‘जोकरको बन्दुक’धोका विरुद्धको अभिव्यक्ति हो’

‘जोकरको बन्दुक’धोका विरुद्धको अभिव्यक्ति हो’

पाँच दशकदेखि कविता लेखनमा निरन्तर सक्रिय कवि विमल निभा नेपाली साहित्यमा यशस्वी नाम हो। उनको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’ भर्खरै प्रकाशित छ। ‘आगोनेर उभिएको मानिस’ र ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासंग्रहका सर्जक निभा चोटिलो व्यंग्य लेखनका लागि पनि परिचित छन्। उनको स्तम्भ ‘सिउँडी’ लोकप्रिय छ। नयाँ कवितासंग्रह र उनको समग्र काव्ययात्राबारे ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजङ्ग रायमाझीले कवि निभासँग संवाद गरेका छन्ः 

‘जोकरको बन्दुक’मा लोकतन्त्र प्राप्तिपछि लेखिएका कविता बढी समेटिएका छन्। यसबाट तपाईंले अभिव्यक्त गर्न खोजेको मुख्य कुरा के हो ? 

‘जोकरको बन्दुक’भित्रका कविता धोका विरुद्धको अभिव्यक्ति हो। राजनीतिक–सामाजिक परिवर्तनको लयलाई आज जुन विश्राम दिन खोजियो, त्यसप्रति मेरो असहमति हो। कुनै पनि कविले एकै शैलीले कविता भन्नु हुँदैन। समयअनुसार नयाँ–नयाँ शैलीले भन्नुपर्ने हुन्छ। यसर्थ शैलीमा केही नयाँपन दिन खोजेको छु। तर, वैचारिक धारको निरन्तरतालाई मैले तोडेको छैन। विषयवस्तु र अभिव्यक्तिको बान्कीलाई भने नयाँ किसिमले प्रस्तुत गर्न खोजेको हुँ।

एउटा कालखण्डमा म कविता लेखनमा निष्क्रिय थिएँ। त्यो अन्तरालले मभित्र छटपटी थियो। त्यो छटपटी एकैचोटि विष्फोट हुँदा कुनै झिल्को सबल भयो होला र कुनै झिल्को निर्बल भयो होला। तर, यो संग्रहमा विश्व परिवेश र त्यसबाट सृजित परिस्थितिको चित्र समेट्न सक्ने कविताहरू सँगालेको छु। 

‘जोकरको बन्दुक’मा एकैसालमा लेखिएका कविताको बाहुल्य छ। ‘कहिल्यै हतार नगर्ने विमल निभाले हतार गरेको हो कि’ भन्ने पाठकको गुनासो छ नि।

पाठकको मप्रतिको मूल्यांकन ठीकै होला। तर, मैले सक्दो प्रयास गरेको छु। 

साहित्यकार शार्दूल भट्टराईले ‘रिमाल, भूपी र विमल निभा’ भन्ने वाक्यांश पटक–पटक प्रयोग गरेर तपाईंको कवितामाथि भूमिका लेख्नुभएको छ। यो वाक्यांशप्रति तपाईं मत के छ ?

म कविता लेखनको जुन परम्पराबाट आएको हुँ, त्यसको आरम्भ गोपालप्रसाद रिमालबाटै भएको हो। त्यसलाई समृद्ध पार्न भूपी शेरचनले थप योगदान गरे। यी दुई युगीन कविका जगमा नै नेपाली गद्य कविता यहाँसम्म आयो, जसलाई हामी नकार्न सक्दैनौँ । फेरि मैले आदर्श ठानेका कविहरूको नामसँग मेरो नाम जोडिँदा खुशी नै छु। यी कविसँग मेरो नाम जोडिनुले म सफल भएको नठाने पनि सफलताको नजिकै पुग्न सकेको महसुस गर्न सक्छु।

कवि शैलेन्द्र साकारले तपाईंमाथि विश्लेषण गर्दा ‘विमल निभाका कवितामा कलापक्ष केही कमजोर छ, यद्यपि उनको कविताको शक्तिमाथि म विश्वस्त छु’ भन्नुभएको छ। कवि साकारको यो टिप्पणीलाई तपाईं के भन्नुहुन्छ ?

सायद कवि साकारको कविताप्रतिको धारणामा म फिट नभएको हुँ। तर, मैले कविता लेख्दा विचार र कलाको संयोजन गर्ने भरसक प्रयास गरेको हुन्छु। कवितालाई पाठकमाझ सकेसम्म बढी साक्षात्कार गराउन सजिलो होस् भन्ने शैलीले म लेख्छु। मेरा समकालीन कवि शैलैन्द्र साकारजीको विचारलाई म सम्मान गर्छु।

यहाँले पाँच दशकभन्दा बढी समय कविता लेख्नुभयो। यो यात्राको सार्थकता र उपलब्धि केलाई मान्न्नुहुन्छ ?

मैले लेखेर समाजसँग संवाद स्थापित गर्न सकेँ। सार्थकता यही हो। यो संवादमा मेरा कविताको पनि आफ्नै योगदान होला, जसबाट मैले समाजमा आफूलाई प्रस्तुत गर्न सकेँ। उपलब्धि त केबाट मापन गर्ने ? उपलब्धि नापजोख गर्न मिल्दैन। कविता लेखेकै कारण समाज र परिवर्तन सँगसँगै रहन पाएँ। पाठकबाट पाएको ‘रेस्पोन्स’ र सद्भाव पनि त उपलब्धि नै हुन्।

पछिल्लो दशक लेखिएका प्रगतिशील कविताहरू कलाविहीन र विचारविहीन भएको आरोप छ नि ?

यो आरोप पहिला–पहिलाका (दुई–तीन दशकअघि) सबै प्रगतिशील कवितालाई लाग्ने चल्तीको आरोप थियो। तर, आज यो आरोपलाई म मान्दिनँ। आजका प्रगतिशील र जनवादी कविता आजसम्मकै उत्कृष्ट लयमा छन्। धेरै सशक्त कविहरू यही समयमा देखापरेका छन्। कलासम्पन्न, विचारसम्पन्न र आफ्नो युगको स्वर उतार्न सक्ने कविता यही पछिल्लो दशकमा लेखिएका छन्।

नयाँ कवि र कविताप्रति तपाईंको दृष्टिकोण ?

आजसम्मको प्रगतिशील कवितामा आएको सबैभन्दा सबल जमात अहिलेकै कविहरू हुन्।  अहिलेको कविताको ‘सार्थक पुँजी’ पनि यिनै कवि हुन् भन्ने लाग्छ मलाई। उनीहरू समाज र समयसँग प्रश्न गर्न सक्षम छन्।

तपाईं कविता र साहित्यबारे सार्वजनिक मञ्चमा कम बोल्ने स्रष्टामा पर्नुहुन्छ। बोल्न किन यति उदासीन हुनु भएको हो ? 

म त्यति मुखर छैन, किनभने सबैको आ–आफ्नै स्वभाव हुन्छ। हाम्रोमा साहित्यबारे छलफल गर्ने अलोचक, समालोचक नभएरै कविहरू आफैँ यो कर्ममा लागेका हुन्। कविताबारे घगडान बहस गर्नेहरू नै छन्। मैले मेरा रचनामार्फत भन्नुपर्ने कुरा भनेकै छु। त्यसलाई व्याख्या गर्ने, विस्तार गर्ने काममा मेरो संलग्नता छैन। आफ्नाबारे आफैँ बोल्दा म अतिवादको शिकार हुन्छु, वा बढी नै भलाद्मीपनले थिचिएर ‘मैले त केही लेखेकै छैन, यसो प्रयास गर्दै छु’ भन्छु होला। यसैले साहित्यबारे बोल्ने काम समालोचक, आलोचक र अध्येताहरूको कर्म हो भन्ने ठान्छु।

‘व्यंग्य’, ‘कविता’ र ‘विमल निभा’। यी तीन शब्दलाई एकअर्काका पर्याय भन्न मिल्छ ?

मेरो लेखनको एउटा धार व्यंग्य नै हो। यसैले म कवितामा व्यंग्य बढी प्रयोग गर्छु। आजको लेखनको सबैभन्दा सशक्त हतियार व्यंग्य हो भन्ने विश्वास पनि गर्छु। व्यंग्यको हतियारले नै रचना तीक्ष्ण पार्न सकिन्छ। व्यंग्यविहीन साहित्यमा म केही रिक्तता र अभाव देख्छु। यस हिसाबमा हेर्दा यी तीन शब्द एकअर्काका पर्यायजस्ता देखिन सक्छन्। तर, व्यंग्यलाई सही प्रयोग चाहिँ गर्न सक्नुपर्छ। आजको व्यंग्य, वक्रोक्ति वा हास्यव्यंग्यलाई बढी नै सस्तो बनाइएको छ। यसप्रति चाहिँ मेरो असहमति छ। 

‘कविता र फोहोर लुगाहरू’ भन्ने तपाईंको एउटा कविता छ। त्यसमा तपाईंले ‘म कविताको आत्मालाई हत्या गर्न सक्दिनँ, बन्धुहरू !’ भन्नुभएको छ। कविताको आत्मा चाहिँ के हो ? 

मेरो दोस्रो कवितासंग्रह ‘एउटा बाहुला नभएको बुसर्ट’मा यो कविता राखेको छु। त्यहाँ कविताको आत्मा भनेर मैले कविताको अन्तर्य भन्न खोजेको हुँ। कविताको मूलभूत कुरालाई नै आत्मा भन्न खोजेको हुँ। किनभने, कुनै एउटा बिन्दु वा विचारको कोणलाई समातेर नै साहित्य र कविता लेखिन्छ। त्यसैलाई मैले आत्मा भन्न खोजेको हुँ। त्यही आत्माको जगमा टेकेर कविता सयौँ वर्ष उभिन सक्छ। 

‘गाउँ’ भन्ने तपाईंको कविता समकालीन तथा युवा पुस्ताका कविमाझ लोकप्रिय छ। त्यो कविता लेख्दाको अवस्था बताइदिनुस् न।

यो कविता २०३०–३२ सालमा लेखेको हुँ। वीरगञ्जमा नै बसेर लेखेको हुनाले त्यो कवितामा स्थानीय स्वाद आएको होला। यो कवितामा मैले एउटा आम गाउँको चरित्र उर्तान खाजेको छु। रामगढवा नामक त्यो गाउँ वीरगञ्ज शहरसँगै जोडिएको छ। त्यतिबेलाको वर्गीय संघर्ष र तल्लो वर्गमाथि समाजको उपल्लो वर्गले गरेको निर्मम उत्पीडनले मलाई यो कविता लेख्न प्रेरित गरेको हो। यो कवितालाई मेलै आफ्नो पहिलो कवितासंग्रह ‘आगोनेर उभिएको मानिस’मा समेटेको छु।

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2851)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.