प्रचण्ड गोर्खाको उत्खनन
माधवराज जोशी, कृष्णप्रसाद कोइराला, कृष्णलाल आधिकारी, देवीप्रसाद सापकोटा, तुल्सी मेहरजस्ता थुप्रै सहिदले राणाशासनको विरोधमा चर्खा प्रचार, लाइब्रेरी र गोर्खा लिगका नाममा सक्रियता नदेखाएका होइनन् । तिनै सहिदको बलिदानको जगमा संगठित रूपमा १९८८ साउन २८ गते ‘प्रचण्ड गोर्खा’ नामक राजनीतिक संगठन जन्मियो ।
राणाशासन अन्त्य गरी राजाको वैधानिक नेतृत्वमा प्रजा प्रतिनिधिद्वारा शासन व्यवस्था सञ्चालन गर्नु यसको मूल उद्देश्यमा पथ्र्यो । यसको नेतृत्व कप्तान अखण्डमान सिंहले गरेका थिए बने सदस्यमा मैनाबहादुर खत्री, खड्गमान सिंह, रंगनाथ शर्मा, उमेशविक्रम शाह र लक्ष्मण राजा थिए ।
यो आन्दोलन महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट अनुप्राणित भएर पनि यसका सदस्य बने पाँचैजना हिंसाको पक्षधर थिए । सोहीअनुसारको कार्यनीति तय भएपछि यिनीहरू बागमतीमा हात चोपी किरिया खाई पशुपतिको दर्शन गरी फर्के । कप्तान खण्डमान सिंह राणाहरूको अपमानजनक व्यवहार देखेभोगेर जागिर छाडेरै लागेका थिए । उनका बाबु दिलिप सिंह राणाहरूकै सरदार थिए । संस्थापक मैनाबहादुर खत्रीको जन्म नेपालमा भए पनि बाबुसँग कलकतामा बस्न थाले । त्यहाँ बस्दा आन्दोलनको प्रभाव परेको थियो ।
त्यसपछि दुवै भाइ राणाशासन अन्त्य गर्ने निर्णयमा पुगे । पहिलोपल्ट राजनीतिक संगठन खोल्न तयार हुने खड्गमान सिंह १९६४ सालको फागुपूर्णिमामा डिल्लीबजारको सतलमा भएको थियो । १९६४ सालमा जन्मेका रंगनाथ शर्मा पनि खड्गमान सिंहको सल्लाहमा प्रतिबद्ध भए । अर्का सदस्य उमेशविक्रम शाह भने भारतमा निर्वासित हुँदाहुँदै प्रचण्ड गोर्खामा तन, मन र धनले सहयोग गर्न तयार भए । नवविवाहित भएका कारण साथीहरूले आर्थिक सहयोगको मात्र अपेक्षा गरे पनि यिनी स्वेच्छाले होमिए ।
राजा त्रिभुवनसँग सम्पर्क सूत्रका रूपमा लक्ष्मण राजा भनिने साहेबलाई पनि विश्वासमा लिइयो । तर राणाहरूको अन्त्य गर्ने कुरामा एकमत हुन सकेन । लक्ष्मणको रायमा, ‘पहिले महाराज एउटालाई खत्तम पार्ने । त्यसपछि अर्कोले स्वतः सुधार्नेछ ।’ तर अर्को पक्षको भने, आफ्नो काकादाजुलाई मार्ने–लघार्ने राणाहरूले पहिलो हत्यापछि नै शंका लागेका युवकलाई मार्नेछन् । त्यसैले एकपटकमा सबैलाई सिध्याउनुपर्छ ।’ लक्ष्मणको राय बाझिनुको अन्तर्य रहेछ । तत्कालीन महाराज भीमशमशेरलाई मारेपछि रोलक्रमले उनका ससुरा जुद्धशमशेर श्री ३ हुने रहेछन् । अभीष्ट पूरा नहुने देखेपछि उनले वगावतपट्टि लागे । जसले राजासँग सम्पर्क राख्ने सपना मात्र तुहिएन बरु १९८८ साल साउनको २५ गते थमौतीका दिनमा डिल्लीबजार र कालिकास्थानको साँघुरो मोडमा एकै चिहान बनाउने योजनाको अघिल्लो दिनमै लक्ष्मण राजाको पोलमा उनीहरू पाँचैजनालाई महाराजको टंगाल दरबार लगियो ।
बेहोस हुने गरी पिटेर खड्गमान सिं र मैनाबहादुरलाई कायल गरेपछि खड्गमान सिंहको पालो आयो । उनको वह यस्तो छ, ‘मलाई सामुन्ने गराउनेबित्तिकै भीमशमशेरले गर्जेला भने, मैले शाह छैन भन्ने जवाफ दिएँ । फेरि थाहा छैन भनेर थाहा पाउँछस् भनी गर्जिए ।’ खड्गमान थप्छन्, ‘म जवान थिएँ २३ वर्षको । भारतको आन्दोलन देखेको थिएँ । रूस, अमेरिका, फ्रान्सको स्वाधीनता संग्राम पढेको थिएँ । अनि भोगेको थियो राणाहरूको अत्याचार । मैले जोसमा आएर ‘लौ गोली हान भनेर कमिज च्यातेर छाती थापिदिँए । त्यसपछि गोली यही हो भन्दै चारैतिरबाट कोर्रा बर्साए । अन्ततः म बेहोस भएँ ।’
साउन २८ । चकमन्न मध्यराति मैनबहादुर नैनबहादुर, खण्डमान, रंगनाथ र खड्गबहादुर चारजनालाई संगीनले घेरेर नेल, हतकडी र गलफन्दीसहित जेल चलान गरियो । उनीहरूलाई सरासर गोलघर लगियो । कालो, मैलो र ध्वाँसो लागेको हाँडी र कतारा झुन्ड्याइएको पिँजडा नं ९६ मा पसाले । खड्गमान २० वर्ष गुजारेको गोलघरको बयान यसरी गर्छन्, ‘लम्बाइ दस फिट चौडाइ ६ फिट र उचाइ जम्मा पाँच फिट । त्यसमा चारजना राख्दा जनही १५ वर्ग फिटमा भान्सा, सुत्ने कोठा, भेट्ने ठाउँ, चर्पी सबैथोक त्यहीं । त्यो उभिन नहुने ठाउँमा कैदीले टुकी ल्याइदिए र ताल्चा मारे । खालि फलामे डन्डी भएको ढोका मात्र भएको, झ्याल थिएन । हामी थपिएपछि गोलघरमा जम्मा ५५ जना कैदी भयौं ।
बीच चोकको फलामे ढोकामा बस्थे ज्यानमारा कैदीहरू । सिधाका हकमा ‘हामी जेल पर्दा चुन हालेको चामल लिए एक माना, हकुवा लिए पाँचचौथाइ । मासको दाल र नुन एक मुठीको चार खण्ड, दुई सिधा बेच्दा दुई ढिँडी खुर्सानी र एकमुठी दाउरा । सिधा बेच्दा दश पैसा र लुगा बेच्दा पाँच सुकासम्म मिल्थ्यो । बाँच्नभन्दा मार्न दिएको सिधाबाट खण्डमान र मैना दाइको क्षयरोसग लागेर निधन भयो । उमेश विक्रमलाई नाताले जोगाए । रंगनाथ पनि भनसुनबाट भारत भगाइए । परिवार भेट्नसमेत निषेध । पत्रपत्रिकाको कुरै भएन । काटिन गएको मान्छे गोलघरमा बाँच्न पाउँदा म सन्तुष्ट छु’ खड्गमान भन्छन् । राणाहरूका मनमा कांग्रेस शब्द सुन्नासाथ कोतपर्वको अपमान र प्रतिहिंसाको ज्वाला दन्किन्थ्यो । उनको दुशासनको दृष्टिमा सबै सन्त देशभक्त, गरिब सबैलाई कांग्रेसी भन्थे । रामायण, गीताको अर्थ लगाउने, माक्र्स र गान्धीका कुरा गर्ने सबै कांग्रेसी ठानिन्थे ।
सहिदहरूको बलिदानको ठीक १० वर्षपछि राजबन्दी छुटेपछिको दृश्यलाई जिउँदा सहिद टंकप्रसाद आचार्य यसरी व्यक्त गर्छन्, ‘हामीलगायत राजबन्दी ८० जनाजति थिए । कफ्र्यु लागेको घेरा नाघ्नासाथ जनताको अपार भीडले समुद्रको छालले झैं छोप्यो । उठाएर बोक्ने, अँगालो हाल्ने फूल दिने, माला लगाइदिने र लावा छर्नै गर्दथे । त्यहाँबाट नयाँ सडकको ढोकासम्म आउन दुई घन्टा लागेको थियो । यट्खा टोलमा आठ बजे राति पुग्दा अपार भीडले जिन्दावादको गगनभेदी नारा लगायो । त्यसपछि खड्गमान सिंहले ‘स्वर्गबाट हेर्नोस् हे वीर हो । जाग्यौं हामी कर्तव्य सम्झेर’ भन्ने गीत गाए । प्रचण्ड गोर्खामा आफू मात्र बाँकी रहेकाले र टंकप्रसादसँग जेल बसेकाले खड्गमान पनि प्रजापरिषद्मा पसे । राजा त्रिभुवनले उनकै नातेदार प्रजाराज्य लक्ष्मीसँग राजकीय सम्मानका साथ विवाह गराइदिए । मन्त्री बनाइदिए ।
पञ्चायतमा अञ्चलाधीश हुँदै राजदूत भए पनि आफू पञ्च नभएको र घरजग्गा नजोडेको भन्दै २०४६ सालको जनआन्दोलनलाई समर्थन गरेको बकपत्र आफ्नो पुस्तक ‘जेलबाहिर बयालीस वर्ष’ मा लेखेका छन् । २०५५ सालमा प्रजापरिषद् र राष्ट्रिय झन्डामा ओडेर आर्यघाटमा देह त्यागे । सायद पिँजडामा कुँजिएर बिताएका खड्गमानलाई विम्ब बनाएर कवि भूपीले कोरे, ‘मरेर जाने सहिदहरू हो, जिएर त हेर जिउन कति गाह्रो छ ।’ फेरि भने ‘बन्दैन देश दुईचार सहिद मरेर नगए ।’
प्रतिक्रिया दिनुहोस !