मौलिक बन्दीपुरमा मौलिकताको आनन्द

मौलिक बन्दीपुरमा मौलिकताको आनन्द

बन्दीपुर : यसै पनि चिरिच्याट्ट रहने नेवारी बजार। शुक्रबार झनै सजिएको थियो। विभिन्न ठाउँमा स्वागतद्वार, ब्यानर अनि नेवारी बाजाकै धुन। तनहुँको सदाबहार सुन्दर पर्यटकीय गन्तव्य बन्दीपुर बेग्लै मुडमा थियो। सवारी साधन निषेधित गरिएको सहरमा पाइला राख्ने जोकोहीलाई शुक्रबार केही उत्सवको महसुस भइरहेको थियो। रेबानले पर्यटन वर्ष लक्षित साँस्कृतिक कार्यक्रम आयोजना गरेको दिन अफ सिजनमा पनि देखिएको बाक्लो आन्तरिक पर्यटकको चहलपहलले व्यवसायीमा बेग्लै उत्साह बढायो।

बजारका हरेक होटलले पाहुनाको स्वागतका लागि घर अगाडि सडकमै कुर्सी र टेबलको व्यवस्था गरेका थिए। पाहुनाका लागि मौलिक नेवारी र गुरुङ अनि मगरका परिकार सडकमै बसेर खाने व्यवस्था मिलाइएको थियो। पाहुना स्टेजमा भइरहेको साँस्कृतिक र सांगीतिक कार्यक्रम हेर्दै मौलिक परिकार चाखिरहेका थिए। प्राचीन भक्तपुरे शैलीका भवन ज्युँदै रहेको यस बजार साँस्कृतिक पर्यटनका लागि विशेष महत्व रहेको विश्वासका साथ साँस्कृतिक साँझ आयोजना गरिएको आयोजक रेबानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले बताए। ‘सम्पदा र कला संस्कृति जोगाएको यस सहरजस्तै अरु पनि अघि बढ्नुपर्छ भन्ने सन्देश दिन यहीँबाट पर्यटक लक्षित कार्यक्रम थालेका हौं’, उनले भने।

कार्यक्रमको उद्घाटन गर्न पुगेका नेपाल पर्यटन वर्ष आयोजक समितिका संयोजक सुरज वैद्य स्थानीय संस्कृतिको जीवन्तताबाट मोहित भए। ‘बन्दीपुरले आफ्नो पुरानो संस्कृति जोगाइरहेको छ’, उनले भने, ‘यसबाट अरुले पनि सिक्नु जरुरी छ।’ पर्यटन वर्षमा संख्याभन्दा पनि देशको प्रचार बढी गरेर दीर्घकालीन रूपमा बढी पर्यटक ल्याउने वातावरण बनाउनु जरुरी रहेको उनले बताए। ‘पत्रकार मित्रले वर्षको अन्त्यमा कति पर्यटक आए भनेर सोध्नुहुन्छ’, उनले भने, ‘हामी कार्यक्रम र संख्याभन्दा आर्थिक विकासमा दीर्घकालीन हिसाबले प्रभाव दिने ब्रान्डिङमा केन्द्रित छौं।’

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले अन्तर्राष्ट्रिय रूपमा पनि प्रसिद्धि कमाएको बजारमा धेरै समय बस्ने गरी पर्यटक ल्याउन थप सोचिनुपर्ने बताए।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले प्राचीन व्यापारिक केन्द्रका रूपमा समेत रहेको सहर कहिल्यै पनि मर्ने अवस्थामा नपुगेको भन्दै पर्यटकीय विकासका काम अघि बढिरहेको बताए।

सामान्यतः पाहुना कम हुने समयमा पनि खचाखच पाहुनाका कारण हौसिएका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले पर्यटक लक्षित कार्यक्रमको संख्या वृद्धि गर्न सकिए कहिल्यै पनि खाली हात बस्नु नपर्ने जिकिर गरे। ‘सक्दो प्रचार नै हाम्रो मुख्य प्राथमिकता हो’, उनले भने। बन्दीपुर मुल थलो भएका क्यान्सर विशेषज्ञ डा.मदन पिया अफ सिजनको चहलपहलबाट हौसिएका थिए। कार्यक्रम गर्न मुख्य समन्वय गरेको बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष उनले बन्दीपुरलाई जगाइराख्न थप क्रियाकलाप गरिने प्रतिबद्धता जनाए।

नेवारी संस्कृतिमा आधारित क्याटवाक, मगर संस्कृति अनि नेपाली कलाकार योजना पुरी, निशान भट्टराईलगायत प्रस्तुतीमा रमाएका दर्शकलाई चिसोले खासै प्रभाव नपरेको प्रतित हुन्थ्यो। बजारभर मौलिक खानाको स्वाद पाइरहेका दर्शक मध्यरातको बजारको झिलमिलबाट मोहित थिए। ‘यस्ता दृश्य जहिँकहिँ देख्न पाइँदैन’, राति अबेर बासस्थानतिर लम्कँदै गरेका चीतवनका सुरेश प्रधानले भने, ‘बन्दीपुरजस्तै मौलिक संस्कृति जोगाउने हो भने पर्यटकको कमी रहन्नँ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.