विश्वले भोगेका ठूला महामारी

विश्वले भोगेका ठूला महामारी

१४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो। ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो। त्यतिबेला विश्वको जनसंख्या ४५ करोड थियो। यस महामारीले साढे सात करोड मान्छेको ज्यान लिएको थियो। 


चीनको वुहानबाट फैलिएको नोवल कोरोना भाइरसले महामारीको रूप लिएको छ। हालसम्म यो भाइरसको संक्रमणबाट बुधबारसम्म ४ सय ९२ जनाको मृत्यु भइसकेको छ। भाइरस संक्रमण कम्तीमा २५ मुलुकमा फैलिसकेको छ। 

विश्वभर यो भाइरसबाट बुधबारसम्म २४ हजार ५ सय संक्रमित छन्। जसमध्ये २४ हजार ३ सयभन्दा बढी चीनका हुन्।  चीनबाहिर संक्रमित हुनेको संख्या १ सय ९०  बढी पुगेको छ। 

चीनबाहिर सबैभन्दा धेरै संक्रमितको संख्या जापानमा छ। जहाँ २० जना संक्रमित भएका छन्। त्यस्तै, थाइल्यान्डमा १९ र सिंगापुरमा १८ जना संक्रमित भएका छन्।   

कोरोना भाइरसको महामारीले चीनको मात्रै होइन, यस्तो प्रलयविरुद्ध जुध्ने विश्वकै क्षमता र तयारीमाथि प्रश्न उठाएको छ। विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरेको छ।

दर्जनाँै चिनियाँ शहर ठप्प पारिएको छ। भाइरस फैलिने डरले यातायात बन्द गरिएको छ। पसल, मल र सार्वजनिक जमघटका स्थान बन्द गरिएको छ। हालसम्म दर्जनौँ एयरलाइन्सले चीनसँगको उडान रद्द गरिसकेका छन्। कतिपय मुलुकले चीनसँगको नाका पनि बन्द गरेका छन्। 

भाइरसको संक्रमण फैलिनेबित्तिकै यसको खतरालाई पहिचान गरी रोकथाममा ध्यान दिन नसकेको भन्दै चिनियाँ अधिकारीहरुको आलोचना भइरहेको छ। यद्यपि, यतिबेला चीनले आफ्नो सम्पूर्ण शक्ति संक्रमण रोकथाममै लगाइरहेको छ। भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा हजारौँ स्वास्थ्यकर्मी खटाइएका छन्। पछिल्लो समय चीनले छ दिनमै एक हजार शड्ढयाको अस्पताल निर्माण गरेर कीर्तिमान नै कायम गरेको छ। 

यो संक्रमणले विश्वभर त्रास उत्पन्न गरेको छ। चीनमा रहेका विदेशी नागरिकलाई सम्बन्धित मुलुकले विमान लगेर निकालिरहेका छन्। नेपालले पनि केही दिनभित्रै वुहानमा रहेका १ सय ८० जना नेपालीलाई ल्याउने जनाएको छ। जसमध्ये धेरैजसो विद्यार्थी छन्। 

भाइरसको त्रासका कारण घर फिर्ता ल्याइएकालाई १४ दिनसम्म अलग्गै राख्ने व्यवस्था विभिन्न मुलुकले गरेका छन्। इटाली, जापानजस्ता मुलुकमा जहाजमा आएका व्यक्तिहरु जहाजमै बस्न बाध्य भएका छन्। यसले पश्चिमा मुलुकमा नश्लवाद र जातीय घृणाका घटनालाई पनि बढाएको छ। खास गरी, अमेरिकामा एसियालीमाथि घृणाजन्य व्यवहार वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। 

महामारीलाई लिएर ‘राजनीति’ पनि भएको छ। अमेरिकाले चीनमा बसेका जुनसुकै मुलुकका विदेशीमाथि प्रतिबन्ध लगाएको छ। उसले राष्ट्रिय संकटकाल पनि घोषणा गरेको छ। अमेरिकाले सहयोग गर्नभन्दा त्रास बढाउने गरी कदम चालेको टिप्पणी चीनले गरेको छ। 

यो महामारीले विश्व अर्थतन्त्रलाई नै हानि पुर्‍याउने आकलन भइरहेको छ। संक्रमणको तेस्रो महिना जारी रहँदा अर्थतन्त्रलाई स्थिर राख्न चीनले प्रयास गरिरहेको छ। नयाँ वर्षको छुट्टीपछि सोमबार खुलेको चिनियाँ सेयर बजारमा ठूलो गिरावट आएको छ। सांघाई र सेनझेन सेयर बजार दुवैले गरी जम्मा ४ सय ४५ अर्ब डलर गुमाएका छन्। चिनियाँ युआनको मूल्य घटेको छ। त्यस्तै, कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता चीन भएकाले त्यसको मूल्य पनि ओरालो लागेको छ। तरलता स्थिर राख्न भन्दै चिनियाँ अधिकारीले १ सय ७३ अर्ब डलर बजारमा पठाएका छन्। 

यसले अन्य मुलुकको अर्थतन्त्रलाई पनि ठूलो क्षति पुर्‍याएको छ। पर्यटन क्षेत्र डामाडोल हुन थालेको छ भने चिनियाँ कामदार रहेका विश्वभरका पूर्वाधार परियोजनाको काम ठप्प भएका छन्। 

कोरोना भाइरस पहिले सर्पबाट मानिसमा सरेको अनुमान गरिएको थियो। अहिले धेरैजसोले यो चमेरोबाट आएको दाबी गरेका छन्। कोरोना प्रतिरोधी खोप बनाउन विश्वभर प्रतिस्पर्धा चलिरहेको छ। यद्यपि, त्यो जनावर हुँदै मानिसमा परीक्षण गरेर प्रयोगमा ल्याउन निकै लामो समय लाग्नेछ। तर, थाइल्यान्डमा एउटा आशाको किरण देखापरेको छ। त्यहाँ एचआईभी र रुघाको औषधि मिसाएर उपचार गर्दा दुई जना बिरामी निको भएको चिकित्सकले दाबी गरेका छन्।

मानव इतिहासमा यस्ता भाइरसको महामारी फैलिएको यो एक्लो घटना होइन। यहाँ विचार पुर्‍याउनुपर्ने पक्ष के हो भने महामारी शब्दको अर्थ सापेक्ष हुन्छ। अहिलेको समयमा स्वाइन फ्लू, सार्स, नोवल कोरोना भाइरसजस्ता केही सयको ज्यान लिने भाइरसको प्रकोपलाई पनि महामारी भन्ने गरिन्छ। यद्यपि, मानव इतिहासमा करोडौँको ज्यान लिने महामारी पनि फैलिएका थिए। जसले १२ हजार वर्षको इतिहासमा कुनै देश वा क्षेत्रको सीमा नाघेर करिब ५० करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ। 

मानव इतिहासका केही यस्ता महामारीबारे यहाँ चर्चा गरिन्छ। 

स्वाइन फ्लू

सन् २००९ मा अमेरिकामा नयाँ खालको इन्फ्लुएन्जा ए (एच वान एन वान) भाइरस पत्ता लाग्यो। यो तुरुन्तै अमेरिकाका अनेकौँ राज्य र विश्वभर फैलियो। अघिल्ला यस्ता भाइरसभन्दा निकै फरक यो भाइरसबाट कति मानिसको ज्यान गयो, त्यो अझै बहसको विषय बनिरहेको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा छ करोड मानिस यो भाइरसबाट प्रभावित भएका थिए। जसमध्ये २ लाख ७४ हजार जना अस्पताल भर्ना हुनुपरेको थियो। यसबाट अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको ज्यान गएको थियो। हालसम्म विश्वभर १४ हजारको ज्यान गएको बताइएको छ। 

तर, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मारिने मानिसको संख्या योभन्दा धेरै गुणा बढी रहेको दाबी गरेको छ। उसका अनुसार यो भाइरसले दुई लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो। विश्व स्वास्थ्य संगठनले सन् २०१० को अगस्टमा स्वाइन फ्लूको महामारी समाप्त भएको घोषणा गरेको थियो। तथापि हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्युको मुखमा पुग्ने गरेका छन्।

सार्स

सन् २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तबाट सुरु भएको सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम (सार्स) बाट नौ महिनामा विश्वभर ८ हजार ९६ जना प्रभावित भएका थिए। जसमध्ये ७ सय ७४ जनाले ज्यान गुमाएका थिए। सार्सको मृत्युदर पनि उच्च थियो। संक्रमितमध्ये ९.६ प्रतिशत मानिसको ज्यान गएको थियो। यो कोरोना भाइरसकै एक अलग प्रजाति थियो। 

यो २६ मुलुकमा फैलिएको थियो। खास गरी, चीन, ताइवान, सिंगापुर, क्यानडा सबैभन्दा बढी प्रभावित भएका थिए। पहिले जनावरबाट मानिसमा सरेको यो भाइरस मानिसबाट मानिसमा फैलिन थालेको थियो। संक्रमितलाई ज्वरो आउने,  टाउको दुख्ने, पखाला लाग्ने, कम्प छुट्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएका थिए। महामारी रोकिएपछि पनि सार्स चार पटक देखापरेको छ। तर, त्यो प्रयोगशालाको लापरबाहीका कारण भएको जनाइएको छ। 

एचआईभी एड्स

सन् १९७६ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक पहिचान भएको एचआईभी एड्स वास्तवमै भयानक महामारी थियो। जससँग हामी अझै जुधिरहेका छौँ। सन् १९८१ यता यो रोगबाट ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन्। अहिले पनि विश्वका करिब साढे तीन करोड मानिस यो रोगबाट संक्रमित छन्। जसको सबैभन्दा ठूलो मार सहारा मरुभूमिको दक्षिणतिर अवस्थित मुलुकमा परेको छ। त्यहाँको करिब पाँच प्रतिशत जनसंख्या यो भाइरसबाट संक्रमित भएको अनुमान छ। 

एड्स निको पार्ने औषधि अहिलेसम्म आविष्कार भइसकेको छैन। यद्यपि, यसको असर रोकथाम गरेर मानिसको आयु बढाउने प्रयास सफल हुन थालेका छन्। सन् २००५ देखि २०१२ सम्ममा एड्सबाट हुने मृत्युदर २२ लाख प्रतिवर्षबाट १६ लाख प्रतिवर्षमा झरेको छ। तर, यसको सफल उपचारका लागि अझै कयौँ वर्ष पर्खिनुपर्ने हुन सक्छ।

हङकङ फ्लू

सन् १९६८ मा पहिलो पटक हङकङमा देखिएको यो भाइरस १७ दिनभित्रै अनेकौँ मुलुकमा पुगिसकेको थियो। यो इन्फ्लुएन्जा ए भाइरसको एक प्रजाति थियो। सिंगापुर, भियतनाम हुँदै यो भाइरस तीन महिनामा फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म पुग्यो। मृत्युदर अत्यन्त कम (०.५ प्रतिशत) भईकन पनि यो भाइरसबाट १० लाखभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यतिबेला हङकङमा मात्र यसले पाँच लाख मानिसको ज्यान लिएको थियो। जुन हङकङको जनसंख्याको १५ प्रतिशत हिस्सा थियो। 

एसियन फ्लू

सन् १९५६ बाट सुरु भएको एसियन फ्लूले करिब २० लाखको ज्यान लिएको थियो। यो इन्फ्लुएन्जा चीनको गुइझाउ प्रान्तमा सर्वप्रथम फेला परेको थियो। दुई वर्षभित्र यो सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको छ। अमेरिकामा मात्रै यसबाट झण्डै ७० हजारको ज्यान गएको थियो। 

स्पेनिस फ्लु 

सन् १९१८ देखि १९२० को बीचमा स्पेनिस फ्लू भनिने इन्फ्लुएन्जाको भयानक महामारी विश्वभर फैलिएको थियो। यद्यपि, यो स्पेनबाट आएको थिएन। यो भाइरसबाट विश्वको एकतिहाइ जनसंख्या संक्रमित भएको थियो। करिब ५ करोडभन्दा बढीको ज्यान गएको अनुमान गरिन्छ। यसको मृत्युदर पनि २० प्रतिशतभन्दा बढी थियो। 

अमेरिकामा सबैभन्दा पहिले कान्सासमा यो भाइरस देखापरेको थियो। पहिलो विश्वयुद्धका सैनिकहरु एकै ठाउँ बसिरहेकाले यो भाइरस अझ छिटो फैलिएको थियो। यसको विस्तार कति भयंकर थियो भने अढाई करोड मानिसको ज्यान त भाइरस फैलिएको २५ हप्ताभित्रै गइसकेको थियो। 

स्पेनिस फ्लूको संक्रमण हुनुअघिसम्म इन्फ्लुएन्जाले बालबालिका, रोगी र वृद्धवृद्धालाई मात्र मार्ने विश्वास गरिन्थ्यो। तर, यसले स्वस्थ युवाको ठूलो संख्यालाई ध्वस्त बनाइदियो। 

हैजाको महामारी

सन् १९१० र ११ मा हैजाबाट विश्वभर लाखौँ मानिसको ज्यान गयो। भारतको कलकत्तामा सुरु भएको यो महमारीले त्यसबेला भारतमा कम्तीमा आठ लाखको ज्यान लिएको थियो। पछि यो मध्यपूर्व, उत्तरी अफ्रिका, पूर्वी युरोप र अमेरिकासम्म पुगेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ३० देखि ५० लाख हैजाका नयाँ बिरामी देखापर्ने गर्छन्। जसबाट एक लाखभन्दा बढीको ज्यान बर्सेनि जाने गर्छ। 

रसियन फ्लू

सन् १८८९ मा यो महामारीले ३ लाख ६० हजारको ज्यान लिएको थियो। यो महामारी साइबेरियामा सुरु भएको थियो। त्यसपछि मस्को हुँदै कजाकस्तान, फिनल्यान्ड र पोल्यान्डसम्म पुगेको थियो। त्यसबाट पूरै युरोप, अफ्रिका र अमेरिकासम्म फैलिएको थियो। 

ब्ल्याक डेथ

१४ औँ शताब्दीको मध्यमा युरोप, अफ्रिका र एसियामा एउटा महामारी फैलिएको थियो। हालसम्मकै ठूलो महामारीका रूपमा परिचित ब्ल्याक डेथ भनिने यस महामारीले त्यसबेला विश्वको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो। त्यसबेला विश्वको जनसंख्या ४५ करोड रहेको अनुमान गरिएको थियो। तर, यो रोगले मात्रै कम्तीमा साढे सात करोड र बढीमा २० करोडको ज्यान लिएको अनुमान गरिन्छ। 

मुसाको शरीरमा बस्ने उपियाँले सारेको कीटाणुबाट यो रोग फैलिएको अनुमान गरिन्छ। त्यसबेला समुद्री किनारामा अवस्थित अनेकौँ बन्दरगाह र शहर महामारीबाट सबैभन्दा बढी प्रभावित भएका थिए। कतिपय शहरमा लाशको सद्गत गर्न सकिने अवस्था पनि थिएन। जसका कारण महिनौँसम्म लाश सडकमै सडिरहेका हुन्थे। 

यो महामारीका बेला बेलायत र फ्रान्स युद्धमा थिए। तर, महामारीबाट जनसंख्या नै कम हुन थालेपछि उनीहरुले युद्धविराम गरे। महामारीको फलस्वरूप बेलायतको सामन्ती व्यवस्था नै ध्वस्त भयो र त्यहाँका आर्थिक सम्बन्धमा निकै ठूलो परिवर्तन आयो। 

एजेन्सीको सहयोगमा अन्नपूर्ण सम्पूर्ण(https://sampurnaweekly.com/news/2914)का लागि कवि आचार्यद्वारा अनुदित


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.