‘नेपालीको व्यवहारै मीठो’

‘नेपालीको व्यवहारै मीठो’

नेपाल संवाद 

गे मुभ, फ्रान्सेली नागरिक हुन्। उनले विश्वका ३० भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। जर्जियन नागरिक जुलिया लेभिनासँग बिहे गरेका मुभ हाल जर्जियामै बस्छन्। हाल उनी चौथो पटक नेपाल भ्रमणमा छन्। नेपालको प्राकृतिक सुन्दरताले आफूलाई लोभ्याउने उनी बताउँछन्। 


बोंजो  (नमस्ते ) !
बोंजो।

सञ्चै हुनुहुन्छ ?
ठीकै छु।

कस्तो लाग्दै छ, नेपाल ?  
गज्जबको छ। जति पटक आए पनि अघाउँदिनँ। यहाँ आउँदा हरेक पटक केही न केही नयाँ कुरा थाहा पाएकै हुन्छु। 

कति पटक आइसक्नुभयो र ?
यो मेरो चौथौ नेपाल भ्रमण हो।

यसअघि कहिले आउनुभएको थियो ?
सन् २०१४ को डिसेम्बरमा साथी जोयससँग पहिलो पटक नेपाल घुम्न आएको थिएँ। त्यसबेला एक जना भाइ वीरेन्द्रसँग भेट भयो। उनीसँगै काठमाडौँ उपत्यका, पोखरा, पुनहिल, पनौती, अन्नपूर्ण क्षेत्र घुमेँ। त्यो ट्रिप असाध्यै रमाइलो भएको थियो। त्यसपछि सन् २०१५ र २०१६ मा आएँ।

यसपटक एक्लै आउनुभएको छ ?
मेरी श्रीमती जुलिया भारत भ्रमणमा छिन्। हाम्रो सानो छोरा चाहिँ मसँग छ। ऊसँगै घुमिरहेको छु।

नेपालबारे कसरी थाहा पाउनुभयो ? 
मेरो आमा पर्वतारोही हुनुहुन्थ्यो। सन् १९९९ मा उहाँ हिमाल चढ्न नेपाल आउनुभएको थियो। उहाँबाटै मैले नेपालबारे थाहा पाएको हुँ। 

अरू कुन–कुन देश घुम्नुभएको छ ? 
३० भन्दा बढी देश घुमिसकेँ। स्पेन, जर्मनी, स्विट्जरल्यान्ड, अस्ट्रिया, इटली, डेनमार्क, इंग्ल्यान्ड, आइसल्यान्ड, टर्की, अमेरिका, अफ्रिका, कोलम्बिया, पेरुलगायत देश घुमेको छु। 

नेपाली परिकार मन पर्छन् ?
धेरै मरमसला भएको खाना खान सक्दिनँ। तर, सामान्य नेपाली खाना दालभात, तरकारी खूब मन पर्छ। नेपाल आउँदा मःमः नछुटाई खान्छु। इलामको चिया पनि औधी मीठो लाग्छ।

आफूलाई ‘ब्याकप्याकर’ या ‘ट्राभलर’ के भन्न रुचाउनुहुन्छ ?  
सुरु–सुरुमा म ‘ब्याकप्याकर’ नै थिएँ। धेरैजसो सोलो ट्राभलिङ नै गरेको छु। अहिले परिवार र साथीभाइसँग घुम्ने भएकोले आफूलाई ‘ट्राभलर’ भन्न रुचाउँछु।
 
नेपालमा गरेको सबैभन्दा लामो यात्रा कुन हो ?
अन्नपूर्ण क्षेत्र, मनाङ र मुस्ताङको यात्रा। 

साहसिक खेल पनि खेल्नुभयो ?
नेपाल र जर्जिया साहसिक खेलका लागि उपयुक्त ठाउँ हुन्। नेपालमा प्याराग्लाइडिङ, स्किइङको आनन्द लिएको छु।

भ्रमणका क्रममा कुनै अप्रिय क्षण भोग्नुपरेको छ ? 
त्यस्ता नमीठा पल पनि छन्, मसँग। सन् २०१५ को नेपाल भ्रमणको कुरा हो। भूकम्प जाँदा म यतै थिएँ। मसँगै अन्य साथी पनि हुनुहुन्थ्यो। हामी १२ दिने अन्नपूर्ण ट्रेकको लागि निस्केका थियाँै। अन्नपूर्ण बेस क्याम्प पुग्न थोराङ्ला पास हुँदै हिँडेका थियौं। थोराङ्ला पास गर्ने बेलामा सँगैका साथीहरूले हिउँपहिरोमा परी ज्यान गुमाए। कति साथी घाइते भए। त्यो क्षण सम्झिँदा नमज्जा लाग्छ।े

नेपाल घुम्दा के कुराले दुःखी बनाउँछ ? 
यहाँको गरिबी, अशिक्षा देख्दा दुःख लाग्छ। नेपाल आउँदा मैले पनौतीका स्थानीयलाई कृषि र पर्यावरणीय समस्याबारे बुझाउन खोजेँ। कतिपय मान्छे खुशी हुनुभयो, कतिपयले कुरै सुन्नुभएन। अर्को कुरा, नेपाल पश्चिमा खानेकुरा कोकाकोला, चिप्स, केएफसीको चंगुलमा परेको देखेर दुःख लाग्यो। यस्तो सुन्दर देशमा अग्र्यानिक चिजबिज कम पाइने रहेछ। यो पनि दुःखको कुरा हो। 

आफ्नो देश र नेपालबीच के फरक पाउनुभयो ? 
धेरै फरक छ। नेपाल भगवान् शिवको देश हो। हिमाल, पहाड र तराई भएको देश हो। यहाँ मीठो चिया र भात पाइन्छ। खुशी र माया पाइन्छ।  मेरो देश अर्थोडक्स देश हो। जहाँ हिमाल, रोटी, पोर्क र वाइन पाइन्छ। 

नेपालको के कुराले छुन्छ ? 
यहाँको विविधता, मौलिकता र मान्छेको व्यवहारले मनमा छाप छोड्छ। फेरि–फेरि नेपाल आइरहन मन लाग्छ। 

प्रस्तुतिः अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.