बल्ल नियन्त्रणमा आयो भेडा मर्ने रोग
दाङ : पूर्वी रुकुमको लुकुमबाट चराउन दाङ ल्याइएका २५० भेडा जंगलमै मरेको समाचारपछि जिल्ला भेटेरिनरी अस्पताल दाङको सक्रियतामा रोग नियन्त्रणमा आएको छ। झण्डै दुई सयभन्दा बढी भेडामा उपचार गरेपछि रोग नियन्त्रणमा आएको भेटेरिनरी अस्पतालले बताएको छ।
शनिबारदेखि भेडाको उपचार थालिएको थियो। सोमबारदेखि रोग पूर्ण रूपमा नियन्त्रणमा आएको र अहिले भेडामा भएको समस्या हटेको जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा. वेदबहादुर केसीले बताए। निमोनिया र चिसोका कारण भेडामा रोग देखिएको र त्यो जानकारी नहुँदा दुई सय ५० भेडा मरेको जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा. केसीले बताए। अस्पतालको प्राविधिक टोलिले सम्बन्धित क्षेत्रमै पुगेर उपचार गर्दा रोग नियन्त्रणमा आएको हो। ‘अब त्यस्तो केही समस्या छैन, दैनिक १२÷१५ भेडा मरिरहेका थिए उपचारपछि सोमबारबाट यो समस्या पूर्णरूपमा नियन्त्रणमा आएको छ’, डा केसीले भने। नमुना क्षेत्रीय ल्याबमा परीक्षणका लागि पठाइएको भए पनि त्यसको रिपोर्ट भने अझै आइसकेको भने छैन। डा. केसीले किसानको समस्यामा सम्वेदनशील हुँदै क्षतिपूर्तिका लागि प्रदेश सरकारसमक्ष माग गरेर पठाएको जानकारी दिए।
रुकुमको भुमे गाउँपालिका-१ लुकुमका ४ भेडालापक किसानले चिसो छल्न दाङ ल्याएका भेडा जंगलमै मरेका हुन्। ५ सय भेडा लिएर दाङ आएका भेडा रोगका कारण जंगलमै चराउँदा चराउदै २ सय ५० मरेका थिए। भेडापालक किसान धर्मकुमारी पुनले आइतबारदेखि भेडा मर्न बन्द भएको बताइन्। ‘२ सय ५० भेडा मरेपछि जिल्लाबाट आएको टोलीले उपचार गरेको छ’, उनले भनिन्, ‘अहिले केही भएको छैन। चिसो समयमा जाडो छल्न रुकुमबाट दाङ ल्याएका भेडा अज्ञात रोगका कारण मर्न थालेपछि किसान चिन्तित भएका छन्।’
चिसो महिना रुकुममा हिउँ पर्ने हुँदा भेडा पाल्न समस्या हुने गरेपछि भेडा र बाख्रा लिएर रोल्पा हुँदै १६ दिन पहिले घोराही उपमहानगरपालिका-१९ को पाँचपोखरीमा आइपुगेका भेडा मर्न थालेपछि समस्या परेका थिए। एक महिनाको बीचमा चार भेडापालक किसान परिवारका करिब दुई सय ५० भेडा मरेको र अव उनीहरूसँग २५० मात्र जीवित रहेको बताए।
एउटै बगालमा रहेका भेडा मर्न थाले पनि बाख्रामा भने समस्या देखिएको थिएन। ‘एउटै बगालमा रहेका बाख्रा मरेका छैनन्। तर, भेडा भने मुख पाक्ने, छेर्ने र झुङ्ने गर्दै मर्ने गरेका थिए। दुइ दिनदेखि मरेका छैनन्, ‘धर्मे बुढाले भने, ‘हिउँबाट बचाउन ल्याइएका भेडा मर्न थालेपछि हामी समस्यामा परेका छौँ।’ घरको मुख्य आम्दानीकै स्रोत भेडापालन भएको धर्मकुमारी पुन बताउँछिन्। ‘घरखर्चका लागि अन्य कुनै माध्यम छैन’, धर्मकुमारी पुनले भनिन, ‘यही भेडा पाल्ने र यही बेचेर आएको पैसाले जीवन चलाउने हो।’ भेडा बेचेर राम्रै आम्दानी हुने गरेको थिायो यो वर्ष मरेर सकियो।
प्रतिक्रिया दिनुहोस !