यताले बाजा बजाउनुपर्ने अवस्था आएको समूहकी सदस्य भगवती सुवेदीले बताइन्। ‘भजनमा खैजडी मुजुरा पनि नबजाएकी मैले अहिले झ्याली बजाउने भएकी छु’, उनले भनिन्, ‘काम कुनै जाति, व्यक्ति विशेषको हुँदो रहेनछ। जाने र सकेपछि जसले गरे पनि हुने रहेछ।’

गाउँ र छिमेकका बस्तीबाट बाजा बजाउन माग आएको छ। एक दिन बाजा बजाएको २५ हजार रुपैयाँ ज्याला छ। वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले महिलालाई पञ्चैबाजा बजाउने तालिम सञ्चालन, बाजा र पोसाक खरिद गर्न एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष गोविन्द पौडेलले बताए। बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले महिलाको उत्साह र सक्रियताबाट उत्साहित भएको र बाजा समूहलाई प्रोत्साहन गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.