प्रचण्ड गोर्खाको उत्खनन

प्रचण्ड गोर्खाको उत्खनन

माधवराज जोशी, कृष्णप्रसाद कोइराला, कृष्णलाल आधिकारी, देवीप्रसाद सापकोटा, तुल्सी मेहरजस्ता थुप्रै सहिदले राणाशासनको विरोधमा चर्खा प्रचार, लाइब्रेरी र गोर्खा लिगका नाममा सक्रियता नदेखाएका होइनन् । तिनै सहिदको बलिदानको जगमा संगठित रूपमा १९८८ साउन २८ गते ‘प्रचण्ड गोर्खा’ नामक राजनीतिक संगठन जन्मियो ।

राणाशासन अन्त्य गरी राजाको वैधानिक नेतृत्वमा प्रजा प्रतिनिधिद्वारा शासन व्यवस्था सञ्चालन गर्नु यसको मूल उद्देश्यमा पथ्र्यो । यसको नेतृत्व कप्तान अखण्डमान सिंहले गरेका थिए बने सदस्यमा मैनाबहादुर खत्री, खड्गमान सिंह, रंगनाथ शर्मा, उमेशविक्रम शाह र लक्ष्मण राजा थिए ।

यो आन्दोलन महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट अनुप्राणित भएर पनि यसका सदस्य बने पाँचैजना हिंसाको पक्षधर थिए । सोहीअनुसारको कार्यनीति तय भएपछि यिनीहरू बागमतीमा हात चोपी किरिया खाई पशुपतिको दर्शन गरी फर्के । कप्तान खण्डमान सिंह राणाहरूको अपमानजनक व्यवहार देखेभोगेर जागिर छाडेरै लागेका थिए । उनका बाबु दिलिप सिंह राणाहरूकै सरदार थिए । संस्थापक मैनाबहादुर खत्रीको जन्म नेपालमा भए पनि बाबुसँग कलकतामा बस्न थाले । त्यहाँ बस्दा आन्दोलनको प्रभाव परेको थियो ।

त्यसपछि दुवै भाइ राणाशासन अन्त्य गर्ने निर्णयमा पुगे । पहिलोपल्ट राजनीतिक संगठन खोल्न तयार हुने खड्गमान सिंह १९६४ सालको फागुपूर्णिमामा डिल्लीबजारको सतलमा भएको थियो । १९६४ सालमा जन्मेका रंगनाथ शर्मा पनि खड्गमान सिंहको सल्लाहमा प्रतिबद्ध भए । अर्का सदस्य उमेशविक्रम शाह भने भारतमा निर्वासित हुँदाहुँदै प्रचण्ड गोर्खामा तन, मन र धनले सहयोग गर्न तयार भए । नवविवाहित भएका कारण साथीहरूले आर्थिक सहयोगको मात्र अपेक्षा गरे पनि यिनी स्वेच्छाले होमिए ।

राजा त्रिभुवनसँग सम्पर्क सूत्रका रूपमा लक्ष्मण राजा भनिने साहेबलाई पनि विश्वासमा लिइयो । तर राणाहरूको अन्त्य गर्ने कुरामा एकमत हुन सकेन । लक्ष्मणको रायमा, ‘पहिले महाराज एउटालाई खत्तम पार्ने । त्यसपछि अर्कोले स्वतः सुधार्नेछ ।’ तर अर्को पक्षको भने, आफ्नो काकादाजुलाई मार्ने–लघार्ने राणाहरूले पहिलो हत्यापछि नै शंका लागेका युवकलाई मार्नेछन् । त्यसैले एकपटकमा सबैलाई सिध्याउनुपर्छ ।’ लक्ष्मणको राय बाझिनुको अन्तर्य रहेछ । तत्कालीन महाराज भीमशमशेरलाई मारेपछि रोलक्रमले उनका ससुरा जुद्धशमशेर श्री ३ हुने रहेछन् । अभीष्ट पूरा नहुने देखेपछि उनले वगावतपट्टि लागे । जसले राजासँग सम्पर्क राख्ने सपना मात्र तुहिएन बरु १९८८ साल साउनको २५ गते थमौतीका दिनमा डिल्लीबजार र कालिकास्थानको साँघुरो मोडमा एकै चिहान बनाउने योजनाको अघिल्लो दिनमै लक्ष्मण राजाको पोलमा उनीहरू पाँचैजनालाई महाराजको टंगाल दरबार लगियो ।

बेहोस हुने गरी पिटेर खड्गमान सिं र मैनाबहादुरलाई कायल गरेपछि खड्गमान सिंहको पालो आयो । उनको वह यस्तो छ, ‘मलाई सामुन्ने गराउनेबित्तिकै भीमशमशेरले गर्जेला भने, मैले शाह छैन भन्ने जवाफ दिएँ । फेरि थाहा छैन भनेर थाहा पाउँछस् भनी गर्जिए ।’ खड्गमान थप्छन्, ‘म जवान थिएँ २३ वर्षको । भारतको आन्दोलन देखेको थिएँ । रूस, अमेरिका, फ्रान्सको स्वाधीनता संग्राम पढेको थिएँ । अनि भोगेको थियो राणाहरूको अत्याचार । मैले जोसमा आएर ‘लौ गोली हान भनेर कमिज च्यातेर छाती थापिदिँए । त्यसपछि गोली यही हो भन्दै चारैतिरबाट कोर्रा बर्साए । अन्ततः म बेहोस भएँ ।’

साउन २८ । चकमन्न मध्यराति मैनबहादुर नैनबहादुर, खण्डमान, रंगनाथ र खड्गबहादुर चारजनालाई संगीनले घेरेर नेल, हतकडी र गलफन्दीसहित जेल चलान गरियो । उनीहरूलाई सरासर गोलघर लगियो । कालो, मैलो र ध्वाँसो लागेको हाँडी र कतारा झुन्ड्याइएको पिँजडा नं ९६ मा पसाले । खड्गमान २० वर्ष गुजारेको गोलघरको बयान यसरी गर्छन्, ‘लम्बाइ दस फिट चौडाइ ६ फिट र उचाइ जम्मा पाँच फिट । त्यसमा चारजना राख्दा जनही १५ वर्ग फिटमा भान्सा, सुत्ने कोठा, भेट्ने ठाउँ, चर्पी सबैथोक त्यहीं । त्यो उभिन नहुने ठाउँमा कैदीले टुकी ल्याइदिए र ताल्चा मारे । खालि फलामे डन्डी भएको ढोका मात्र भएको, झ्याल थिएन । हामी थपिएपछि गोलघरमा जम्मा ५५ जना कैदी भयौं ।

बीच चोकको फलामे ढोकामा बस्थे ज्यानमारा कैदीहरू । सिधाका हकमा ‘हामी जेल पर्दा चुन हालेको चामल लिए एक माना, हकुवा लिए पाँचचौथाइ । मासको दाल र नुन एक मुठीको चार खण्ड, दुई सिधा बेच्दा दुई ढिँडी खुर्सानी र एकमुठी दाउरा । सिधा बेच्दा दश पैसा र लुगा बेच्दा पाँच सुकासम्म मिल्थ्यो । बाँच्नभन्दा मार्न दिएको सिधाबाट खण्डमान र मैना दाइको क्षयरोसग लागेर निधन भयो । उमेश विक्रमलाई नाताले जोगाए । रंगनाथ पनि भनसुनबाट भारत भगाइए । परिवार भेट्नसमेत निषेध । पत्रपत्रिकाको कुरै भएन । काटिन गएको मान्छे गोलघरमा बाँच्न पाउँदा म सन्तुष्ट छु’ खड्गमान भन्छन् । राणाहरूका मनमा कांग्रेस शब्द सुन्नासाथ कोतपर्वको अपमान र प्रतिहिंसाको ज्वाला दन्किन्थ्यो । उनको दुशासनको दृष्टिमा सबै सन्त देशभक्त, गरिब सबैलाई कांग्रेसी भन्थे । रामायण, गीताको अर्थ लगाउने, माक्र्स र गान्धीका कुरा गर्ने सबै कांग्रेसी ठानिन्थे ।

सहिदहरूको बलिदानको ठीक १० वर्षपछि राजबन्दी छुटेपछिको दृश्यलाई जिउँदा सहिद टंकप्रसाद आचार्य यसरी व्यक्त गर्छन्, ‘हामीलगायत राजबन्दी ८० जनाजति थिए । कफ्र्यु लागेको घेरा नाघ्नासाथ जनताको अपार भीडले समुद्रको छालले झैं छोप्यो । उठाएर बोक्ने, अँगालो हाल्ने फूल दिने, माला लगाइदिने र लावा छर्नै गर्दथे । त्यहाँबाट नयाँ सडकको ढोकासम्म आउन दुई घन्टा लागेको थियो । यट्खा टोलमा आठ बजे राति पुग्दा अपार भीडले जिन्दावादको गगनभेदी नारा लगायो । त्यसपछि खड्गमान सिंहले ‘स्वर्गबाट हेर्नोस् हे वीर हो । जाग्यौं हामी कर्तव्य सम्झेर’ भन्ने गीत गाए । प्रचण्ड गोर्खामा आफू मात्र बाँकी रहेकाले र टंकप्रसादसँग जेल बसेकाले खड्गमान पनि प्रजापरिषद्मा पसे । राजा त्रिभुवनले उनकै नातेदार प्रजाराज्य लक्ष्मीसँग राजकीय सम्मानका साथ विवाह गराइदिए । मन्त्री बनाइदिए ।

पञ्चायतमा अञ्चलाधीश हुँदै राजदूत भए पनि आफू पञ्च नभएको र घरजग्गा नजोडेको भन्दै २०४६ सालको जनआन्दोलनलाई समर्थन गरेको बकपत्र आफ्नो पुस्तक ‘जेलबाहिर बयालीस वर्ष’ मा लेखेका छन् । २०५५ सालमा प्रजापरिषद् र राष्ट्रिय झन्डामा ओडेर आर्यघाटमा देह त्यागे । सायद पिँजडामा कुँजिएर बिताएका खड्गमानलाई विम्ब बनाएर कवि भूपीले कोरे, ‘मरेर जाने सहिदहरू हो, जिएर त हेर जिउन कति गाह्रो छ ।’ फेरि भने ‘बन्दैन देश दुईचार सहिद मरेर नगए ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.