आदिवासी राजकवि

आदिवासी राजकवि

पद्धति अर्थात् सिस्टमले चलेको देश अमेरिकामा ठीक समयमा पद्धतिअनुसार काम हुनु सामान्य हो । अहिले भर्खरै अमेरिकाको नयाँ पोयट लरेट अर्थात् राजकविको चयन प्रक्रिया सकेर आफ्नो पद ग्रहण गर्ने काम पनि सम्पन्न भइसकेको छ । यस वर्ष इतिहासमै पहिलोपटक अमेरिकी आदिवासी कवि जोय हार्जाे राजकवि भएकी छन् ।

सरकारद्वारा नियुक्त सरकारी आधिकारिक कविलाई पोयट लरेटको पद र उपाधि दिइने गरिन्छ । संसारमै सबभन्दा पहिले सन् १३१५ मा हाल इटालीका भूगोलमा पर्ने पाडुवा का अल्वर्टिनो मुस्साटोले तथा अरेज्जोका फ्रान्सेस्को पेट्रार्कले यो पदवी पाएका थिए । बेलायतमा सन् १६६८ मा जोन ड्राईडेनको राजकविमा नियुक्त भएपछि यो परम्पराको थालनी भएको थियो हेनरी पाँचौंको शासनकालमा ।

सन् १९३७ मा बेलायतका राजकविको मोडेलअनुसार अमेरिकामा यो परम्पराको थालनी भयो । सुरुमा यसलाई ‘कन्सल्ट्यान्ट इन पोयट्री टु द लाइब्रेरी अफ कंग्रेस’का रूपमा थालनी गरियो । यसको चयन संयुक्त राज्य अमेरिकाको कंग्रेसको पुस्तकालयध्यक्ष्यले गर्ने गर्छन् । सन् १९८६ सम्म यही नामले सम्बोधन गरिन्थ्यो तर सन् १९८५ मा पारित नयाँ कानुनअनुसार ‘पोयट लरेट कन्सल्ट्यान्ट इन पोयट्री’को रूपमा नाम परिवर्तन भयो । यसरी नयाँ व्यवस्थाअनुसार नियुक्त हुने २३औं राजकवि हुन् जोय होर्जो, र प्रथम आदिवासी कवि पनि । यसको पदावधि दुई वर्षको हुन्छ र वार्षिक तलब ३५ हजार डलर पाउँछन् ।

राजकविको काम कविता वाचन शृंखलाहरूको आयोजना गर्नु, आफ्नो क्षेत्र तथा अमेरिकाकै पुराना पुस्ताका कविहरूलाई प्रस्तुत गर्नु हो । यो परम्पराको थालनी सन् १९४० मा भएको थियो र हालसम्म २००० भन्दा बढी कवि लेखकहरूलाई प्रस्तुत गरिसकिएको छ ।

जोय हार्जाेको जन्म ९ मे १९९१ का दिन अमेरिकाको ओक्लोहामा राज्यको टुल्सामा भएको थियो । उनका पिता एलान फोस्टर फ्रान्सेली आदिवासी हुन् भने आमा फ्रान्सेली, आइरिसलगायतका मि िश्रत आदिवासी हुन् । यसरी उनी मि िश्रत पितामाताका सन्तान हुन् । अमेरिकामा आदिवासीहरूको आफ्नै स्वतन्त्र राज्यहरूको अवधारण अद्यापि छ । जोय मस्कोगी क्रिक राज्यकी चार सन्तानमध्ये उनी जेठी हुन् । जोयले आफ्नी हजुरआमाको थर होर्जाे ग्रहण गरिन् १९ वर्षको उमेरमा ।

जोयको बाल्यकाल त्यति सुखद रहेन । उसका बाबु नामुद जँड्याहा थिए र मात्तिएपछि उनी हिंस्रक स्वभावको बन्दथे र आमालाई अतिसारो दुःख दिन्थे । पिट्ने चुट्ने र मानसिक यातना दिने गर्थे । यही कारणले उनीहरूको पारपाचुके भयो । उनकी आमाले अर्काै बिहा गरिन् । तर यो लोग्नेले आदिवासीलाई मन पराउँदैनथ्यो । यो पनि उत्तिकै उद्दण्ड निस्कियो । यसले पनि मारपिट गर्ने र यातना दिने गर्न थाल्यो । जोय १६ वर्षको हुँदा उसका सौतेलो बाबुले घरबाट निकाल्दिए र उनी न्यु मेक्सिकोको सान्ता फेमा अमेरिकन इन्डियन आर्टस् इन्स्टिच्युटमा भर्ना हुन पुगिन् । त्यहीँ नै उनको भेट फिल डायनसँग भयो । यो भेट प्रेममा बदलियो । प्रेम विवाहमा बदलियो । अनि उनीहरूको प्रेमको चिनो छोरा भयो । तर पछि उनीहरूको पनि पारपाचुके भयो ।

हार्जाेको पहिलो पुस्तक ‘द लास्ट सङ’ थियो जुन सन् सन् १९७५ मा प्रकाशित भएको थियो जसमा उनका नौवटा कविता समावेश थिए । त्यसदेखि यता यसै साल सन् २०१९ मा हालै प्रकाशित ‘एन अमेरिकन सनराइज’सहित दर्जनौं कविताका पुस्तक प्रकाशित भएका छन् । कवितालाई मञ्चमा प्रस्तुत गर्नु उनको अर्काे पक्ष हो । उनी संगीतज्ञ पनि हुन् । उनी स्याक्सोफोन बजाउँछिन् कविता वाचनसँगसँगै । बाँसुरी बजाउँछिन् अमेरिकी आदिवासी शैलीको । उनकी आमा पनि संगीतज्ञ थिइन्, त्यसले नै उनलाई संगीतको बाटोमा डोर्‍याएको थियो । उनी गाउँछिन् पनि । अभिनय पनि गर्छिन् । उनका पाँच थान सीडी एल्बम प्रकाशित भए र सबैजसो पुरस्कृत भए । सन् २००९ मा उनले आदिवासी अमेरिकी संगीतका लागि सर्वाेत्कृष्ट नारी पुरस्कार पाएकी थिइन् । उनले ४० वर्षको उमेरमा स्याक्सोफोन बजाउन सुरु गरेकी थिइन् । उनी कविता पढ्दा संगीतमय भाषामा बोल्छिन् र प्रत्येक वाचित कवितालाई गीतमा रूपान्तरण गर्छिन् । उनी कवितालाई जनजातिको आवाजका रूपमा प्रस्तुत गर्न रुचाउँछिन् ।

उनले आफ्नो रचनाकर्मका लागि र योगदानका लागि पचासौं पुरस्कार, सम्मान, वृत्ति आदि पाएकी छन् । उनले ‘द ओमन हु फेल फ्रम द स्काई’का लागि ओक्लोहामा बुक आर्टस् एवार्ड, ‘इन म्याड लभ एन्ड वार’का लागि अमेरिकन बुक एवार्ड तथा डेल्मोर स्वार्ज मेमोरियल एवार्ड, संस्मरणात्मक कृति ‘क्रेजी ब्रेभ’का लागि पेन सेन्टर यूएसएलिटरेरी अवार्ड फर क्रिएटिभ ननफिक्सन पाइन् । राजकवि उनको सर्वाेच्च सम्मान हो ।

सन् २०१५ मा एकेडेमी अफ अमेरिकन पोयट्सको वालेस स्टेभान्स अवार्ड पाउँदा एकेडेमीकी तत्कालीन कुलपति एलिसिया ओस्टिकरले भनिन्, ‘आफ्नो अद्वितीय कवि प्रतिभा, कथावाचक, संगीतज्ञ, संस्मरणकार, नाटककार र कार्यकर्ता व्यक्तित्वमार्फत उनले अमेरिकी भाषा, संस्कृति र आत्मालाई विस्तारित गरेकी छन् । उनको सुकल्पनात्मक न्याय आग्रही कलाले व्यक्तिगत र समग्र तिक्ततालाई सुन्दरतामा, छरपस्टताबाट ऐक्यबद्धतामा र पीडाबाट आनन्दमा पुर्‍याउँछिन् ।’

उनको सांगीतिक समूहको नाम नै ‘पोयटिक जस्टिस’ अर्थात् काव्यात्मक न्याय हो ।

सानो छँदा हार्जाे बोल्न सक्दिनथिन् । उनको बोली नै राम्रोसँग फुट्दैनथ्यो । प्राथमिक स्कुलमा पढ्दा स्कुलका शिक्षकहरूले उनी कक्षामा बोल्दिनदिन् भनेर उनका बाआमालाई चिठी पठाउँथे । उनी वास्तवमा बोल्न डराउँथिन् । पछि स्कुलमा उनले चित्रकलामा आफ्नो ध्यान दिएपछि उनी प्रचारित भइन् । उनले प्रायः सबै चित्रकलाका पुरस्कारहरू जित्न थालिन् । आफ्नी हजुरआमाको बाटो समाएर उनले एक दिन प्रख्यात कलाकार हुन्छु भन्ने मनसुवा पालेकी थिइन् । उनले सिमोन ओरिज र लेस्ली सिल्को भेटेपछि उनीहरूको साथ लागेर गालवे किन्नेलको कविता वाचन सुन्न गइन् । उनले जीवनमै पहिलोपल्ट कविता श्रवण गरेकी थिइन् । उनलाई कविताले तत्कालै मोहनी लगायो । त्यो रुचिको बीजारोपण आज अमेरिकी कविता साहित्यमा मात्र हैन, विश्वकै काव्य संसारमा व्याप्त भयो ।

उनको ‘सम्झ’ शीर्षकको कविता उनका बेजोड कविताहरूमध्ये एक मानिन्छ । त्यस कविताका केही हरफ यस्ता छन् ः

सम्झ त्यो आकाश जसमुनि तिमीले जन्म लिएका थियौ

बुझ हरेक ताराहरूका कथा

सम्झ जूनलाई, उनी को हुन् चिन । मैले भेटें तिनलाई

आयोवा सहरको यौटा भट्टीमा

सम्झ सूर्यको जन्म भएको सखारै, त्यो नै हो

समयको शक्तिशाली बिन्दु सम्झ सूर्यास्त

रातलाई समर्पित

सम्झ तिम्रो जन्म, तिम्री आमाले कसरी गरिन् संघर्ष

तिमीलाई आकार दिन र जीवत राख्न

तिमी प्रमाण हौ

उनको जीवनको, र उनकी आमाको र उनकी पनि आमाको ।

उनी भन्छिन्, ‘कविताले मलाई आवाज दिएको छ, बोल्ने बाटो दिएको छ र यसले निश्चित रूपमा दृष्टिकोणलाई धनी बनाएको छ जसले गर्दा म सब थोक झन् स्पष्टसँग देख्न सकूँ ।’ उनको विचारमा कविता मृत्युको विषयमा हुन सक्छ, विनाशको विषयमा पनि हुनसक्छ, तर त्यससँग समाधान पनि हुनुपर्छ । उनी कवितामा समाधान चाहन्छिन् । त्यसो भएन भने उनी आत्तिन्छिन् । उनको कविताको बाटो जुन भए पनि प्रेमतिरै गन्तव्य हुनुपर्छ भन्ने उनको सोचाइ हुन्छ, किनभने प्रेमले सबथोकलाई जोड्ने काम गर्छ ।

उनी सपनाको बारेमा पनि लेख्न रुचाउँछिन्, किनभने सपनाले धेरै थोक बताउँछ भन्ने उनलाई लाग्छ । उनी सपनाको कुरा ठ्याक्कै लेख्नुभन्दा त्यसको प्रभाव र जीवन्ततालाई अंकित गर्न चाहन्छिन् ।

‘तिनीसँग केही घोडा थिए’ शीर्षकको कवितामा उनी लेख्छिन्—

तिनीसँग केही घोडा थिए

तिनीसँग केही घोडा थिए

जसलाई उनी मन पराउँथिनतिनीसँग केही घोडाहरू थिए

जसलाई उनी घृणा गर्थिनयी सबै उही घोडाहरू नै त थिए ।

जोयको भनाइ छ, कविता यस्तो कला हो जुन संगीत र श्रुति परम्पराको बीचमा रहेको छ । उनका अनुसार कविता यस्तो आवाज हो जुन साधारण अवस्थामा साधारण मानिसले साधारण किसिमले भन्न सक्दैनन् तर वास्तवमा ती तिनीहरूकै मनका कुरा हुन्छन् । कविता भएन भने हामी आफ्नो बाटो बिराउँछौं ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.