कोरोना रोक्न उच्च सतर्कता

कोरोना रोक्न उच्च सतर्कता

बागमती : कोरोना भाइरस संक्रमण हुन नदिन बागमती प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ। चीनसँग सीमा जोडिएको नाकामा जाँचमा कडाइ गरिएको छ। स्वास्थ्य संस्थाहरूमा छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. रमेश अधिकारीले सम्भावित क्षेत्रहरूमा चेकजाँच कडा पारिएको बताए। ‘कोरोना भाइरस फैलिन नदिने गरी सतर्कता अपनाउन प्रदेशका स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएका छौं’, उनले भने, ‘चेकजाँच पनि बढाएका छौं।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डा. वसन्त अधिकारीले प्रदेशका सबै सरकारी अस्पतालमा एक/एक थान चिकित्सक बचाउ गाउन खरिद गर्न निर्देशन दिइएको छ। बिरामीको परीक्षणका क्रममा चिकित्सकलाई भाइरस सर्न सक्ने भएकाले गाउन खरिद भनिएको उनले सुनाए।

सामाजिक विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय समिति र प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी काम अघि बढाइएको स्वास्थ्य निर्देशक अधिकारीले बताए। मन्त्रालयका सचिव डा. गोकर्णमणि दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो। मुख्य नाका तथा पर्यटकीय क्षेत्रहरूमा विशेष सावधानी अपनाई काम भइरहेको उनले बताए। स्वास्थ्य निर्देशक अधिकारीको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाइ प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, पशु सेवा कार्यालय प्रमुख, मन्त्रालयका चिकित्सा शाखा प्रमुख सम्मिलित प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति पनि गठन गरिएको हो।

हेटौंडा अस्पताल र चितवन अस्पतालमा बिरामीलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिएको निर्देशक डा. अधिकारीले बताए। ‘ओपीडीमै उपचार गर्दा भाइरस फैलिन सक्ने भएकाले दुई बेडको छुट्टै दुईवटा कोठाको व्यवस्था गरिएको हो’, उनले भने।

रसुवागढी नाका दुई सातादेखि ठप्प

कोरोना भाइरस त्रासले रसुवागढी नाका दुई सातादेखि ठप्प छ। यो अवधिमा ४ सय ७१ जना नेपाली चीनबाट नेपाल प्रवेश गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनका अनुसार ती नेपालीलाई नाकामा स्वास्थ्य परीक्षणपछि नेपाल प्रवेश गराइएको हो।

‘कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन’, उनले भने, ‘हामीले परीक्षणसँगै जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेका छौं।’ केरुङमा ६६ जना नेपाली रहेको र उनीहरूलाई नेपाल ल्याउन समन्वय भइरहेको उनले सुनाए।

उनका अनुसार पर्यटक आवागमनसँगै सामान आयातनिर्यात ठप्प छ। ‘दैनिक १ करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा दुई सातादेखि नाका ठप्पजस्तै छ’, उनले भने, ‘कोरोना त्रासले हाम्रो स्वास्थ्यमा जोखिमसँगै राजस्व संकलनमा पनि ठूलो नोक्सानी बेहोर्न बाध्य छौं।’

रसुवागढी हुँदै नेपाल आएकी २४ वर्षीया युवतीमा कोरोना संक्रमणको आशंका गरिएसँगै नाकामा थप निगरानी बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले बताइन्। ती युवतीमा भाइरसको लक्षण नदेखिएपछि घर पठाइएको छ। रसुवा जिल्ला अस्पताल धुन्चेमा त्यस्ता बिरामीका लागि छुट्टै कक्षको व्यवस्था गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए।

तातोपानीबाट चीन जान बन्द

स्थानीय प्रशासनले सिन्धुपाल्चोकको तातोपानीबाट व्यापारिक प्रयोजनबाहेक चीन घुम्न नेपालीलाई रोक लगाएको छ। चीनमा कोरोनाले महामारीको रुप लिएपछि त्यता घुम्न जान रोक लगाइएको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। चीनबाट नेपाल आउन चाहनेलाई भने रोकिएको छैन। ‘नाकामा स्वास्थ्य परीक्षणपछि मात्र चीनबाट नेपाल आउन दिइएको छ’, उनले भने, ‘हालसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन।’ जिल्ला जनस्वास्थ्य कार्यालयको टोली स्वास्थ्य परीक्षणमा खटिएको छ। नेपालबाट कन्टेनर लिएर जाने चालकलाई खासासम्म जान दिइएको छ।

अस्पतालमा छुट्टै उपचार कक्ष

चितवनमा संक्रमण हुन नदिन जिल्लास्थित स्वास्थ्य निकायले सतर्कता अभियान चलाएका छन्। पर्यटकीय गन्तव्य भएकै कारण पनि सम्भावित जोखिमप्रति सतर्कता अपनाउन थालिएको भरतपुर अस्पतालको मेडिकल विभागका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाले बताए। संक्रमण फैलिन नदिन अस्पतालहरूमा छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ। संक्रमित व्यक्ति फेला परे अन्यको सम्पर्कभन्दा अलग राखेर उपचार गराउन अस्पतालहरूमा छुट्टै कक्ष राखिएको डा. खतिवडाले बताए। भरतपुर अस्पतालमा विशेषज्ञ डा. प्रमोद पौडेल र कल्याण सापकोटाले उपचारको जिम्मेवारी पाएका छन्।

चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा पनि छुट्टै उपचार कक्ष स्थापना गरिएको छ। अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ।भाइरस संक्रमणप्रति सतर्कतास्वरूप भरतपुर विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण गर्न सहायता कक्ष राखिएको छ।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, लामो समय रुघाखोकीजस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन डाक्टरले सुझाव दिएका छन्। कोरोना भाइरस हावामा एक मिनेट र मानव शरीरमा १४ दिनसम्म मात्रै जीवित रहन सक्ने हुँदा उक्त संक्रमण आफ्नै स्वास्थ्य व्यवहारले नियन्त्रण गर्न सकिने डाक्टर बताउँछन्।

(शुभलक्ष्मी विश्वकर्मा/हेटौंडा, देवचन्द्र भट्ट/नुवाकोट, युवराज पुरी/सिन्धुपाल्चोक, अनिल ढकाल/चितवन)
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.