क्यान्सर ह्याज नो यान्सर !
दुर्भाग्पूर्ण संयोग नै मान्नुपर्छ– वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालकै परिवारमा ६२ जनालाई क्यान्सर लागेको रहेछ। ‘अन्नपूर्ण पोस्ट’ को राउन्ड टेबलमा आफ्नै परिवारको उदाहरण दिँदै उनले भने, ‘क्यान्सर ह्याज नो यान्सर।’
त्यसअघि नै मैले यसको अनुभूति गरिसकेकी थिएँ। गत शुक्रबार कार्यालयमा यसो फेसबुकमा छिरेकी मात्र के थिएँ, त्यहाँ राखिएको एउटा श्रद्धाञ्जली सन्देशले स्तब्ध भएँ। सामाजिक सञ्जालका यस्ता श्रद्धाञ्जलीमा ‘भावपूर्ण श्रद्धाञ्जली’ लेखिरहने मेरा औंलाहरू त्यस दिन भने थरथर काँपे। मेरी प्यारी साथी पार्वती अधिकारी यस दुनियाँमा थिइनन्। र, धेरैले उनकै चिरशान्तिको कामना गरेका थिए फेसबुकभरि।
मनको आँसु नथामिएर आँखाको डिलसम्मै आइपुग्यो। अफिसमा साथीहरूले देख्लान् भनेर बाथरुममा गएर पुछें। भक्कानिएर आए पनि सम्हालिने कोसिस गरें। पहिले त मलाई यो खबर सही हो भन्नेमा विश्वास नै लागेन। फेरि यसलाई पुष्टि गर्ने माध्यम केही भेटिनँ। उनका आफन्त मेरो सम्पर्कमा कोही थिएनन्। फोन गर्न उहाँहरूको नम्बर पनि त थिएन। अफिसमा त्यत्तिकै छट्पटिएर बसेकी थिएँ, एक्कासि मेसेन्जरमा उनका पतिले पठाएको त्यही सन्देश देखें। त्यो हेरेपछि अब पार्वती हामीमाझ रहिनन् भन्ने विश्वास गर्न मलाई बाध्य बनायो। उनका दुई अबोध छोराहरूलाई सम्झिएँ। म आफैंभित्र कहाँ हराएँ, आफैंलाई पत्तो भएन।
पाल्पा घर भएकी पार्वतीले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाट आईएस्सी र बीएस्सी गरेकी थिइन्। एमएस्सी पढ्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आउँदा उनीसँग मेरो भेट भएको थियो। तानसेनमा रहँदा उनी एक सक्रिय विद्यार्थी नेत्रीका रूपमा साथीहरूका मनमा बसिन्। २०५५ देखि २०५७ सालसम्म उनले त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षका रूपमा काम गरेकी थिइन्। त्यसैले पनि उनी पाल्पाका हजारौं विद्यार्थीमाझ लोकप्रिय बनिन्।
हेर्दा सानो गाँठीकी पार्वतीको साह्रै मिलनसार स्वभाब थियो। अत्यन्तै मृदुभाषी र सरल स्वभावकी धनी। जोसुकैलाई पनि छिट्टै साथी बनाउन सक्ने विशेषता उनमा थियो। उनी काठमाडौं कुलेश्वरमा आफ्नो दाजुभाइहरूसँग बस्थिन्। विवाहपछिको मेरो घर कुलेश्वरमै भएकाले त्यहाँ पनि उनको घरमा आउनेजाने भइरहन्थ्यो। यसले पनि हामीबीचको घनिष्टता झन् बढाएको थियो।
पार्वतीलाई स्तन क्यान्सर भएकाले दुवै स्तन हटाइएको थियो। पछि क्यान्सर फोक्सोसम्म फैलिसकेछ। रोगसँग लड्दालड्दै थाकेकी मेरी साथी क्यान्सरसामु निरिह बनिन्।
विवाहपछि पति अरुण शर्मासँग उनी अष्ट्रिया गइन्। निकै प्यारा–प्यारा दुई छोराकी आमा पनि बनिन्। उनको सुखी घरसंसार राम्रैसँग चल्दै थियो। मलाई पनि व्यवहारले च्याप्दै लग्यो। छोराछोरी भइसकेपछि उनीहरूकै हेरचाह, घर परिवार र कार्यालयकै काममा व्यस्त हुन थालियो। फेसबुकमा पनि त्यति सक्रिय हुन नचाहने पार्वतीसँगको मेरो कुराकानी पातलिँदै गयो।
सन् २०१७ मा मलाई युरोप जाने अवसर जुर्यो। त्यतिबेला मेरो भाइ जर्मनीमा पढ्दै गरेकाले त्यहीं बसेर अन्य विभिन्न देश घुमें। मेरो भिजा अवधि निकै कम भएकाले त्यति धेरै देश घुम्न भ्याइनँ। बिहानै उठेर घुम्न निस्किएपछि बेलुकी ११,१२ बजे मात्रै कोठामा पुगिन्थ्यो। एक दिनमा एक देश भ्याउनुपर्ने भएकाले युरोपमै रहेका साथीभाइसँग पनि खासै सम्पर्क हुन सकेन। म जर्मनीमै हुँदा ओछ्यान परेकी मेरी साथीले मलाई धेरैपटक सम्झिएकी रहिछन्।
करिब तीन महिनाअघि मलाई पार्वतीले के छ हालखबर भनेर म्याजेन्जरमा सन्देश पठाएकी थिइन्। उनीसँग कुरा गर्ने धेरै रहर हुँदाहुँदै पनि संयोग जुरिरहेको थिएन। सन्देश देख्नासाथ मैले तुरुन्तै उनलाई म्यासेन्जरमा कल गरें। फोन उठिहाल्यो। त्यही कुराकानीमा उनलाई क्यान्सर लागेको र लामो समय उपचार गराइसकेको थाहा पाउँदा छानाबाट खसेसरह भएँ। लामो कुराकानी भयो। म जर्मनी पुगेको बेलामै उनी बिरामी थिइन् रे। ‘तिमी यहीं नजिकै आएर पनि मकहाँ आइनौ, म बिरामी थिएँ त्यतिबेला धेरै सम्झिरहें तिमीहरूलाई’ पार्वतीले यसो भन्दा मेरो मन कुँडियो। पश्चात्ताप पनि लाग्यो। पहिलोपटक युरोप गएकाले अस्ट्रिया जर्मनीसँगै जोडिएको देश भन्ने मैले भेउ पाइनँ। मैले नभनेकाले भाइले पनि दिदीलाई घुमाउने देशको सूचीमा अस्ट्रिया राखेको रहेनछ।
म्यासेन्जरको त्यो कुराकानी झन्डै एक घन्टाभन्दा बढी लम्बियो। पार्वतीले आफूलाई क्यान्सरको उपचार गराउँदा भएको धेरै पीडा पोखेकी थिइन्। किमो दिँदा साह्रै गाह्रो भयो रे। आफ्ना शरीर र टाउकोका रौंहरू सबै झरेकाले अहिले नक्कली कपाल विग लगाएर काममा जान थालेको पनि उनले सुनाइन्। विदेशी भूमिमा आफूलाई गाह्रो हुँदा परिवार, आफन्त र साथीभाइको धेरै सम्झना आएको उनले काँपेको स्वरमा भनेकी थिइन्।
म अफिसमै थिएँ। आफूले फोनमा गरेको कुरकानीले अन्य सहकर्मीलाई ‘डिस्टर्ब’ होला भन्ने डर थियो। त्यसैले मैले घरबाटै फोन गर्छु, फुर्सदमा पेटभरि कुरा गरौंला भन्दै गफ टुंग्याएँ। त्यस दिन घर पुगेपछि पनि पार्वतीसँग भएका कुराकानी नै मानसपटलमा घुमिरहे। साथीलाई यति ठूलो पीडा पर्दा उनीसँगै उभिएर हात थमथमाउन नसके पनि मैले फोनमार्फत पनि सान्त्वना दिन सकिनँ।
एक दिन पार्वतीलाई फोन गर्छु भन्ने लागेको थियो। तर त्यस दिन उनको निधनको खबरले म मर्माहत भएँ। उनीसँग पेटभरि कुरा गरेर उनका पीडा बाँड्ने धोको अधुरै रहनेछ। यही सोचेर मनमा पश्चात्ताप जाग्यो। उनलाई बेलाबेलामा मनमनै सम्झिरहन्थें। तर पनि उनी खासै अनलाइन नदेखिने हुनाले सम्झेको बेलामा फोन गर्न पाउन्नथें। अब भोलि गरौंला भन्दाभन्दै थाँती राखेको त्यो भोलि कहिल्यै आउने छैन।
मैले फोन गर्दा त ठिकै छ, काममा जान थालेकी छु भन्ने पार्वतीलाई अचानक के भएछ। यही जिज्ञासाले मेरो मन खाइरह्यो। सीधै उनका पतिलाई सोध्ने हिम्मत आएन। केही दिनपछि उनका भाइको नम्बर मागेर सोधें। खासमा पार्वतीलाई स्तन क्यान्सर भएकाले उनका दुवै स्तन हटाइएको थियो। पछि क्यान्सर फोक्सोसम्म फैलिसकेछ। अस्ट्रियाजस्तो विकसित राष्ट्रमा समेत चिकित्सकले बेलैमा रोग पहिचान गर्न सकेनन्। क्यान्सरलाई निमोनिया भनी उपचार प्रक्रिया अगाडि बढाए। रोगसँग लड्दालड्दै थाकेकी मेरी साथी क्यान्सरसामु निरिह बनिन्। ‘आईसीयूमा लगे अनि उनी त्यहींबाट फर्किनन्’ उनका पतिले म्यासेन्जरमा लेखेका यी शब्द पढ्दा दुःख लाग्यो। अझै पनि परिवारलाई पार्वती सँगै छन् जस्तो लाग्छ रे।
हुन पनि मेरी साथी बसैकी प्यारी। परिवारको मात्र होइन, साथीभाइको पनि आँखाकै नानी बनेकी थिइन्। उनको मेहनती स्वभावको सबैले प्रशंसा गर्थे। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरिसकेकी थिइन्। अस्ट्रियामा गएर जर्मन भाषामा उच्च शिक्षा हासिल गर्नुका साथै वोकु विश्वविद्यालयबाट बायो टेक्नोलोजीमा पनि स्नातकोत्तर सकाइन्। पति अरुण शर्मा र अन्य नेपालीको विशेष पहलमा उनलाई युरोपमै पहिलोपटक माध्यमिक तहसम्म नेपाली भाषा पढाउन अस्ट्रिया सरकारले मान्यता दिएको थियो।
आफ्नै नेतृत्वमा आफू बस्ने क्षेत्रको एउटा माध्यमिक विद्यालयमा नेपाली भाषालाई विद्यालय कोर्समा राख्न लगाएर आफैंले पढाउने गरेकी थिइन् उनले। यसका लागि पार्वतीले नेपालबाटै नेपाली पुस्तकहरूसमेत बेलाबेलामा मगाउने गर्थिन्। अस्ट्रियामा बस्ने नेपालीका छोराछोरीले आफ्नो मातृभाषा र यहाँको संस्कृति नबिर्सियून् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरेको उनले मसँग भएको कुराकानीमा बताएकी थिइन्। उनको यो काम र योगदानलाई त्यहाँ बस्ने नेपालीले कहिले बिर्सन सक्ने छैनन्। नेपालमा रहेका परिवार, साथीभाइ र आफन्तका मनमा उनी सधैं बस्नेछिन्। विदेशमा रहेका हितैसी र शुभचिन्तकको सम्झनामा पार्वती अमर रहनेछिन्। यही आशासहित परिवारजनमा हार्दिक समवेदना। प्यारी साथीको आत्माको चिरशान्तिको कामना !
प्रतिक्रिया दिनुहोस !