ह्यारीको शाही पद खारेज

ह्यारीको शाही पद खारेज

लन्डन : राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेका बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्कललाई अब सामान्य नागरिक हुने बाटो खुलेको छ। ह्यारी दम्पतीले राजपदवी त्याग्ने प्रस्ताव महारानी एलिजाबेथ द्वितीयले स्विकारेपछि उनीहरू सामान्य जीवनयापन गर्न पाउने भएका हुन्। महारानी एलिजाबेथ द्वितीयाका तर्फबाट शनिबार बकिङघम प्यालेसले विज्ञप्ति जारी गर्दै शाही जिम्मेवारी निर्वाह गरेबापत् पाउँदै आएको कोषसमेत नपाउने स्पष्ट पारेको छ।

उनीहरूले आफ्नो निवास मर्मतका लागि लिएको २४ लाख बेलायती पाउन्डसमेत फिर्ता गर्ने छन्। तर ह्यारी र मेगनलाई राजपरिवारको सदस्यका रूपमा गरिँदै आएको ‘ड्युक एन्ड डचेज अफ ससेक्स’को सम्बोधन कायमै रहनेछ। आउँदो वसन्तदेखि लागू हुने नयाँ व्यवस्थापछि राजकुमार ह्यारीले औपचारिक रूपमा रानीको प्रतिनिधित्व गर्ने छैनन्। उनको सैनिक भूमिकासमेत अन्त्य हुनेछ। तर उनीहरूले संरक्षण र सञ्चालन गर्दै आएका च्यारिटीलाई भने निरन्तरता दिन सक्नेछन्।

शाही जिम्मेवारी त्यागेर सामान्य जीवन थाल्न चाहने राजकुमार दम्पतीको घोषणालाई राजदरबारले गम्भीरतापूर्वक लिएको ठानिएको थियो। दरबारमा चलेका शृखंलाबद्ध छलफलपछिका निर्णयबारे जानकारी दिँदै महारानीले भनेकी छन्, ‘धेरै महिनादेखिको संवाद र पछिल्लो समयका छलफलहरूपछि हामीहरू मिलेर मेरो नाती र उसको परिवारको भविष्यका लागि रचनात्मक र सहयोगी बाटो पहिल्याउन सकेकोमा म खुसी छु।’

ह्यारी, मेगन र आर्ची ( ह्यारीका छोरा) सधैं आफ्नो परिवारका अति प्रिय सदस्य रहनेछन् भन्दै महारानीकातर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘पछिल्ला दुई वर्षमा उनीहरूले सामना गरेका चुनौतीहरू म बुझ्छु र उनीहरूको स्वतन्त्र जीवनका लागि मेरो समर्थन रहनेछ। ह्यारी र उनको परिवारका सम्बन्धमा गरिएको नयाँ सहमतिले उनीहरूलाई खुसी र शान्त जीवन सुरु गर्ने मौका दिनेमा आफू र सिंगो राजपरिवार आसावादी छ।’

ह्यारीको नयाँ निर्णयको पृष्ठभूमिमा उनकी पत्नी मेगन नै रहेको भन्दै कतिपयले आलोचना गरिरहँदा महारानीले भने मेगन छोटो समयमा राजपरिवारको महŒवपूर्ण सदस्य बन्न सफल भएको भन्दै प्रशंसा गरेकी छन्। महारानीको वक्तव्य सार्वजनिक भएपछि राजकुमार ह्यारीले आफ्नो योजनामा आवश्यक सहयोग गरेको भन्दै उनलाई धन्यवाद ज्ञापन गरेका छन्।

बेलायती राजगद्दीको उत्तराधिकारीको छैठौं क्रममा रहेका राजकुमार ह्यारी र पत्नी मेगनले करिब २ साताअघि आफ्नो जीवनबारे नयाँ योजना सार्वजनिक गरेका थिए। महारानी र राजपरिवारका अन्य सदस्यसँगको परामर्शबिनै गरिएको अप्रत्यासित घोषणापछि राजदरबारमा चरणबद्ध रूपमा गम्भीर छलफल चलेको थियो। शाही जिम्मेवारी परित्याग गरे पनि ह्यारी बेलायती राजपरिवारको सदस्य र राजकुमार रहनेछन्। बकिङघम प्यालेसभित्रको उनको निवास पनि कायम रहनेछ। भविष्यमा उनी औपचारिक जिम्मेवारीमा फर्कन चाहे असम्भव नहुने बताइएको छ।

राजकुमार ह्यारी र मेगनले पदत्यागपछिको समय बेलायत र क्यानडामा बिताउने बताएका छन्। राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट पछि हटेर आर्थिक रूपमा आत्मनिर्भर बन्न काम गर्ने उनीहरूको योजना छ। औपचारिक जिम्मेवारी त्यागे पनि महारानी, राजदरबार तथा आफू संरक्षक रहेका च्यारिटीलाई आफ्नो सहयोग निरन्तर रहने उनीहरूले स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.